पालुङटारमा रोग प्रतिरोधात्मक औषधी

समाधान संवाददाता २०७८ जेठ २३ गते ७:०९

गोरखा, २१ जेठ

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकी प्रदेशले संयुक्त कार्यक्रममार्फत गोरखाको पालुङटार नगरपालिका मातहतको आयुर्वेद औषधालयलाई औषधि हस्तान्तरण गरेको छ ।

स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड–१९ प्रोटोकलअनुसारको औषधि औषधालय शाखा प्रमुख हितकाजी श्रेष्ठ, उपमेयर पम्फा बसेल र प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मालाई हस्तान्तरण गरिएको हो । नगरपालिकाभित्र रहेका संक्रमितहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पु¥याउने गुण भएका औषधि उपलब्ध गराइएको स्वयंसेवक उपसमिति संयोजक कृष्ण राउतले जानकारी दिए ।

Advertisement

गुड्ची चूर्ण, यष्टीमधु चूर्ण, त्रिकटु चूर्णलाई मिश्रण गरी खल विधिबाट तयार गरिएको आयुर्वेद औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्ने संघका सचिव एवं आयुर्वेद चिकित्सकीय परामर्श उपसमिति संयोजक डा दीपक भुसालले बताए ।

तीन भाग गुर्जो, दुई भाग यष्टी मधु र एक भाग त्रिकटु चूर्णको मिश्रणबाट तयार आयुर्वेद औषधिको सेवनले शरीरलाई समानरुपले इम्युन बढाउन सहयोग पु¥याउने उनले सुनाए । सामान्य लक्षण देखिएकादेखि गम्भीर प्रकृतिका कोरोना संक्रमितले उक्त औषधि क्वाथ विधि (पकाएर) वा मनतातो पानीमा घोलेर सेवन गर्न उनको सुझाव छ ।

Advertisement

संघले गण्डकी प्रदेशमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र विपन्न नागरिकका लागि आयुर्वेद औषधि निशुल्क वितरण गरिरहेको अध्यक्ष राजुकुमार पौडेलले जानकारी दिए । सोही अभियानलाई निरन्तरता दिँदै गोरखा आइपुगेको उनले बताए ।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकीका अध्यक्ष प्रकाश क्षेत्रीले आयुर्वेद व्यवसायीसँगको समन्वयमा सकारात्मक अभियान थालनी गर्न पाउँदा खुसी लागेको बताए ।
संघको सहयोगप्रति पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले धन्यवाद व्यक्त गरे । आयुर्वेद औषधिको गुण र महत्वलाई नगरपालिकाले आत्मसाथ गर्दै संक्रमितहरुलाई सेवनका लागि हातहातमा पु¥याइने उनले बताए ।

नगरपालिकाकी उपमेयर पम्फा बसेलले संक्रमितहरुलाई औषधिसँगै मनो परामर्श सेवा पनि आश्वयक महशुस गरेको सुनाइन् । कोरोनालाई परास्त गर्न मनोवैज्ञानिक रुपमा पनि मजबुद हुन सक्नुपर्ने उनले बताइन् । आयुर्वेद औषधि नगरपालिकाको तर्फबाट वितरण भइरहेकोमा संघले थप सहयोग दिँदा उपमेयर बसेलले अभियानप्रति खुसी व्यक्त गरिन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले कोरोनालाई सामान्य रुपमा लिँदा कतिपयले होम आइसोलेसनमै ज्यान गुमाएको बताए । रोग प्रतिरोध क्षमता बढी भएकाको हकमा छिटै निको हुने हुँदा आयुर्वेद औषधिको सेवनले मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । महामारीमा आफ्नो कर्तव्य सम्झेर संघले सेवा पु¥याएको भन्दै शर्माले आयुर्वेद औषधिको दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा संगम आयुर्वेद फर्मा डुम्रेका सञ्चालक सुवास थापा, स्पर्श आयुर्वेद अस्पताल पोखराका गजेन्द्र थापा, संघका कोषाध्यक्ष रमेश चापागाई, पालुङटार आयुर्वेद औषधालयका प्रमुख तथा वरिष्ठ कविराज निरीक्षक हितकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो । संघले सचिव डा दीपक भुसालको संयोजकत्वमा प्रदेशभित्र संक्रमितहरुको स्वास्थ्य अवस्था र मनोबल मजबुद बनाउनका लागि स्वास्थ्य परामर्श सेवासमेत सञ्चालन गरेको छ ।

तपाईको प्रतिक्रिया