जनमोर्चाले केन्द्रको निर्णय मान्नेमा ढुक्क छन् विपक्षी

समाधान संवाददाता २०७८ वैशाख २८ गते ११:४३

समाधान संवाददाता, पोखरा

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजसम्म बहुमतको सरकार दाबी गरेर आउन आह्वान गरेकी थिइन् ।

कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको गठबन्धनले जनमोर्चालाई साथमा लिएर मंगलबार नै दाबी पत्र बुझाउने बताएका थिए । तर सरकार गठनको अन्तिम दिन आइपुग्दा सम्म कांग्रेस नेतृत्वको मोर्चाले आवश्यक हस्ताक्षर जुटाउन सकेको छैन । अर्थात् निर्णायक भनिएको ३ सांसद सहितको जनमोर्चाले अहिलेसम्म हस्ताक्षर दिएको छैन ।

Advertisement

जनमोर्चाले साथ नदिने हो भने कृष्णचन्द्र पोखरेल नेपालीको नेतृत्वमा सरकार बनाउने विपक्षी मोर्चाको सपना तुहिन्छ । पृथ्वीसुब्बा गुरुङ सदनको ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा दोहोरिनेछन् ।

जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकारलाई नै साथ दिने निर्णय गरेका थिए ।

Advertisement

कांग्रेस नेतृत्वको मोर्चामा जनमोर्चाका यहाँका सांसदले केन्द्रकै निर्णय मानेर आफूहरुलाईसाथ दिनेमा आशावादी छन् ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान आज बहुमतको सरकार बन्नेमा आफू ढुक्क रहेको बताउँछन् । ‘म ढुक्क छु, आज बहुमतको सरकार बन्छ, जनमोर्चाका साथीहरुले केन्द्रको निर्णय नै मानेर हामीलाई साथ दिनुहुन्छ,’ उनले भने ।

कांग्रेस सांसद कुमार खड्का पनि बहुमतको सरकार बन्नेमा आशावादी छन् । सांसदहरु पार्टीको निर्णयमा चल्ने भएकाले केन्द्रले गरेकै निर्णयलाई यहाँ अक्षरस पालना गरिने उनी बताउँछन् ।

‘पार्टीले पठाएर हामी सांसद भएका हौं, उहाँहरु पनि त्यही हो, केन्द्रकै निर्णय मानेर यता आउनुहुन्छ, आउनुभएन भने फेरी पृथ्वीसुब्बा नै बन्ने पनि सम्भावना छ,’ उनले भने ।

प्रदेशमा बहुमत दाबी गर्न ३१ सांसदको आवश्यकता पर्छ । एमालेसँग २८ सांसद छन् । कांग्रेस, माओवादी र जनता समाजवादीसँग २९ (सभामुख सहित) छन् । जनमोर्चाले गर्ने निर्णयमा को मुख्यमन्त्री बन्छ त्यसको आज नै छिनोफानो हुँदैछ ।

तपाईको प्रतिक्रिया