फेवाताल किनारको पर्खाल भत्काउन गएको डोजर खोस्रेर फर्कियो

समाधान संवाददाता २०७८ वैशाख १० गते २२:००
File photo

अनुप पौडेल, पोखरा

सौन्दर्यकरणको नाममा फेवाताल किनारमा लगाइएको रिटेनिङ पर्खालमा पोखरा महानगरपालिकाले शुक्रबार डोजर लगाएको छ । मापदण्ड नतोकिँदासम्म कुनै काम नगर्न महानगरले पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि डोजर चलाइएको हो ।

पोखरा १८ खपौंदीस्थित ताल किनारमा झन्डै डेढ सय मिटरको पर्खाल बनाइए पनि ५ मिटरमात्रै भत्काएर महानगरको डोजर फर्कियो । त्यसबाहेक १ ट्रिपर ढुंगामात्रै जफत गरेर महानगरले ‘देखावटी काम’ गरेको छ । पर्खालमा डोजर लगाउँदा स्थानीय र प्रहरीबीच झडपसमेत भयो । तर, कुनै अप्रिय दुर्घटना भने भएन । झडप हुने आँकलन गरेर नेपाल प्रहरी, नगर प्रहरी, सशस्त्र प्रहरी ६० जनाभन्दा बढी परिचालन गरिएको थियो ।

Advertisement

जग्गाधनीले सौन्दर्यकरण गर्न अदालतको आदेश पाएको बताएपछि हाललाई पर्खाल भत्काउने काम रोकिएको महानगरको विपद् व्यवस्थापन तथा निरीक्षण महाशाखा प्रमुख नारायण शर्माले बताए ।

अटेरी व्यवसायी, मूकदर्शक पाेखरा महानगर

Advertisement

‘उहाँहरुले अदालतको अन्तरिम आदेश छ भनेपछि रोकिएको हो । तर, कार्यालयमा त्यो आइपुगेको छैन,’ उनले भने, ‘उहाँहरुलाई सबै डकुमेन्टसहित आइतबार आउन अनुरोध गरेका छौं ।’ अदालतले नभत्काउन आदेश गरेको भए त्यही अनुसार प्रक्रिया अगाडि बढाइने शर्माले बताए ।

सेतु आचार्यको नाममा रहेको जग्गामा बनाइएको पर्खालमा डोजर लगाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो । जग्गाधनीलाई महानगरले फेवातालको ४ किल्ला निर्धारण तथा सीमांकन समितिको काम नसकिँदासम्म कुनै काम अगाडि नबढाउन आग्रह गरेको थियो । तर, उनीहरुले पटकपटक अटेर गरिरहे ।

मेयर मानबहादुर जिसी, उपमेयर मन्जुदेवी गुरुङ सहितको टोलीले २८ मंसिरमा सोही ठाउँको पर्खाल भत्काएको थियो । त्यसअघि २७ मंसिरमा पनि कुनै संरचना नबनाउन ध्यानाकर्षण गराइएको थियो । रातारात फेरि पर्खाल ठडाउन थालिएपछि २८ मंसिरमा डोजर लगाएर भत्काइयो ।

पोखरा महानगरपालिकाका प्रतिनिधि, नगर प्रहरी, नेपाल प्रहरी शुक्रबार डोजर लगाउन पुग्दा हात हालाहाल नै भयो । जग्गाधनीले पहिल्यै केही युवाको जमात जम्मा गरेका थिए । ती युवा प्रहरी र डोजरमाथि ढुंगा हान्न खोजिरहेका थिए ।

जग्गाधनीका छोरा विजयराज आचार्यले जम्मा गरेका युवाले फेवाताल बचाउनुपर्छ भनेर लागिपरेका अभियन्ता रामबहादुर पौडेललाई कालोमोसो दल्ने धम्की दिएका थिए । ती युवाले पौडेलमाथि झन्डै कुटपिट गरेका थिए, अरुले पौडेललाई तानेर जोगाएका थिए ।

फेवातालको मापदण्ड नतोकिँदा ताल किनारमा संरचना बन्ने क्रम रोकिएको छैन । ताल किनारका जग्गाको लालपुर्जा भए पनि महानगरपालिकाले मापदण्ड तोक्न ढिला गरेको छ । पहिल्यै डोजर लगाइएको ठाउँमा अटेर गरेर पुनः काम गरिरहेका जग्गाधनी आफूहरु सौन्दर्यकरण गर्न पर्खाल लगाएको बताउँछन् ।

‘आफ्नो जग्गा संरक्षण गर्न कसैको अनुमति लिनुपर्छजस्तो लाग्दैन । सौन्दर्यकरण गर्ने हो भनेर विभिन्न निकायमा भनेका छौं,’ जग्गाधनी विजयराज आचार्यले भने, ‘यहाँ वरिपरि रेस्टुरेन्ट बनेका छन्, व्यवसाय चलिरहेको छ । हामीले व्यवसाय चलाउने उद्देश्यले पर्खाल लगाएको होइन ।’

आफ्नोमात्रै नभई फेवाताल किनारमा बनाइएका सबै संरचना भत्काइनुपर्ने आचार्यको माग छ । सरकारले उचित मुआब्जा दिए जुनसुकैबेला जग्गा छोड्न तयार रहेको आचार्यले बताए । पर्खाल लगाइएको ठाउँमा आचार्य परिवारको करिब १० रोपनी जग्गा छ ।

नागरिक अभियन्ता रामबहादुर पौडेल महानगरले तालको मापदण्ड जतिसक्दो छिटो तोकेर जग्गाधनीलाई उचित मुआब्जा दिनुपर्ने बताउँछन् । ‘यहाँ भत्काउने काममात्रै गर्नु हुँदैन । हामी फेवातालको पक्षमा वकालत गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘पहिला छानबिन गर्नुप¥यो । उहाँहरुकै हो भने समयअनुसारको मुआब्जा दिनुपर्छ ।’ आफूहरु जग्गाधनीको विरोधमा नरहेको अभियन्ता पौडेलले स्पष्ट पारे ।

मेयरको निर्देशन – फेवा किनारको पर्खाल भत्काइदिनू

२ महिना पहिला सार्वजनिक फेवातालको ४ किल्ला निर्धारण तथा सीमांकन समितिको प्रतिवेदन अनुसार तालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी (५.७२६ वर्ग किलोमिटर) छ । २०६९ सालमा विश्वप्रकाश लामिछाने नेतृत्व समितिले बुझाएको प्रतिवेदनमा फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी (६.५४ वर्ग किलोमिटर) रोपनी थियो ।

८ वर्षको अवधिमै फेवातालको क्षेत्रफल १६ सय १९ रोपनी घटेको यी २ प्रतिवेदनले देखाउँछन् । अहिले दूषित जग्गा पहिचानको काम हुँदाहुँदै जग्गाधनीले महानगरको आग्रहलाई लत्याउँदै पर्खाल लगाएका हुन् । मापदण्ड तोक्न महानगरले ढिलाइ गर्दा विवाद सिर्जनासँगै धमाधम संरचना बनिरहेका छन् ।

तपाईको प्रतिक्रिया