बिरामी हुँदा विपक्षीले बदनाम गरे, तर अविश्वासमै भोट हाल्छु

समाधान संवाददाता २०७८ वैशाख २६ गते ७:००

गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही पछिल्लो १० दिनयता चर्चामा छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मत विभाजन हुने दिनमै सम्पर्कविहीन भएपछि उनी पार्टी नीति विपरीत गएको भन्ने धेरैको आशंका छ ।

१५ वैशाखमा सम्पर्कविहीन भएका उनी पछि अस्पतालमा भेटिएको सार्वजनिक भएको थियो । अस्पतालबाट ४ दिनमै निस्किएर उनी अहिले पोखराकै एउटा होटलमा बसेका छन् ।

एक्कासि बिरामी परेर आफू अस्पताल भर्ना हुनुपरेको उनले वक्तव्यमार्फत जनाएका थिए । पछि उनलाई कोरोना भाइरस भएको रिपोर्ट सार्वजनिक भएको थियो ।

Advertisement

सांसद शाहीको कोरोना भाइरस रोग कोभिड १९ को रिपोर्ट शुक्रबार नेगेटिभ आएको छ । २७ वैशाखमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुँदैछ । सांसद शाहीले आफू सरकार जोगाउने पक्षमा नरहेको र अविश्वास प्रस्तावमै मत हाल्ने बताएका छन् ।

समाधानसँग शनिबार दिउँसो कुरा गर्दै उनले मत विभाजन हुँदा पार्टीको नीति विपरीत नजाने दाबी गरे । उनको पार्टी केन्द्रीय कमिटीले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ । प्रस्तुत छ सांसद शाहीसँग समाधानकर्मी अनुप पौडेलले गरेको कुराकानीः

Advertisement

अहिले तपाईंको स्वास्थ्य अवस्था कस्तो छ ?

स्वास्थ्य पहिलाको भन्दा सुधार भएको छ । रिपोर्ट पनि नेगेटिभ आइसक्यो । होटलमै आराम गरिरहेकै छु ।

पछिल्लो संसद बैठकमा अनुपस्थित भएपछि तपाईं सरकार जोगाउनेतर्फ लाग्नुभयो भनेर आरोप लाग्यो । यसलाई कसरी हेर्नुभएको छ ?

व्यक्तिगत प्रतिक्रिया केही छैन । अचानक बिरामी भएर बैठकमा अनुपस्थित भएँ । पार्टीको नीति विपरीत मेरो छुट्टै निर्णय केही छैन ।

तपाईं अनुपस्थित हुनुभयो भनेर संसद स्थगित भयो । यसलाई कसरी लिनुभएको छ ?

बिरामी भएर अस्पताल जानुप¥यो । हाम्रो सचेतकले हराएको भनेर निवेदन दिनुभएछ । सभामुखले दलको नेतासँग सल्लाह नगरी बैठक स्थगित गर्नुभएछ । अरु छुट्टै के भनौँ र ?

बागलुङमा लामो समयदेखि तपाईंको पार्टी राजमोले एमालेसँग चुनावी गठबन्धन गर्दै आयो । अहिले एमाले सरकारविरुद्धकै अविश्वास प्रस्तावमा लाग्दा भोलि राजनीतिक रुपमा अप्ठेरो पर्ने हो कि ?

अहिले पार्टीले निर्णय गरेको कुरा हो । अहिले पार्टीले मुख्यमन्त्रीविरुद्धको अविश्वासमा जाने भन्यो । फेरि चुनाव आउँदा अरु केही होला । त्यतिबेलाकै गतिविधिले बताउँछ ।

बागलुङमा राजमो र कांग्रेसको सम्बन्ध त्यति राम्रो छैन, उतै जाने पो हो कि ?

कांग्रेससँग सम्बन्ध राम्रोभन्दा पनि अहिलेसम्म उनीहरुसँग तालमेल गरेर चुनाव लडेको छैन । थाहा पाएसम्म उनीहरुकै विरुद्ध चुनाव लडिएको छ । परिस्थिति अनुसार के हुन्छ त्योबेला ।

तपाईंको पार्टीको महासचिव पोखरामै हुनुहुन्छ । पछिल्लो राजनीतिक घटनाक्रमपछि केन्द्रीय नेतासँग केही कुरा भयो ?

अचानक संसदमा अनुपस्थित हुँदा पार्टीलाई छुट्टै केही लाग्यो होला । खासै कुरा केही भएको छैन । महासचिव पोखरामै हुनुहुन्छ, बिरामी भएरै अस्पताल बस्नुभयो भन्ने कुरा भयो ।

तपाईंले फ्लोर क्रस गर्नुहुन्छ कि भन्ने कतिको शंका छ । अब २७ गते मत विभाजन हुँदैछ, के गर्नुहुन्छ ?

त्यो शंकामात्रै हो । हामी ३ जना सांसद छौँ । तीनैजनाले तलमाथि गर्दैनौँ, फ्लोरक्रस गर्दैनौँ । मतदानको दिन उपस्थित हुन्छौँ । भोट पनि अविश्वासकै पक्षमा हाल्छौँ । शंका गर्नुपर्दैन । पार्टीको नीति विपरीत जाने भन्ने हाम्रोमा हुँदैन ।

अन्तिममा, तपाईं पार्टी नीति विपरीत जान लाग्नुभयो भन्ने आम जनतामा धारणा बनेको छ । के भन्न चाहनुहुन्छ ?

अस्पतालमा हुँदा नै म बिरामी भएर हो भन्ने विज्ञप्ति निकालेको थिएँ । बाहिर जुन प्रकारको चर्चा विशेष गरेर कांग्रेस, माओवादी र जसपा, संसदका विपक्षी दलले मेरो बदनाम गर्ने, चरित्रहत्या गर्ने तरिकाले कुरा आएको छ । त्यो विषय (सरकार जोगाउन लागेको) भ्रममात्रै हो ।
नियत खराब छैन, स्वार्थ पनि होइन । म बिरामी भएकाले त्यो दिन उपस्थित हुन सकिनँ । २७ गते संसदमा आउँछु, अविश्वासमै भोट हाल्छु ।

तपाईको प्रतिक्रिया