माटोको ढिस्कोले पुरिएर बागलुङमा आमा छोराको मृत्यु

समाधान संवाददाता २०७८ वैशाख ३१ गते १६:३०

बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिनुभयो । घटना दिउँसो साढे दुई बजे भएको हो ।

मृत्यु हुने एकाघरका आमाछोरा रहेको प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।। अहिले इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका शव निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताए। शव परीक्षण गरी अन्त्येष्टिका लागि तयारी गरिएको बताइएको छ । मृतक भवीका श्रीमान् रोजगारीका क्रममा भारतमा रहेको परिवारले बताएको छ । उहाँका अरु दुई छोरा रहेको स्थानीयवासीले बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया