डिजिटल भुक्तानी गर्ने १० होटल पुरस्कृत

समाधान संवाददाता २०७८ वैशाख १० गते २१:३२

समाधान संवाददाता, पोखरा

नगदरहित कारोबार गर्ने पोखराका १० होटल पुरस्कृत भएका छन् । ‘यो नयाँ वर्ष जाउँ है पोखरा’ अभियानअन्तर्गत पाहुनाबाट फोन–पे क्यूआर कोडमार्फत बिल भुक्तानी गरेकामध्ये १० उत्कृष्ट होटललाई शुक्रबार पुरस्कृत गरिएको हो ।

पश्चिमाञ्चल होटल संघसँग सहकार्य गरेर फोन–पे प्रालिले ‘नगद छोडौं, फोन पे गरौं’ नारामा डिजिटल भुक्तानी प्रणाली कार्यक्रम अघि सारेको थियो ।

Advertisement

नयाँ वर्षको अवसरमा गत ३१ चैतदेखि १ वैशाखसम्म ४० प्रतिशत छुट दिइएको थियो । त्यस अवधिमा फोन–पे प्रालिसँग आवद्ध ५५ बैंक तथा वित्तीय संस्थाबाट सबैभन्दा बढी कारोबार गरेका होटललाई फोन–पेले पुरस्कृत गरेको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत टीका रिसोट प्रालि प्रथम, द कुटी रिसोर्ट र होटल डेण्डेलिन द्वितीय भएका छन् । त्यस्तै चौतारी बुटिक होटल, होटल लेक सोर, होटल भिलेज इन, होटल क्राउन हिमालयज, फिस्टेल लज, टेम्पल ट्री रिसोर्ट र होटल बाराही तृतीय भएको होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । प्रथम एक होटललाई ५० हजार रुपैयाँ, द्वितीय २ होटललाई २०÷२० हजार रुपैयाँ र तृतीय ७ होटललाई ५/५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

Advertisement

सो अवसरमा बोल्दै अध्यक्ष तुलाचनले होटल संचालन कार्यविधिमा निर्दिस्ट रहेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप नगद भुक्तानी कार्यलाई निरुत्साहित गर्ने अभियानको मुख्य उद्देश्य भएको बताए । कोरोनाले अति प्रभावित पर्यटन क्षेत्रलाई पुनःजागरण गराउन छुट दिएर आन्तरिक पर्यटकहरुको आकर्षण गर्ने अभियानमा आफूहरु रहेको उनको भनाइ थियो ।

टीका रिसोर्ट प्रालिकी सञ्चालक संगीता पौडेलले पुरस्कार प्राप्त हुँदा गौरवको महसुस भएको बताइन् । पर्यटन क्षेत्र अगाडि बढिरहेको सन्देश क्युआर कोड भुक्तानीले दिएको उनको भनाइ थियो । संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले फेवा नव वर्ष महोत्सव हुन नपाए पनि पर्यटकलाई नयाँ वर्षको अवधिमा छुट दिन ल्याएको कार्यक्रम सफल भएको बताए । सरकारको मुख ताक्नुको सट्टा व्यवसायी आफैं तात्नुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया