७३ जिल्लामा निषेधाज्ञा

समाधान संवाददाता २०७८ वैशाख ३० गते ७:५१

कास्कीमा जारी निषेधाज्ञा जेठ ७ सम्म लम्बियो

समाधान संवाददाता, काठमाडौं

मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड १९ संक्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । मुलुकमा अब ४ जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ ।

Advertisement

हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी संक्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । त्यसमध्ये ७ जिल्लामा आंशिक आदेश लागू छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञा जेठ ७ गतेसम्मका लागि लम्ब्याएको छ । बुधबार साँझ सूचना निकालेर प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले डिसिसिएसीको निर्णयका आधारमा जेठ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएका छन् ।

Advertisement

यद्यपि संक्रमणको गति भने कम हुनाको साटो बढ्दो छ । नेपालमा यही वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास भएको थियो । १६ वैशाखदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएको थियो । १ महिनामा करीब मुलुक नै ठप्प हुन पुगेको छ ।

स्वास्थ्यविज्ञले यसपालिको परिवर्तित रुप गत वर्षभन्दा बढी संक्रामक रहेकाले अझै केही हप्ता घरमै बसेर संक्रमणको जालो तोड्नुपर्ने सुझाव दिएका छन् । मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङले निषेधाज्ञा जारी गरेका छैनन् ।

मनाङले१३ वैशाखको निर्णयानुसार आवश्यक तयारीका साथ सम्पर्कमा रहेका व्यक्तिको परीक्षणलाई तीव्रता दिँदै आएकामा बुधबारको निर्णयले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन, जात्रा मेलालगायत भीडभाड हुने काम नगर्न र विवाहमा १५ भन्दा बढी सहभागी नहुन निर्देशन जारी गरेको छ । मुस्ताङले जिल्ला प्रशासन कार्यालयबाट दिने अत्यावश्यकबाहेक सेवा रोकिसकेको छ ।

रुकुम(पूर्व)ले पनि बुधबार रातिदेखि लागू हुने गरी आंशिक आदेश जारी गरिसकेको छ । उसले गाडीका हकमा जिल्लाभर नै सञ्चालनमा रोक लगाएको तथा अन्य विषयमा स्थान तोकेर आदेश जारी गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउँछन् ।

मुलुकमा पछिल्ला केही दिनदेखि नौ हजारमाथि दैनिक संक्रमित फेला पर्दै आएका छन् तथा मृतक ३ अंक देखिँदै आएको छ । मुलुकमा अक्सिजन र सिलिन्डर तथा सघन उपचार कक्ष, भेन्टिलेटर र शय्यासमेत अभाव हुँदा बिरामीको मृत्यु हुन थालेको छ ।

नेपालमा पछिल्लो साताको विष्लेषण गर्दा संक्रमितको संख्या ५१ प्रतिशतले वृद्धि भइरहेको छ । कोरोनाबाट नेपालमा ४४ भन्दा बढी जिल्ला प्रभावित भएको जनाइएको छ । भारतभन्दा नेपालमा संक्रमण र मृत्यु दर निकै बढी रहेको मन्त्रालयका सरुवा रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले जानकारी दिइन् ।

नेपालमा प्रति १० लाख ३ सय ४ र भारतमा २ सय ४० मात्रै संक्रमण दर छ । नेपालमा प्रति १० लाखमा ३.३ जनाको मृत्यु भइरहेको छ । यो भारतको भन्दा बढी हो ।

भारतमा २.५ जनाको मृत्यु भएको तथ्यांक छ । पोजिटिभिटी दर भारतभन्दा नेपालमा दोब्बर छ । प्राप्त विवरणानुसार भारतमा २२.६ प्रतिशत पोजिटिभिटी दर रहेकामा नेपालमा ४५.१ प्रतिशत छ । नेपालमा आजदेखि सक्रिय संक्रमितको संख्या एक लाख नाघिसकेको छ ।

तपाईको प्रतिक्रिया