विवाह, पूजाका नाममा गम्भीर लापरवाहीः गाउँ नै बिरामी, धमाधम मृत्यु

समाधान संवाददाता २०७८ जेठ १ गते ९:०२

अमृत सुवेदी, पोखरा

गण्डकी प्रदेशका थुप्रै गाउँहरु अहिले संक्रमणको चपेटामा छन् । विवाह, पूजा, चौरासी, रुद्री, व्रतवन्धजस्ता सामाजिक संस्कारले सिंगो गाउँ नै संक्रमित छन् ।

सामाजिक संस्कारबाट फैलिएको कोरोनाले थुप्रै परिवारका सदस्यको ज्यान लिएपछि कतिपय गाउँ शोकमा छन् ।

Advertisement

विवाह भोजमा रमाएको बागलुङ बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजला गाउँ नै कोभिडमय छ ।

बेहुलाको परिवारका सदस्यको कोभिडले ज्यान लिएपछि उत्सव शोकमा परिणत भएको छ ।

Advertisement

वैशाख ११ गते जलजला धुरिडाँडामा विवाह भोजमा बेहुला बेहुलीका आफन्तसहित करिब १ सय जना सहभागी थिए । विवाहबाट फर्केको केही दिन नै केहीमा रुघा, खोकी ज्वरो देखिन थाल्यो ।

‘१७ गते बेहुलाको परिवारकै एक जनामा समस्या देखिएर धौलागिरि अस्पताल बागलुङ पु¥याएपछि स्वाब परीक्षण भयो । उनलाई कोरोना देखिएपछि अरुको पनि परीक्षण गरिएको हो,’ वडाध्यक्ष प्रेम गलामीले भने, ‘पछि ३० जनाको स्वाब परीक्षण गर्दा २५ जनाको पोजेटिभ देखियो । अहिले गाउँ नै बिरामी छ । गाउँ त्रसित छ ।’

त्यही विवाह भोजमा सहभागी भएका परिवारकै ३ जनाको ज्यान गइसकेको छ भने अन्य १ जना गम्भीर बिरामी भएर फेरि धौलागिरि अस्पतालमा भर्ना गरिएको छ । एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय छोराको ज्यान गएको छ ।

८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र हेलिकप्टरमार्फत पोखरा ल्याइएका ५१ वर्षीय छोराको उपचारको क्रममा मृत्यु भएको वडाध्यक्ष गलामीले जानकारी दिए ।

गाउँकै अर्का ७० वर्षीय पुरुषको बागलुङमा उपचार भइरहेको छ । वडाध्यक्षका अनुसार मृत्यु हुने बेहुलाले हजुरबा, जेठो बुवा र काइँला बुवा गुमाएका छन् । ‘गाउँका सबै मानिस त्रसित छन् । हामी मनोबल बढाइरहेका छौं । एकघरबाट अर्को घर नजान भनिरहेका छौं,’ अध्यक्ष गलामीले भने, ‘बागलुङमा निषेधाज्ञा त जारी नै छ ।’

बडिगाडको जलजलाजस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ झोबाङमा पनि सामाजिक रीतिरिवाजमा भेला भएका गाउँलेमा कोरोना संक्रमण देखिएको छ ।

वैशाख १७ र २४ गते गाउँमा ४ वटा विवाह भए भने २२ गते रुद्री र पूजा गरियो ।ती उत्सवमा सहभागीलाई कोरोना संक्रमण देखिएको हो । झोबाङमा २१ जनालाई संक्रमण देखिएको छ । थप ६० जनाको स्वाब परीक्षणका लागि पठाइएको छ ।

‘गाउँमा अहिले २ कारणले कोरोना संक्रमण फैलिइरहेको छ । एउटा विवाह, व्रतवन्ध, पूर्जा लगायतका संस्कार र अर्को नेताको अकर्मन्यबाट,’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले भने, ‘गाउँमा त्रास र थप संक्रमण फैलिन नदिन स्वास्थ्यकर्मीको टोली खटाएका छौं, एम्बुलेन्स तयारी अवस्थामा छ ।’

पोखरामै हप्तादिनअघि जन्मोत्सव मनाएका १७ जनामा कोरोना संक्रमण देखिएको थियो । प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार संक्रमितमध्ये १ जनामा गम्भीर समस्या देखियो र उपचारका क्रममा मृत्यु भयो ।

स्याङ्जा पुतलीबजार गाउँपालिका वडा नम्बर ६ को टक्सार गाउँको व्यथा पनि उस्तै छ । गाउँमा चौरसी पूजामा भेला भएकालाई धमाधम कोरोना संक्रमण देखिएपछि गाउँ नै आइसोलेसनमा रहेको पुतलीबजार नगरपालिका प्रमुख सीमा क्षेत्रीले जानकारी दिइन् ।

टक्सारमा सामाजिक तथा धार्मिक संस्कार सहभागी भएका ३० जनाको स्वाब परीक्षण गर्दा सबैजसोमा संक्रमण पुष्टि भएको छ । गाउँमा भएको चौरासी पूजामा कास्की र स्याङ्जाका आफन्त भेला भएका थिए । ‘भेला भएकामध्ये केहीलाई रुघाखोकी र ज्वरो देखियो ।

परीक्षणमा २७ जनालाई कोरोना देखियो । अहिले सिंगो गाउँ नै त्रसित भएपछि स्वास्थ्यकर्मीको टोली नै गाउँमा खटाइएको छ, एम्बुलेन्स पनि गाउँमै राखेका छौं,’ मेयर क्षेत्रीले भनिन्, ‘अहिले धेरै गाउँमा कोरोना संक्रमण फैलिने मुख्य कारण विवाह, पूजा व्रतवन्ध जस्ता सामाजिक रीतिरिवाज बनेका छन् ।’

भारतको कुम्भ मेलामा सहभागी भएर फर्किएपछि स्याङ्जा वालिङमा १ संक्रमित हिँड्दाहिँड्दै ढलेका थिए । उनमा कोरोना परीक्षण पोजेटिभ देखिँदासम्म गाउँका धेरैमा संक्रमण फैलिइसकेको थियो ।

फेदीखोलामा १ महिलाको हालै कोरोना संक्रमणबाट ज्यान गयो । उनी विवाहमा सहभागी भएर तराइबाट फर्किएको जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जा प्रमुख विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।

‘स्याङ्जाका थुप्रै गाउँहमा कोरोना फैलिनुको मुख्य कारण सामाजिक संस्कार भएको छ । पहिले गाउँमा कोरोना थिएन । सहर, बजार हुँदै संक्रमणको हटस्पटबाट आउजाउ भएपछि गाउँ गाउँमा संक्रमण फैलियो,’ जनस्वास्थ्य प्रमुख सुवेदीले भने, ‘गाउँमा १ जनालाई मात्र कोरोना छ र भेटघाट जारी राख्यो भने सिंगो गाउँमै कोरोना देखिन सक्छ ।’

कोरोनाले आफन्त, समाज र साथीभाइ भन्दैन नभन्ने भएकाले स्वयं अनुशासनमा बस्नुको विकल्प नभएको उनको भनाइ छ ।

अस्पतालबाट फर्किनेलाई सोध्नुस् कोरोना र मृत्युको डर के हो ः डा. शर्मा

अहिले गण्डकी प्रदेशका सबैजसो जिल्लामा निषेधाज्ञा छ ।स्वास्थ्य मापदण्ड कायम गरेर १० जनाभन्दा बढी हुन नहुने गरी आफ्नै घरमा सामाजिक तथा धार्मिक संस्कार गर्न प्रशासनले निर्देश गरेको छ । तर, प्रशासनको निषेधाज्ञालाई बेवास्ता गर्दै जमघट हुँदा संक्रमणको दर बढिरहेको छ ।यसरी मृत्युलाई निमन्त्रणा दिने काम भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्मा बताउँछन् ।

‘कोरोना केही होइन, १६ महिनासम्म खै मलाई केही पनि भएन । सहरमा पो डर, गाउँमा केको डर जस्ता कुरा गरेर हेलचेक्याइँ नगरौं,’ डा शर्माले भने, ‘हामी निकै डरलाग्दो र खतरनाक विन्दुमा आइपुगेका छौं । यो बेला घरमै बसिदिनुस्, अवश्य बाँचिनेछ र फेरि रमाउँला, फेरि मनाउँला उत्सव ।’

कोरोना केही होइन भनेर भन्नेलाई दोस्रो लहर देखिएर अस्पताल पुगेर फर्किएकालाई सोध्न शर्माको अनुरोध छ । ‘कोरोना के हो भनेर अस्पताल पुगेर फर्किएका आफन्त वा साथीभाइलाई सोध्नुस्,’ शर्माले भने, ‘उसले दायाँ फर्किँदा पनि मृत्यु र बाँया फर्किँदा पनि मृत्युलाई देखेर फर्किएको पाउनुहुनेछ ।’

विवाह, व्रतवन्ध, पूर्जा जस्ता सामाजिक तथा धार्मिक संस्कारले गाउँसम्मै कोरोनालाई पु¥याइएको डा. शर्माको भनाइ छ । दोस्रो भेरियन्टको प्रभाव नेपालमा होला भन्ने नसोचिएको अवस्थामा जसरी नेपालमा फैलियो, गम्भीर नभए त्यसरी नै परिणाम पनि नसोचेको आउन सक्ने डा. शर्माले चेतावनी दिए ।

प्रत्येक दिन म बाँचे, मेरो परिवारलाई सुरक्षित राख्न सकें भनेर प्रत्येक मान्छेले सोंच्ने बेला आएको शर्माको भनाइ छ । ‘यो हेलचेक्क्राइँ गर्ने बेला होइन, यो खुसी मनाउने बेला होइन,’ शर्माले भने, ‘अवस्था सोंचेभन्दा फरक छ ।’

तपाईको प्रतिक्रिया