प्रेस चौतारीका केन्द्रीय सदस्य पत्रकार कार्कीको निधन

समाधान संवाददाता २०७८ जेठ २ गते १०:०५

रासस, काठमाडौं

नेपाल प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत रहेका जनताटाइम्स डटकमका सम्पादक शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण निधन भएको छ । उनी ३४ वर्षका थिए । कार्की नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष पनि हुन् ।


वैशाख १९ गते संक्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार साँझ ८ः०० बजे निधन भएको हो । झापा स्थायी घर भएका कार्की विगत डेढ दशकदेखि काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । कार्कीले यसअघि सौर्य दैनिकमा सहसम्पादकको जिम्मेवारी सम्हालेका थिए ।

Advertisement


नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी स्वर्गीय पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कार्कीको निधनबाट स्तब्ध भएको उल्लेख गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको छ भने ७५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया