‘हेलो ! बेड खाली छैन’

समाधान संवाददाता २०७८ वैशाख १३ गते ८:०८

कोरोना संक्रमित बढे पनि अरु सरकारी अस्पतालमा आइसोलेसन नहुँदा सरुवा रोग अस्पताल बिरामीको चाप बढेको छ । सबै ४७ वटै बेड भरिएका छन् ।

अनुप पौडेल, पोखरा

‘कन्ट्रोल रुम’मा फोन बजिरहन्छ । बेड भए/नभएको सोध्न पछिल्लो हप्तायता धेरै फोन आउन थालेको छ ।

Advertisement

संक्रामक तथा सरुवा रोग अस्पतालका डा. अप्टिक सापकोटाको कार्य बोझ पछिल्लो हप्तादेखि बढेको छ ।

आइतबार दिउँसो पौने ३ बजे पोखरा ३० मोहरियास्थित अस्पताल पुग्दा डा. सापकोटा बेड खोज्दै फोन गरिरहेकासँग भलाकुसारी गर्दै थिए ।

Advertisement

फोन राखेपछि उनले सुनाए, ‘२ हप्ता अघिभन्दा एकदम बढेको छ । स्याङ्जामा कोरोना देखिएको एकजना बिरामी ल्याउने कुरा छ । यहाँ बेड सबै फुल छ ।’

प्रदेश सरकार मातहतको सरुवा रोग अस्पतालमा कोभिडका लागि ४७ बेड छ । अहिले प्रदेशभित्र संक्रमितको उपचार गर्ने सरकारी अस्पताल यही एउटामात्रै हो ।

‘संक्रमित बढिरहँदा हाम्रो अस्पतालले मात्रै राखेर हुँदैन । अन्त सरकारी अस्पताल कसैले पनि बिरामी राखेको छैन,’ डा. सापकोटाले सुनाए, ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आलटाल गरिराखेको छ । स्याङ्जा, तनहुँ, पर्वतका बिरामी पनि आउनुभएको छ ।’

अरु जिल्लामा पनि आइसोलेसनको व्यवस्था गर्नुपर्ने उनी बताउँछन् । ‘यहीँ आएर बिरामी फर्किनुपरेको छैन । फोन आउँछ, बेड खाली छैन भन्नुपर्छ,’ डा. सापकोटाले भने । उक्त अस्पतालमा पर्याप्त जनशक्ति छैनन् । भएका डाक्टर र नर्सअरु बिरामीसँग कोरोना संक्रमित ४७ जनाको उपचारमा खटिएका छन् ।

अप्ठेरो परे बिरामीले कन्ट्रोल रुममा फोन गर्छन् । ‘बेडको आडैमा टेलिफोन छ । कसैलाई गाह्रो भए त्यहाँबाट फोन गर्नुहुन्छ,’ सिसिटिभीको स्क्रीनतिर देखाउँदै डा. सापकोटाले सुनाए, ‘यहाँ ड्युटीका डाक्टर र नर्स पिपिई लगाएर पुग्नुहुन्छ ।’

कोरोना संक्रमितकै उपचार गर्ने भन्दै खोलिएको अस्पताल जनशक्ति अभावले थलिएको छ । प्रदेश सरकारले समयमै कर्मचारी व्यवस्थापन नगर्दा ९ बेडको आइसियु प्रयोग हुन सकेको छैन ।

चलाउने जनशक्ति नभएपछि आइसियु भनिएको बेडमा कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोनाको पहिलो लहरमा लक्षण नभएका बिरामीको उपचार गरेको सरुवा रोग अस्पतालमा अहिले लक्षणसहितका बिरामी छन् ।

अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारलाई भनेको बताउँछन् । अस्पतालमा १८ जना बिरामी भए पनि आइसियु सञ्चालनमा नआउँदा थप समस्या भएको उनले बताए ।

‘पश्चिमाञ्चल अस्पतालले संक्रमित राखेको छैन । अस्ति गर्भवती महिलालाई नै यता रेफर गर्दियो,’ निर्देशक डा. गौचनले सुनाए, ‘अहिले उपचाररतमध्ये १८ जना गम्भीर बिरामी हुनुहुन्छ ।’

होम आइसोलेसनका संक्रमितमाथि निगरानी बढाउनुपर्ने उनको सुझाव छ । संघ सरकारले प्रदेशलाई सहयोग गरे गण्डकी प्रदेशमा संक्रमित व्यवस्थापन अझ सहज हुने निर्देशक डा. गौचनको राय छ ।

‘पश्चिमाञ्चलले संक्रमितको उपचार गरे अझ सहज हुन्थ्यो । चैत महिनामा जति बिरामी हुनुहुन्थ्यो अहिले एक हप्तामै त्यति बिरामी हुनुभयो,’ उनले थपे, ‘होम आइसोलेसनमा बसेको भनिए पनि बसेको÷नबसेको थाहा छैन । उनीहरुबाट हो फैलने त्यसैले निगरानी बढाउनुपर्छ ।’

प्रदेश सरकारले लायन्स सामुदायिक अस्पताललाई गत साउनमा संक्रामक तथा सरुवा रोग अस्पताल घोषणा गरेको थियो ।

अस्पताल आफू मातहत ल्याउनुको मुख्य उद्देश्य नै कोरोना संक्रमितको उपचार थियो । प्रदेश सरकारले व्यवस्थापन समिति बनाउन चासो नदिँदा अस्पतालको काम कारबाही नै प्रभावित बनेको छ ।

पोखराकै एउटा निजी अस्पतालमा उपचाररत बिरामीका आफन्त संक्रामक रोगअस्पतालको रिसेप्सनमा डा. अन्जन तिवारीसँग कुरा गर्दै थिए ।

‘१२ दिनदेखि बिमार हुनुहुन्छ । कोरोना टेस्ट गराएको रिपोर्ट पोजेटिभ आए बेड चाहिन्छ भनेर आएको,’ डा. तिवारीसँग कुरा गरिरहेका युवकले सुनाए ।

डा. तिवारीलेअहिले बेड नै खाली नभएको सुनाउँदा उनी निराश देखिए । गत साउनमा अस्पतालले कोभिड संक्रमितको उपचार सुरु गरेपछि उपचारमा सक्रिय डा. तिवारीले अहिले जसरी बिरामीको चाप बढेको अनुभव गरेनन् ।

देशकै विभिन्न जिल्ला र छिमेकी मुलुकको संक्रमण दरको हिसाब गर्दै गण्डकी प्रदेशमा पनि भयावह स्थिति सिर्जना हुनसक्ने उनी आँकलन गर्छन् ।

‘बिरामी आइरहेको दर हेर्दा बाँकेतिर जस्तो भइराखेको छ त्यस्तै हुन्छ । ३ दिन अघिसम्म हाम्रोमा २५ जनामात्रै हुनुहुन्थ्यो । अहिले ४७ पुगिसक्नुभयो,’ डा. तिवारीले भने ।

‘१/२ दिनमै बिरामी राख्छौं’

प्रदेशकै ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले पनि कोरोना संक्रमितको उपचारसुरु गर्ने भएको छ । सरुवा रोग अस्पतालमा बेड भरिएपछि क्षेत्रीय अस्पतालको ‘डिकेन्टिङ भवन’ मा संक्रमितको उपचार सुरु गरिने भएको हो ।

अस्पतालका सूचना अधिकारी नारायण आचार्यले ५० बेडको आइसोलेसन व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको बताए । आइसोलेसनमा ८ बेड आइसियु सञ्चालन गर्ने तयारी छ ।

‘त्यहाँ बेड व्यवस्थापनको काम भइरहेको छ । जनशक्ति चाहिने भएकाले व्यवस्थापन गर्दिन प्रदेश सरकारलाई भनेका छौं । मंगलबारसम्म बिरामी राख्न सुरु गर्छौं,’ उनले भने । ३ सिफ्टमा गरेर १० जना नर्स र आवश्यकता अनुसार डाक्टरलाई ‘राउन्ड ड्यिुटी’मा परिचालन गरिने आचार्यले बताए ।

संक्रमित हप्तामै दोब्बर

गण्डकी प्रदेशमा कोरोना संक्रमणको ग्राफ डरलाग्दो रुपमा बढेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार एक हप्ता (५ देखि १२ वैशाखसम्म) संक्रमित संख्या दोब्बरभन्दा बढी भएको छ ।

यो हप्ता ५ सय ७२ जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

२९ चैतदेखि ५ वैशाखमा प्रदेशमा २ सय ५८ संक्रमित भेटिएका थिए । प्रदेशभर अहिले ८ सय ८० जना कोरोना संक्रमित छन् । तीमध्ये ६ सय ३३ अर्थात् ७१.९३ प्रतिशत संक्रमित कास्कीका हुन् ।

बाँकी जिल्लामा २ देखि १०२ जनासम्म संक्रमित छन् । प्रदेशमा आइतबारसम्म १७ हजार ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १६ हजार ६४६ जना निको भएको र २११ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया