१० दिनमा १०० बेडको अस्पताल तयार

समाधान संवाददाता २०७८ जेठ १४ गते १०:४८

पोखरा महानगरपालिकाले एउटा भवनलाई झटपट खाली गराएर अस्पताल बनाएको छ, त्यो पनि चिनिया गतिमा अर्थात १० दिनमा १०० बेड ।

केशव शरण, पोखरा
चीन सरकार पहिल्यै कुनै काम घोषणा गरेर सुरु गर्दैन । काम सकेपछि मात्रै घोषणा गर्छ । जस्तो कि हङकङ र मकाउलाई मेनल्यान्ड चीनको सहर झुहाईलाई जोड्ने पुल ।

समुद्रमाथि ५५ किलोमिटर लामो यो विश्वकै सबैभन्दा ठूलो पुल हो । अर्काे त्यस्तै सुटुक्क भएको काम थियो बेइजिङमा डासिङ अन्तर्राष्ट्रिय विमानस्थल । जुन १०० वटा फुटबल मैदान बराबर ठूलो छ ।

Advertisement

तर, कोरोना भाइरस उद्गम स्थल वुहान सहरमा चीन सरकारले १० दिनमै १ हजार बेडको अस्पताल तयार गर्ने घोषणा ग¥यो । यो समाचार थुप्रैले पत्याएनन् । तर, जब चिनिया सरकारले आफ्नो तागत देखाउँदै अस्पताल बनायो, विश्व चकित खायो ।

यस्तो त कुनै देशले गर्न सक्दैन भन्ने समाचार आउँदा आउँदै फेरि चीनले ह्वाङग्याङ प्रान्तमा एउटा खाली भवनलाई २ दिनमै १००० बेडको अस्पताल भवनमा परिणत गरिदियो ।

Advertisement

उक्त भवनको निर्माण सम्पन्न भए पनि खाली थियो तर कोरोना भाइरसका बिरामीको उपचारका लागि अस्पताल बनाउनुपर्ने अवस्था आइपरेपछि रातारात उक्त भवनमा अस्पतालका उपकरण खडा भए । भवनमा विद्युत, पानी, इन्टरनेट लगायत सुविधा दिनरात गरी २ दिनमै जोडिए ।

चीनले ह्वाङग्याङ प्रान्तमा खाली भवनलाई तुरुन्ता तुरुन्तै अस्पताल बनाए झैं पोखरा महानगरपालिकाले पनि कार्यालय चलिरहेको एउटा भवनलाई झटपट खाली गराएर अस्पताल बनाएको छ, त्यो पनि चिनिया गतिमै १० दिनमा १०० बेड ।

साविक लेखनाथ नगरपालिकाको कार्यालय रहेको भवनलाई पोखरा महानगरपालिकाले अक्सिजन सुविधासहितको अस्पताल बनाएको हो । जेठको ५ गते सम्झौता गरी अर्काे दिनबाट निर्माण सुरु कोभिड अस्पताल १४ गते शुक्रबार उद्घाटन हुँदैछ ।

कोठा कोठामा बिरामीका लागि बेड फिट भएका छन् । बेडबेडमा अक्सिजन पाइपलाइन जडान भएको छ । धेरै सिलिन्डर राखेर सबै बिरामीकहाँ एकैचोटि अक्सिजन पु¥याउन मिल्ने सुविधा बनेको छ । उत्पादित फोहोर निर्मलीकरण गर्ने अटोक्लब आइसकेको छ ।

फार्मेसी भवन तयार भइसकेको छ । नयाँनयाँ शौचालयहरु थपिएका छन् । बिरामी आउने जाने बाटो छुट्टै छ, डक्टर र स्वास्थ्यकर्मीहरु आउने जाने छुट्टै प्रवेशद्वार बनाइएको छ ।

डक्टर र नर्स लगायत स्वास्थ्यकर्मी बस्ने कोठा तयार छन् । उनीहरु फर्किँदा लुगाफाटो फेर्ने र पिपिई लगाउने तथा स्नान गर्ने डफिङ भवन पनि बनिसकेको छ । ¥यामहरु बन्दैछन् ।

पोखरा महानगरपालिका र लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ बि वानको संयुक्त पहलमा कोभिड अस्पताल बनेको हो । लायन्सले बेड, मेट्रेस, पर्दा, पानी तताउने सोलार, अक्सिजन कन्सन्ट्रेटर लगायत सामानहरु लायन्सले जुटाएको र अरु भौतिक पूर्वाधार महानगरपालिकाले तयार पारेको मेयर मानबहादुर जिसीले जानकारी दिए ।

महानगरपालिका मातहतकै शिशुवा अस्पताल अन्तर्गत कोभिड उपचार केन्द्र बनेको हो । साविक लेखनाथ नगरपालिकाको कार्यालय भवनमा चल्दै आएका वडा नम्बर २७ को कार्यालय भाडामा सारिएको जानकारी पनि मेयर जिसीले दिए ।

शिशुवा अस्पतालमा २५ बेड कोभिडका लागि बनाएको र अहिले तयार पारिएका गरी १०० बेड पूरा हुने मेयर बताउँछन् । ‘गर्न चाह्यो भने चीनमा मात्रै होइन, हाम्रै नेपालमा पनि १० दिनमा १ सय बेडको अस्पताल बन्दो रहेछ,’ मेयर जिसी भन्छन्, ‘जनतालाई उपचार गर्न कुनै कसर बाँकी नराखौं भनेर आँटेका हौं, सफल भएका छौं ।’
शिशुवा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) प्रतिभा कोइरालाका अनुसार कोभिड उपचार केन्द्रमा सामान्य र मध्यम खाले बिरामीको उपचार गरिनेछ ।

‘रेफर गर्नुपर्नेहरुलाई अरु अस्पताल पठाउँछौं,’ उनले भनिन् । लायन्स क्लबले यहाँ भेन्टिलेटर पनि जडान गर्दैछ । हाइफ्लो अक्सिजन बेड पनि तयार हुँदैछ । महानगरपालिका भित्रै चिकित्सक र स्वास्थ्यकर्मीहरु कोभिड उपचार केन्द्रमा खटिने जानकारी उनले दिइन् । मेयर जिसीका अनुसार महानगरपालिका भित्रका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रका ४७ युनिटमा गरी ७ सयजना स्वास्थ्यकर्मी छन् । ८ जना चिकित्सक महानगरपालिकाकै छन् ।

४ जना बुधबारदेखि करारमा भर्ना गरिएको छ । १ जना पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले पठाउने भएको छ । यिनै मानव संसाधनबाट आलोपालो गरी ड्युटी गरिने कोइरालाले सुनाइन् ।

लायन्स क्लब इन्टरनेसलन ३२५ बि वानका पूर्व गभर्नर धनराज आचार्य विपतका बेला आवश्यक अस्पतालका लागि सबैखाले सहयोगका लागि क्लब तयार रहेको बताउँछन् । अस्पताल निर्माण समितिको सहजकर्ता र सल्लाहकार रहेका आचार्यले भने, ‘बेडहरु सबै हामीले ल्यायो, बेडसिट, मेट्रेसहरु उपलब्ध गरायौं, अक्सिजन कन्सर्नट्रेटर ल्यायौं । आवश्यक पर्छ भने अरु पनि सामान उपलब्ध गराउन तयार छौं ।’ फोहोर निर्मलीकरण गर्ने अटोक्लेब मेसिन पनि लायन्सले कोभिड उपचार केन्द्रलाई उपलब्ध गराएको हो । पोर्टेबल अक्सिजन मेसिन, हाइफ्लो अक्सिजन उपकरण पनि लायन्सले दिएको छ ।

कोभिड उपचार केन्द्रका लागि लायन्सले मोहनबाबु खड्का संयोजकत्वमा समिति बनाएर काम गरिरहेको आचार्यले जानकारी दिए ।

कोभिड उपचार केन्द्र नाम दिएर यो अस्पताल निर्माण गर्न महानरपालिकाले भौतिक निर्माणको काम लागि ३ दिन सूचना निकालेको थियो । सूचना अनुसार ५ जेठमा अटोकन्र्सन प्रालिसँग ठेक्का सम्झौता भएको हो । उसले त अझ ५ दिनभित्रै काम सक्ने भनेको थियो । तर लगभग १० दिनमा निर्माण पूरा भएको छ ।

सय बेड क्षमताको कोभिड उपचार केन्द्र अहिलेका लागि मात्रै नभएको मेयर जिसी बताउँछन् । ‘अहिले दोस्रो वेभ आएको छ, के थाहा भोलि ३, ४, ५ कति कति वेभ आउने हुन्, त्यति बेला पनि चाहिन्छ,’ उनले भने, ‘अस्पताल त जनतालाई त्यसपछि पनि चाहिन्छ, यहाँ महानगरपालिकाले भोलिका दिनमा पनि अस्पताल नै चलाउँछ ।’ शिशुवा अस्पताल मातहत राखेर बिएस्सी नर्सिङ कलेज चलाउने योजना महानगरपालिकासँग रहेको मेयर जिसी बताउँछन् ।

तपाईको प्रतिक्रिया