खतरनाक विन्दुमा नागरिकः गण्डकीमा १० दिनमै ९४ को मृत्यु

समाधान संवाददाता २०७८ वैशाख ३१ गते ८:०४

अमृत सुवेदी, पोखरा

५ दिनअघि पोखराको एक परिवार र आफन्तसहित भेला भएर जन्मदिनको उत्सव मनाए ।

त्यो बर्थ पार्टीमा करिब २० जना सहभागी थिए । प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार ‘बर्थ पार्टीमा’ सहभागीमध्ये केहीलाई ज्वरो र रुघाखोकी लाग्यो । परीक्षण गर्दै जाँदा पार्टीमा सहभागी १७ जनालाई कोभिड पोजेटिभ देखियो ।

Advertisement

‘स्वास्थ्यमा कुनै समस्या थिएन । सबै ठिकठाकै थिए । बर्थ पार्टीमा सहभागीमध्ये १ जनालाई स्वाफ फेर्न गाह्रो भएछ र उनको उपचारको क्रममा मृत्यु भयो,’ डा. शर्माले भने, ‘सब ठिकठाकै छन् भनेका छन् भनेका व्यक्तिलाई पछि अहिलेको कोभिड युके भेरिएन्सले सिकार बनाइरहेको छ ।’
…..

पोखरा–१३ मा ७१ वर्षीय वृद्ध घरमै थिए । उनलाई एक्कासी स्वास्थ्य समस्या देखा प¥यो । परिवारका अनुसार उनमा कुनै दीर्घ रोग थिएन र औषधि खाएका पनि थिएनन् ।

Advertisement

उनले आफूलाई कमजोर महसुस गरेपछि उनलाई चरम मेमोरियल अस्प्तालमा लगे । त्यहाँबाट बेड छैन भनेर भनेर पोखराको मणिपाल शिक्षण अस्पताल पु¥याए ।

‘मणिपालमा पनि बेड नभएको जानकारी गराएपछि फेरि बेड मिलाएर चरकमै ल्याउने कुरा भयो । राति १२ बजे पनि चरक मेमोरियलमा पुगें । कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो,’ डा. विनोद विन्दुले भने, ‘तत्काल अक्सिजनको व्यवस्था गरेर अब ठिक भए, कुनै समस्या छैन भनेको विरामी भोलिपल्ट बिहान उहाँ बिते ।’

एक्कासी स्वास्थ्यमा समस्या देखिएर २७ गते चरक मेमोरियल अस्पताल पु¥याएकी पोखरा पोखरा–७ की ४५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखियो ।

अचानक स्वास्थ्य समस्या देखिएर अस्पतालको आइसियुमा उपचारत महिलाको भोलिपल्ट २८ गते नै मृत्यु भयो । बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा मृत्यु भएका पोखरा–८ का ५० वर्षीय पुरुषको कथा पनि उस्तै छ ।

२४ गते कोरोना पोजेटिभ देखिएर अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताइरहेका थिए । तर, पोजेटिभ देखिएको ६ दिनपछि उनको उपचारकै क्रममा मृत्यु भयो ।
…..

माथि उल्ल्ेखित ४ प्रतिनिधि घटनामात्रै हुन् । पछिल्लो समय गण्डकी प्रदेशमा यस्तै प्रकृतिका विरामीको मृत्यु हुने संख्या डर लाग्दो स्थितिमा अगाडि बढिरहेको छ ।

घरमै बसिरहेका भर्खरका तन्नेरीदेखि यसअघि कुनै स्वास्थ्य समस्या नभएका बुढा÷बुढीसम्मलाई कोरोनाले ज्यान लिइरहेको छ ।

पहिलो लहरको तुलनामा दोस्रो लहरको बैशाख महिनामा मात्र कयौं गुणा तिव्र गतिमा कोरोना संक्रमणबाट मृत्यु भएको छ । ‘कोरोना संक्रमण सुरु भएको १६ महिनालाई हेर्ने हो भने सबैभन्दा खतरनाक विन्दुमा छौं । सबैभन्दा अप्ठेरो र कठिन अवस्थामा छौं,’ प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले भने, ‘यो जनचेतनाको कमीले भएको छैन, हेलचक्क्राइँको कारणले भएको छ ।

१६ महिनासम्म कोरोना लागेन अब केही हुँदैन भन्ने मानिसहरुको मानसिकताको सिकार घर परिवार र समाजका व्यक्तिहरु भइरहेका छन् ।’ गण्डकीमा पछिल्लो १० दिनमै ९४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

त्यसमध्ये १० दिनमा मृत्यु हुने कास्कीका मात्र ५१ जना छन् । वैशाखभरि गण्डकीमा १ सय ११ जनाको मृत्यु भएको छ ।

कास्कीमा कोभिडका कारण मृत्यु हुनेको संख्या वैशाखमा मात्र ५९ जना छन् । र, मृत्यु हुनेहरु अधिकांश युवाअवस्थादेखि र यसअघि कुनै स्वास्थ्य समस्या नभएका व्यक्तिहरु छन् ।

‘कोरोना संक्रमण दर हेर्दा हामी एकदमै जटिलतामा छौं । सामान्य रुपको देखिराखेको कोरोनाभन्दा धेरै फरक प्रकृतिको हामीले बेहोरिरहेका छौं,’ डा. शर्माले भने, ‘केही समय अघि १ सय ७४ वटा नमूना लिएर परीक्षण गर्दा १ सय ४ जनामा युके भेरियन्स देखिएको छ । त्योमध्ये पनि २७ जना ११ वर्षका बच्चामा देखिएको छ ।’

गण्डकी प्रदेशमध्ये पनि सबैभन्दा बढी जोखिममा राजधानी पोखरा छ । वैशाखमा मात्र कास्कीमा ३ हजार १ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् ।

जबकि चैत मसान्तसम्म कास्कीमा जम्मा ४ सय १६ जनामात्र संक्रमित थिए । जसमध्ये ५९ जनाको वैशाखमात्र मृत्यु भएको छ । कोरोना सुरु भएयता चैत मसान्तसम्म कास्कीमा मृत्यु हुनेको संख्या १ सय १५ जनामात्र थियो ।

वैशाख पहिलो हप्तासम्म ४ सय १६ जनामात्रै सक्रिय संक्रमित रहेको गण्डकी प्रदेशमा अहिले ७ हजार ३१ जना पुगिसकेको छ । मृत्यु हुनेको संख्या २ सय ७ जनाबाट बढेर ३ सय १८ जना पुगिसकेको छ । गण्डकीमा वैशाख महिनामात्र १ सय ११ जनाको मृत्यु भएको तथ्यांक छ ।

मर्नेहरुको संख्या उपचार नपाएरभन्दा पनि कोरोनाको नयाँ भेरियन्सको प्रकृतिका कारण धेरैको ज्यान गएको छ । ‘कतिबेला कसलाई जटिल स्वास्थ्य समस्या आइपर्छ, कतिबेला अक्सिजनको मात्र ह्यात्तै बढ्यो भन्ने जानकारी नै हुँदैन,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड फोकल पर्खन डा. शरद बरालले भने, ‘त्यसमाथि लागि हाले र गम्भीर स्वास्थ्य समस्या देखिए बेड पाइँदैन, अक्सिजनको अभाव हुन सक्छ । कोरोना लागिसकेर ठिक छ भनेको मान्छे पनि फ्याट्ट मरिरहेको छ । त्यसैले कोरोना लाग्नै नदिनु सबैभन्दा ठूलो रोकथाम हो ।’

गण्डकी प्रदेशमा वैशाखमात्र कोरोना संक्रमणको संख्या र मृत्यु दरले पनि नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ । ६ हजार ८ सय ६८ जना गण्डकीमा होम आइसोलेसनमा छन् । तर, जोखिम पनि उत्तिकै छ । घरमै संक्रमण भएर बसेको विरामीको प्रत्येक दिनको अवस्था कस्तो भन्ने अपडेट हुन्छ न सरकारले चेकजाँचको व्यवस्था नै मिलाउँछ ।

‘हामीले घरमा बसेका संक्रमितलाई फलोअप गर्न सकेका छैनौं । ४० आइसोलेसन बनाएका थियौं । तर, अहिले त्यो अवस्था छैन । सबै घर आइसोलेसन हुन्,’ डा. शर्माले भने, ‘अब घरमा रहेका त्यस्ता संक्रमितलाई कसरी छिटो र स्वास्थ्योपचार गर्नु प्रमुख चुनौति हो ।’

दोस्रो लहरको कोरोना जुनसुकै उमेर समूहमा पनि प्रवेश गर्ने, छिटो फैलिन र असर पनि धेरै गर्ने भएको चिकित्सकहरुको भनाइ छ । त्यसैले पछिल्लो समय संक्रमणको दर र मृत्यु पनि तीव्र रुपमा बढेको उनीहरुको भनाइ छ ।

गण्डकीमा बिहीमात्र १४ जनाको मृत्यु भयो । बुधबार अझ बढी १६ जनाको मृत्यु भएको थियो । २५ गते १२ जनाको ज्यान गएको गण्डकी प्रदेशमा २६ गते १३ जना र २७ गते फेरि १२ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्यकर्मीले यो संख्या अझै उकालो लाग्न सक्ने चेतावनी दिएका छन् । नयाँ प्रकृतिको कोरोना आउँछ भन्ने नसोचेका कारण अहिलेको जटिल अवस्था आएको डा. शर्माको भनाइ छ ।

‘अझै १ महिना यसरी उच्च दरमा बढ्न सक्छ,’ डा. शर्माले भने, ‘प्रत्येक दिन म बाँचे, मैले मेरो परिवारलाई पनि बचाउनु छ भनेर सोच्नुपर्ने बेला छ । प्रत्येकले सोच्नुपर्ने छ कि यो खेलाँची गर्ने बेला होइन ।’

तपाईको प्रतिक्रिया