प्राकृतिक स्रोत निजीलाई पोस्दै पोखरा महानगर

समाधान संवाददाता २०७८ वैशाख १० गते ७:४२

रामघाट क्षेत्र ३५ वर्षसम्म बतासलाई

अमृत सुवेदी, पोखरा

कार्यकालको अन्तिम वर्षको मुखमा आइपुग्दा पोखरा महानगरपालिका जनप्रतिनिधिले प्राकृतिक तथा सार्वजनिक महत्वको स्रोत तथा सम्पदा बिना टेक्डर निजी क्षेत्रलाई सुम्पिन थालेको छ ।

Advertisement

४० वर्षका लागि सेती नदी खोंच र पातले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई सुम्पिने निर्णय गरेको पोखरा महानगरपालिकाले ३५ वर्षका लागि रामघाट पनि निजी कम्पनीलाई नै जिम्मा दिन लागेको छ ।

सार्वजनिक निजी साझोदारीका नाममा बिना टेन्डर लामो समयका लागि सार्वजनिक महत्वका सम्पदा महानगरले ब्यापारीहरुलाई सुम्पिन लागेको छ ।

Advertisement

सार्वजनिक महत्वको सम्पति निजी क्षेत्रलाई जिम्मा दिन लागेपछि पोखरा महानगर नेतृत्वमाथि नागरिकस्तरबाट शंका उब्जिएको छ । महानगरको ४७ औं कार्यपालिका बैठकले सेती खोंच र पातले छाँगो महानगरले सेती क्यानोनिङ प्रालिलाई जिम्मा दिने निर्णय गरेको हो ।

सेती खोंचमा साहशिक पर्यटकीइ आयोजना सञ्चालन गर्ने र पातले छाँगोमा सीसाको पुल निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न सेती क्यानोनिङ प्रालिलाई जिम्मा दिन लागिएको हो ।

निजी कम्पनीकै प्रस्तावमा २ वर्षअघि महानगरमा प्रवेश गरेको यो विषयले कार्यपालिकाबाट निर्णय हुँदै सम्झौता हुने चरणमा पुगेको छ ।

पोखरा क्षेत्रमा सेती खोंच करिब ६.८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यो क्षेत्रमा कुनै पनि अनुभव नभएको प्रालि ४ वर्षअघिमात्र दर्ता भएको हो । ४० वर्षका लागि सेती खोंच र पाताले छाँगोको जिम्मा पाएको सेती क्यानोनिङ प्रालिका सञ्चालक कर्केन गुरुङ ब्यापारी हुन् ।

चैत २७ गते नै बसेको कार्यपालिका बैठकले रामघाट र मोरेखरे क्षेत्रलाई पनि ३५ वर्षका लागि ब्यापारिक घरानालाई सुम्पिने लागेको छ ।

रामघाट ठूलो मात्रामा ढुंगा, गिटी, बालुवाको उत्खनन्, निर्यात हुने र पटक पटक भ्रस्टाचारको विषय पनि बन्दै आएको घाट हो ।

कर्मचारीकै मिलेमतोमा ठूलो भ्रष्टाचार गरी घाट ठेक्कामा लगाइएको भन्दै सेती नदी रामघाटको मुद्धा अहिले पनि सर्वोच्चमा छ ।

अघिल्लो आर्थिक वर्षमा कास्कीको रामघाट ढुंगा गिट्टी बालुवा संकलन गर्ने ठेक्का महानगरले राजी कन्सट्रक्सनलाई ६ करोड ६५ लाख ५० हजार रुपैयाँमा दिएको थियो ।

कर्मचारीकै मिलेमतोमा महानगरको ठूलो रकम गुम्ने गरी सम्झौता भएको भन्दै तत्कालीन राजश्व प्रमुख छबिलाल शर्मालाई महानगरले कारबाही नै गर्ने निर्णय पनि गरिसकेको छ ।

ठूलो आर्थिक चलखेल हुने भनिएको र बर्सेनि विवादमा पनि आइरहने सेती नदी रामघाटलाई अब निजी क्षेत्रलाई सुम्पिने गरी कार्यपालिकाले निर्णय गरेको छ ।

पोखरा–९, १० र ११ मा गर्ने रामघाट क्षेत्रमा स्थायी ड्याम निर्माण गरी निर्माण सामाग्रीको उत्खनन् र प्रशोधन गर्न दी रिभर माइनिङ नामक कम्पनीलाई जिम्मा दिन लागिएको हो ।

स्थायी चेकड्याम निर्माण गरी वातावरणीय सुधार गर्ने र प्राविधिको प्रयोग मद्दतले निर्माण सामाग्रीको संकलन तथा प्रशोधन गर्ने योजनाअनुसार कम्पनीसँग महानगरले सम्झौताको तयारी गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा राजी कन्सट्रक्सनलाई दिइएको ठेक्का भ्रस्टाचारसँग जोडिएर विवादित भएर रद्द भएपछि गत कात्तिकमा रामघाटमा अर्को ठेक्का लगाइएको थियो । ७ करोड ५० लाख रुपैयाँमा आर्क डी आर्किटेक्चर एन्ड इन्जिनियरिङले ठेक्का लिएर अहिले संकलन तथा वितरण गरिरहेको छ ।

त्यही घाट अब बिना डेन्डर सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत त्योभन्दा पनि कम राजश्व उठ्ने गरी ३५ वर्षका लागि दि रिभर माइनिङलाई जिम्मा दिन लागिएको हो । वार्षिक ६ करोड ५ लाख रुपैयाँमा जिम्मा दिन लागिएको छ ।

ब्यापारिक घरना बतास अर्गनाइजेसनका आनन्दराज बतास यसको मुख्य सञ्चालक रहेको सार्वजनिक निजी साझेदारी कार्यक्रमका एक कर्मचारीले जानकारी दिए ।

‘सार्वजजिक तथा ठूलो प्राकृतिक स्रोत स्वार्थकै आधारमा साझेदारी कार्यक्रम अन्तर्गत बतासलाई सुम्पिन लागिएको हो,’ पोखरा महानगरकै एक कर्मचारीले भने, ‘ठूलो आर्थिक लाभ हुने र महानगरको धेरै राजश्वको स्रोत रामघाटलाई जनप्रतिनिधिले कार्यकाल सकिनै लाग्दा ब्यापारीलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।’

वातावरणीय सुधार गर्ने र चेकड्याम निर्माण गरी मेसिनका माध्यमबाट बालुवा निकाल्ने योजनाका साथ प्रक्रिया अगाडि बढेको पोखरा महानगरपालिकाका सूचना अधिकृत भरतराज पौडेलले जानकारी दिए ।

‘२०७७ कात्तिक ७ गते सूचना प्रकाशित भएको थियो । रामघाट र मोरेखरे घाट पनि निजी क्षेत्रलाई जिम्मा दिने गरी प्रक्रिया अगाडि बढेको छ,’ पौडेलले भने ।

रामघाटभन्दा तल सेती साँगुरो सेती खोंच छ । त्यहीँनेर चेकड्याम निर्माण गरी मेसिनको माध्यमबाट निर्माण सामाग्री निकाल्ने र प्रशोधनसमेत गरी बिक्री गर्न निजी कम्पनीलाई दिन लागिएको हो ।

कानुनअनुसार कुनै पनि मेसिन लगाएर निर्माण सामाग्रीको उत्खनन् गर्न पाइँदैन ।

जसका कारण अहिले करिब १ हजार जना मजदुरले रामघाटमा निर्मार्ण सामाग्री संकन गर्ने रोजगारी पाइरहेका छन् ।

सरकारी नियमकै बिपरीत धेरै मजदुरको रोजीरोटीसमेत गुम्ने गरी पोखरा महानगरले लामो समयका लागि रामघाट सुम्पिन लागेको छ ।

रामघाटमात्रै होइन, पोखरा २७ र ३३ मा पर्ने मोरेखरे घाट पनि बतास अर्गनाइसेनका आनन्दराजकै निगाहामा रहेको निजी कम्पनी मोरेखरे रिभर रिमाइनिङलाई जिम्मा दिन लागिएको छ ।

रामघाट र मोरेखरे हात पार्ने दाउमा रहेका बताससँगै व्यवसायी विजय भट्टराई पनि रहेको महानगर स्रोतले जानकारी दिएको छ ।

विजयपुर र सेती नदीको दोभानभन्दा केही तल सेती नदीमा स्थायी चेक ड्याम निर्माण गरी रामघाटकै जसरी मेसिनबाट निर्माण सामाग्री निकाल्ने, संकलन र प्रशोधन गरी विक्री गर्न लामो समयका लागि दिन लागिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा (६२) ‘क’ अनुसार नदीजन्य पदार्थ निकासी गर्ने अधिकार स्थानीय सरकारलाई छ । तर, वातावरण प्रभाव मूल्यांकन (इआइए) पनि पछि गर्ने गरी निजी कम्पनीलाई जिम्मा लगाउने तयारी महानगरको छ ।

इआइए नहुँदासम्म पोखरा महानगरपालिकाले गरेको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन (आइइई) अनुसार तत्काल काम अगाडि बढाउने कार्यपालिकाले निर्णय गरेको छ ।

रामघाट बचाउने कि सक्काउने भन्ने मनन गरेर यसलाई अझ दोहन हुन नदिने योजना अगाडि बढाइएको मेयर मानबहादुर जिसीले जानकारी दिए । बर्सेनि दोहान भइरहँदा झन् जोखिम बढेकाले संरक्षण गर्ने र आम्दानी पनि बढाउने गरी योजना ल्याइएको उनको दाबी छ । डिपिआर, इआइ गर्न बाँकी नै रहेको मेयर जिसीले बताए ।

‘सूचना नै निकालेर आशय मागेका हौं । लगानी गर्न आउ भनेका हौं । आर्थिक तथा प्राविधिक पक्ष हेरेर बल्ल अगाडि बढ्ने हो,’ मेयर जिसीले भने, ‘कुनै व्यापारी वा व्यक्तिलाई सुम्पिन यसो गरेका होइनौं ।’

सानिसा कार्यक्रममार्फत आफूले चाहेको व्यक्तिलाई सार्वजनिक महत्वको स्रोत तथा सम्पति निजी क्षेत्रलाई जिम्मा लगाउन जनप्रतिनिधि उद्दत बनेको नागरिक अगुवाले बताइरहेका छन् ।

वातावरण संरक्षण अभियान्ता डा अनिल सुवेदीले अत्यन्तै जोखिमयुक्त सेतीको खोंच, पाताले छाँगो, रामघाटमा पूर्वाधार बनाउन दिनु गलत भएको बताए ।

‘पैसा कमाउने ध्याउन्नमा सार्वजनिक महत्वका सम्पदा महानगरले बेच्ने होइन,’ सुवेदीले भने, ‘मेयर जिसीले तत्काल यो काम रोकुन् ।’

सानिसाको नाममा धमाधम निजीलाई जिम्मा

पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारीका नाममा आफूले चाहेको व्यक्तिलाई धमाधम प्राकृतिक तथा सार्वजजिक महत्वको स्रोत सुम्पिन लागेको छ ।

यो कार्यकाल सकिन लागिरहेका बेला मेयर मानबहादुर जिसीले लामो समयका लागि ठूलो आयोजना निजी कम्पनीलाई जिम्मा लगाउन लागेका हुन् ।

सेती खोंच, पाताले छाँगो, रामघाट, मोरेखरे घाटमात्रै होइन झण्डै एक दर्जन आयोजना निजी कम्पनीलाई सुम्पिन लागेको छ ।

फेवातालको स्रोत हर्पन, अँधेरी, बेतेनी, लौरुक खोला लगायतका विभिन्न खोलामा सिल्टेसन निर्माण तथा मर्मतका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रममार्फत नै फेवा सिल्टेसन प्रालिलाई जिम्मा दिने कार्यपालिकाले निर्णय गरेको छ ।

हर्पन खोलामा गएको वर्ष पोखरा महानगर र प्रदेशले निर्माण गरेको सिल्टेसन ड्याम हस्तान्तरण नहुँदै भत्किएको थियो । त्यही ड्यामसहित अन्य मर्मत गर्ने र नयाँ नि बनाउने भन्दै फेवा सिल्टेसन प्रालिलाई बिना टेन्डर जिम्मा लगाएको हो ।

फेवा तालमा वाटर स्पोर्टस् आयोजना, डिजिटल होडिङ बोर्ड, यात्रु प्रतिक्षालय तथा ट्राफिक आइल्याण्ड निर्माण लगायतका योजना सार्वजनिक निजी साझेदारीमा निजी कम्पनीलाई जिम्मा लगाउन लागेको छ ।

तपाईको प्रतिक्रिया