‘रवीन्द्र समृद्धिका मार्गदर्शक’

समाधान संवाददाता २०७८ वैशाख २२ गते १९:३३

रवीन्द्र अधिकारीको ५२ औं जन्म जयन्तीको सन्दर्भमा रवीन्द्र स्मृति प्रतिष्ठानका पदाधिकारी तथा सल्लाहकार रवीन्द्र अधिकारीको शालिकमा माल्र्यापणपछि । पोखरा १८ सराङकोटमा रहेको राष्ट्रिय विभूति तथा सहिद पार्कमा रवीन्द्रको पूर्ण कदको शालिक निर्माण गरिएको छ ।

समाधान संवाददाता, पोखरा ।

रवीन्द्र अधिकारीको ५२ औं जन्म जयन्तीको सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले बुधबार ‘विकास, समृद्धि, रााजनीति र रवीन्द्र अधिकारी’ विषयक विचार गोष्ठी आयोजना गरेको छ ।

Advertisement

कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन प्राडा भरतराज पहारीले अबको राजनीति न्याय, समनता र समृद्धिका लागि केन्द्रीत गर्नुपर्ने बताए । उनले राजनीतिलाई विकाससँग जोड्नुपर्ने उल्लेख गरे । नेता रवीन्द्रले विकास, समृद्धि र राजनीतिलाई सधै अग्रभागमा राखेको उल्लेख गर्दै उनले समाज, विकास र समृद्धिमा उनको विशिष्ट योगदान रहेको दाबी गरे ।

‘नेपालको निरपेक्ष गरिबी, बेरोजगारी, सामाजिक विभेद, आर्थिक परनिर्भरता र व्यापार घाटा विकास र समृद्धिका बाधक हुन्,’ उनले भने, ‘हाम्रो राजनीति र विकासले सबै प्रकारका सवाललाई सम्बोधन र विभेदलाई न्यूनीकरण गर्र्नुपर्छ ।’ उनले विकासको प्रक्रिया र विधिलाई न्यायपूर्ण बनाउनुपर्ने उल्लेख गरे । समाज रुपान्तरणमा प्रविधिको विकासको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उनले सूचना प्रविधि र शिक्षाको पूर्वाधारको विकास विना समृद्धि हासिल गर्न नसकिने बताए ।

Advertisement

राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले रवीन्द्रले सार्वजनिक शिक्षालाई गुणस्तरीय र व्यवस्थित बनाउने एजेन्डालाई निरन्तर रुपमा उठाएको चर्चा गरिन् । उनले रवीन्द्रले विद्यार्थी राजनीति गर्दा विश्वविद्यालयलाई प्राज्ञिक र मर्यादित बनाउन सहयोग गरेको स्मरण गरिन् ।

सहरी योजना आयोगका उपाध्यक्ष डा रामचन्द्र लामिछानेले रवीन्द्रले सामाजिक न्यायसहितको विकासको स्पष्ट खाका कोरेको दाबी गरे । उनले २१ औं शताब्दीको विकास, समाजवादी मोडलको विकास, राज्यको पुनर्सरचना लगायतका समसामयिक सवालमा रवीन्द्र सबैको मार्गदर्शक भएको उल्लेख गरे ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका सल्लाहकार तथा उद्योगी आनन्दराज बतासले रवीन्द्रले राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर विकास र समृद्धिको एजेन्डालाई अगाडि बढाएको बताए । राजनीतिक चेतना बढाउनु पनि विकास भएको उल्लेख गर्दै उनले रवीन्द्रले राजनीतिक चेतना बढाउने काम गरेको दाबी गरे ।

उनले राम्रो कामको समर्थन गर्ने भन्दा पनि सस्तो लोकप्रियताका लागि गरिने प्रचारबाजीमा विश्वास गर्ने परिपाटीको विकास भएको उल्लेख गरे । नेपालमा पर्यटनको विकल्प नभएको उल्लेख गर्दै उनले पर्यटनको दृष्टिले नेपालको प्रतिस्पर्धी कोही नभएको दाबी गरे ।

राजनीतिक विश्लेषक झलक सुवेदीले लोकप्रिय नेता रवीन्द्रले नेपालको विकास र समृद्धिमा चासो र पदीय भूमिका निर्वाह गरेको बताए । उनले नेपाली समाजको रुपान्तरण र राजनीतिक परिवर्तनमा योगदान रहेको उल्लेख गरे । कार्यक्रममा रवीन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य विद्या भट्टराई, प्रतिष्ठानका उपाध्यक्ष तथा गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापा, महासचिव धनराज आचार्य लगायतले बोलेका थिए ।

रवीन्द्र अधिकारीको ५२ औं जन्म जयन्तीको सन्दर्भमा रवीन्द्र स्मृति प्रतिष्ठानका पदाधिकारी तथा सल्लाहकारले बुधबार पोखरा १८ सराङकोट स्थित राष्ट्रिय विभूति तथा सहिद पार्कमा निर्माण गरिएको रवीन्द्र अधिकारीको पूर्ण कदको शालिकमा माल्र्यापणसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया