घरपझोङका पशुपालकको गुनासो सेवा सुविधा खै ?

समाधान संवाददाता २०७८ वैशाख १२ गते ९:१३

सुन्दरकुमार थकाली, जोमसोम

हिमाली जिल्ला मुस्ताङको घरपझोङका पशुपालक किसानले कृषि र पशुपालन सम्बन्धी सरकारी सेवा प्रदायक निकायले किसानलाई उचित सेवासुविधा पु¥याउन नसकेको गुनासो गरेका छन् ।

विश्व भेटेरिनरी दिवस (२०७८) को अवसरमा आयोजित कार्यक्रममा स्याङ गाउँका पशुपालकले मुस्ताङमा पशुपालन व्यवसायमा बग्रेल्ती समस्या र चुनौती रहेको र त्यसलाई सावधान गर्नेतर्फ सम्बन्धित निकायले कुनै चासो नदिएको बताएका छन् ।

Advertisement

‘कोभिड—१९ संकटमा भेटेरिनरीयनहरुको दायित्व’ नारासहित भेटेरिनरी अस्पताल तथा सेवा विज्ञकेन्द्र मुस्ताङले कार्यक्रम आयोजना गरेको थियो ।

मुस्ताङको घरपझोङ ३ स्याउ गाउँका तीन दर्जन पशुपालक किसानले संघीयतापछि स्थानीय तहको पशुसेवा शाखा र भेटेरिनरी अस्पताल तथा सेवाविज्ञ केन्द्रले पशु औषधी, उपकरण, बिउबिजन वितरण, तालिमका साथै समस्या पर्दा पशु प्राविधकबाट फिल्ड सहयोग नभएको गुनासो गरेका हुन् ।

Advertisement

मुख्यमन्त्री जलवायु मैत्री कृषि नमुना गाउँको रुपमा समेत सूचीकृत घरपझोङ ३ को स्याङ गाउँमा करिब ४० घरधुरीले व्यावसायिक रुपमा पशुपालन गर्दै आइरहेका छन् ।

२०७२ सालमा हिमाली उपआयोजना मुस्ताङमा भित्रिएपछि स्याङ गाउँमा व्यावसायिक गाईपालन सुरु भएको हो । सरकारले मुस्ताङमा विशेष अनुदान उपलब्ध गराएर व्यावसायिक गाईपालन प्रर्वद्धन गरेको थियो ।

मुस्ताङमा व्यावसायिक गाईपालन सुरुभएपनि संघीयतापछि ३ तहको सरकार निर्माण हुँदा किसानले विभिन्न प्रकार समस्या झेल्नुपरेको पशुपालक किसान जीवन थकालीले ध्यानार्कषण गरे ।

उनका अनुसार मुस्ताङमा संघीयतापछि भेटेरिनरी कार्यालय खारेज भई इकाईको रुपमा रहेको र स्थानीय तहको नया अभ्यास र प्राविधिक कर्मचारी पदपूर्ती नहँुदा मुस्ताङका पशुपालक किसान समस्या परेका हुन् ।

घरपझोङ गापाका अध्यक्ष आशबहादुर थकालीले संघीयतापछि स्थानीय सरकारको नयाँ अनुभव र सम्बन्धित कार्यालय नहँुदा पशुपालक किसानमा समस्या बढेको उल्लेख गरे ।

अध्यक्ष थकालीले पशुपालकको माग र सेवा सुविधामा सरोकारवाला निकाय जवाफदेही रहनुपर्ने पनि बताए ।

वडाध्यक्ष महेन्द्र थकालीले पशुपालक किसानलाई कार्यक्रम र भाषण मात्र होइन उचित सेवामा ध्यान दिनुपर्ने तर्क गरे । पशुविकास अधिकृत सीता भट्टराईले कृषिका लागि पशुपालन व्यवसाय महत्वपूर्ण भएको बताइन् ।

सरकारले चालु वर्ष उन्नत घास वितरण गर्ने कार्ययोजना रहेकाले मुस्ताङका किसानलाई सोलुमा उत्पादन भएको फुर्चा जातको लोकल नमुना उन्नत घाँसको बिउ वितरण गरिने जनाइन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका कार्यालय प्रमुख जीवनप्रसाद अर्यालले संघीयतापछि मुस्ताङमा कार्यालयको इकाई मात्र रहँदा पशुपालकले सास्ती व्यवहोर्नुपरेको उल्लेख गरे ।

उनले यसै वर्ष मुस्ताङमा कार्यालय स्थापना भएको र आवश्यक बजेट नहँुदा पशुपालकका माग सम्बोधन गर्न नसकेको बताए ।

‘अगामी आर्थिक वर्ष ठोस कार्ययोजना बनाएर पशुपालकको माग पूरा गछौं ,यसका लागि पशुपालकको सुझाव चाहिएको छ,’ उनले भने ‘यसै वर्षदेखि कृत्रिम गर्भाधानको व्यवस्था मिलाएको छौं, कार्यालयले वितरणमुखी भन्दा अभियानमुखी कार्यक्रमलाई जोड दिनेछ ।’

कार्यालय प्रमुख अर्यालले यसै वर्षबाट थासाङमा पशु भ्याक्सिन लगाउने अभियान सुरु भइरहेको र अर्को वर्ष घरपझोङमा समेत भ्याक्सिन अभियान सञ्चालन गर्ने जानकारी दिए ।

दिवसका अवसरमा घरपझोङ—३ स्याङका किसानलाई उन्नत जातको लोकल फुर्चा घाँसको बिउका साथै पशु भेटेरिनरी सम्बन्धी औषधि वितरण गरिएको थियो ।

कार्यालयले आगामी वर्ष प्रदेश सरकारको सहयोगमा दुग्ध उत्पादक किसानलाई पशु आहारा ढुवानीमा विशेष अनुदानको व्यवस्था गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया