दामोदरकुण्ड र लोघेकरका लागि पौने ९ करोड

समाधान संवाददाता २०७८ वैशाख १४ गते ९:३४

उपल्लो मुस्ताङको लोघेकर गुम्बा र दामोदरकुण्डमा पूर्वाधार निर्र्माण तथा स्तरोन्नति गरिने

सुन्दरकुमार थकाली, जोमसोम

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका २ धार्मिक स्थलको स्तरोन्नति हुने भएको छ ।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले लोघेकर दामोदरकुण्ड १ मराङको लोघेकर गुम्बा र लोघेकर दामोदरकुण्ड ४ को दामोदरकुण्डमा पूर्वाधार निर्र्माण तथा स्तरोन्नति गर्ने भएको हो । यसका लागि ८ करोड ७१ लाख बजेट बिनियोजन भएको छ ।

लोघेकर दामोदरकुण्डका धार्मिक स्थलका लागि ४ करोड ५८ लाख र ऐतिहासिक तथा धार्मिक महत्वको लोघेकर गुम्बालाई ४ करोड १३ लाख बजेट बिनियोजन भएको गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताए । समुन्द्री सतहदेखि ४ हजार ६ सय मिटरमा अवस्थित दामोदरकुण्ड हिन्दूको महत्वपूर्ण तीर्थस्थल हो ।

Advertisement

सरकारले उपल्लो मुस्ताङको धार्मिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले यसै वर्षदेखि बहुवर्षीय योजना अन्तर्गत पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरेको अध्यक्ष बिष्टले बताए ।

दामोदरकुण्डको पूर्वाधार निर्माण तथा स्तरोन्नतिको जिम्मा खानी कन्ट्रक्सनले पाएको छ ।

कन्ट्रक्सनले दामोदरकुण्ड जाने पदमार्ग निर्माण तथा स्तरोन्नति, दामोदरकुण्डमा अवस्थित कुण्ड र त्यहाँ रहेका कुशको संरक्षण, पाटीपौवा निर्माण, खानेपानीको व्यवस्थापन र गुरु रिन्पार्छे (पद्यसम्भव)को मूर्ती बनाउनेछ ।

लोघेकर दामोदर कुण्डकै अर्को ऐतिहासिक धार्मिक स्थल लोघेकर गुम्बाका लागि पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि टेन्डर आह्वान भइसकेको छ ।

लोघेकर गुम्बाअघि पाटीपौवा निर्माण, छपनी बिच्छ्याउने र गुम्बाको मुख्य गेटदेखि गुम्बा प्राङ्गणसम्म भ¥याङ निर्माण लगायतका काम हुनेछन् ।

जैविक विविधतायुक्त धार्मिकस्थल दामोदरकुण्ड पुग्न कठिन यात्रा गर्नुपर्छ । पछिल्लो समय स्थानीय तहले यारासम्म सडक बनाएको छ ।

कुण्ड पुग्न कतिपय पर्यटक घोडामा जान्छन् । दामोदरकुण्डलाई स्थानीय भाषामा (उर्गेन री) भनिन्छ । कुण्डसम्म पुग्न ५ सय ६ सय मिटरको उकालो भसो पासको पार गर्नुपर्छ ।

द्वापर युगमा भगवान श्रीकृष्णलाई यशोधाले दाम्लोले ओखलमा बाधेको र यशोधा नभएको मौकामा श्रीकृष्णले ओखल घिसार्दै गर्दा दुई रुख ढलेको पौराणिक किंवदन्ती यससँग जोडिएको छ ।

पुराणमा उल्लेख भएअनुसार ढलेका दुई रुख नल कुवेर थिए । उनीहरुलाई नारथीको श्राप परेकाले श्रीकृष्णले रुख ढाल्दा जड भएका नल कुवेर पापमुक्त भए ।

नल कुवेर पापमुक्त भए पनि मोक्ष प्राप्त श्रीकृष्णको आराधना गरे । त्यसपछि कृष्णले बृन्दावनबाट आफूलाई बाधेको कुशको दाम्लो फाल्दा दामोदरकुण्डमा झरेको र कृष्णले नल कुबेरलाई त्यहाँ मुक्ति लिन जानु भनेको उल्लेख पाइन्छ ।

दामोदरकुण्डमा स्नान गरी नल कुबेरले मोक्ष पाए भन्ने विश्वास गरिन्छ । कृष्णले फालेको दाम्लो झरेका ठाउँमा तीन वटा जलाशय बनेको जनविश्वास छ । ती कुण्डआसपास लटरम्म कुश छ ।

दामोदरकुण्ड मुक्तिनाथको शिर मानिन्छ । दामोदरकुण्डमा बर्सेनी तीर्थालुहरु हिडेर र हेलिकप्टर चार्टर गरी जाने गरेका छन् ।

लोघेकर दामोदरकुण्डको लोघेकर गुम्बा नेपालकै प्राचीन गुम्बा मानिन्छ । यसलाई स्थानीय ‘घर गुम्बा’ पनि भन्छन् । लोघेकर गुम्बा १३ सय वर्ष पुरानो मानिएको छ ।

गुम्बामा गुरु रिन्पोर्छे अर्थात पद्यसम्भवको मूर्ति प्रतिस्थापन गरिएको छ । तिब्बतमा सम्य गुम्बा बनाउँदा राक्षसले दुख दिएपछि गुम्बा निर्माणका लागि राक्षसको बध गर्न पद्यसम्भव तिब्बत गएको स्थानीय विश्वास गर्छन् ।

पद्यसम्भवले सोही गुम्बा नजिक राक्षशको बध गरेको र त्यहा गुम्बा बनाइएको जनविश्वास छ ।

तपाईको प्रतिक्रिया