कोरोना संक्रमणले रमेश कर्माचार्यको निधन

समाधान संवाददाता २०७८ जेठ १३ गते १०:४४

समाधान संवाददाता, पोखरा

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्मचार्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट काठमाडौंको निदान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

२० दिनअघि कोरोना संक्रमणबाट अस्पताल भर्ना भएको उनका काका ईश्वर कर्माचार्यले जानकारी दिए । परिवारका अन्य सदस्यसहित उनलाई पनि कोरोना देखिएको थियो । परिवारका अन्य सदस्यकाे रिपाेर्ट नेगेटिभ आइसकेको परिवार स्रोतले जनाएको छ ।

Advertisement

‘कोरोना पोजेटिभ देखिएर धेरै ज्वरो आएपछि ३ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेको थियो,’ काका ईश्वरले समाधानलाई जानकारी दिए, ‘आज बिहान उपचारकै क्रममा निधन भयो । रमेश निकै क्रियाशील, ऊर्जावान र सामाजिक व्यक्ति थिए ।’ रमेश ०६९ देखि ७१ सम्म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष थिए । उनी हिमजुली विकास बैंकको अध्यक्ष पनि थिए भने लुम्बिनी विकास बैंकको सञ्चालक थिए ।

उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीव कोइरालाले पोखराकै पुराना कपडा व्यवसायीमध्येका कर्मचार्य पोखराको बैंकिङ क्षेत्रमा पनि अगुवा भएको बताए । ‘पोखरा उद्योग वाणिज्य संघको स्थापनादेखि संस्थागत विकासका लागि उहाँको परिवारकै योगदान छ,’ कोइरालाले भने, ‘उहाँको निधनले पोखराले नै क्षति बेहोरेको छ ।’

Advertisement

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखेले आफूले एक असल दामली र पोखराले व्यावसायिक हितमा लागेको अगुवा गुमाएको बताए । ‘हामी विद्यालय सँगै पढेका थियौं । उहाँको बाउबाजेकै पालादेखि पोखराको विकासमा योगदान छ,’ पालिखेले भने, ‘उहाँको निधनले विक्षिप्त छु ।’ उनको बाउबाजे ‘श्याम साहु’का नामले पोखराकै चर्चित थिए । कर्माचार्यको पोखराकै पुरानो कपडा व्यवसाय थियो ।

‘पोखरो औद्योगिक, शैक्षिक, बैंकिङ लगायतका क्षेत्रमा उहाँको योगदान थियो,’ पालिखेले भने, ‘पोखराको उद्योग वाणिज्य संघको स्थापनाकालदेखि नै उहाँको परिवारले विशेष योगदान पु¥याएको हो ।’ रमेशका बाजे कृष्णप्रसाद कर्माचार्य पनि पोखरा उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष थिए।

रमेशको व्यावसयिक प्रतिष्ठानले पोखराको उत्कृष्ठ व्यवसायीको पुरस्कार पनि पाएको थियो । लायन्स क्लब अफ लेक सिटीका पूर्व अध्यक्षसमेत रहेका रमेशका २ छोरा र श्रीमती छन् ।

तपाईको प्रतिक्रिया