मुस्ताङीको सहयोगमा गाउँगाउमा कोरोना परीक्षण

समाधान संवाददाता २०७८ जेठ २७ गते १४:१३

सुन्दरकुमार थकाली \ जोमसोम

प्रवासमा बस्ने मुस्ताङीको आर्थिक सहयोगमा मुस्ताङमा कोरोना परीक्षण सुरु गरिएको छ । कोरोना माहामारीमा संघ, प्रदेश र स्थानीय तहले पर्याप्त किट नपठाएपछि घरपझोङ—४ घर भई हाल युके बस्दै आईरहेका शैलेन्द्र शेरचन र शर्मिला शेरचन दम्पतीले पठाएको ५० हजार ,घरपझोङ—४ निवासी छिरिङ गुरुङले ४० हजार र मनकुमारी शेरचनले १० हजार गरी कुल १ लाखको ४ सय थान एन्टिजेन किट खरिद गरी परीक्षण सुरु गरिएको घरपझोङ गापाले जनाएको छ ।
यस्तै ,गाउँपालिकाको अन्य वडाहरुमा समेत प्रवासमा बस्ने मुस्ताङीको आर्थिक सहयोगमा धमाधम कोरोना परीक्षण सुरु गरिएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र थासाङ गापामा समेत प्रवासी मुस्ताङीका आर्थिक सहयोगमा कोरोना परीक्षण गरिएको बताईएको छ ।प्रवासी मुस्ताङी र अन्य संघसंस्थाको सहयोगमा स्थानीय तहले परीक्षण किट खरिद गरेपछि स्थानीय तहका स्वास्थ्यकर्मीलाई गाउगाउमा खटाईएको हो ।
मुस्ताङको ५ स्थानीय तह मध्ये कोरोनाको “हट स्पट’ बन्दै आएको वारागुङ मुक्तिक्षेत्र ,घरपझोङ र थासाङ गाउँपालिकाका विभिन्न वडाहरुमा सम्वन्धित स्थानीय तहका प्रवासी मुस्ताङी र संघसंस्थाको सहयोगमा “एक घर एक एन्टिजेन परीक्षण’को अवधारणा अनुरुप कोरोना परीक्षण सुरु गरिएको जनाईएको छ । पछिल्लो समय मुस्ताङमा प्रवासी मुस्ताङी तथा संघसंस्थाले जन्मथलो मुस्ताङमा कोरोना परीक्षणका पैसा पठाएपछि जिल्लामा कोरोना परीक्षण सहज भएको हो । उनीहरुले कोरोना रोकथाम तथा कोरोना पीडित बिरामीका लागि अक्सिजन,अक्सिजन कन्सल्ट्रेटर र कोभिड स्वास्थ्य सुरक्षा समाग्री उपलब्ध गराईएकाले कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुगेको बताईएको छ ।
कोरोना “हट स्पट’ बनेका मुस्ताङका तीन स्थानीय तहको स्वास्थ्य शाखाहरुले गाउँगाउँमा कोरोना परीक्षण सुरु गरेका हुन् । यसअघि कोरोना संक्रमण देखिए समाजमा अपेहेलित र हिनताबोध हुने डरले रोग लुकाएर बस्ने प्रवृद्धिको अन्त्य गर्दै मुस्ताङ गाउँगाउँमा स्वतः स्फूर्त रुपमा स्थानीय कोरोना परीक्षणका लागि जुटेको घरपझोङ गाउँपालिकाको स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले बताए। कोरोना रोकथाम तथा नियन्त्रणका लागि शाखाले पहिलो प्राथमिकता परीक्षण र दोश्रोमा व्यवस्थापनमा जोड दिएको स्वास्थ्यल संयोजक थकालीको भनाई छ ।
कोरोना भाइंरसको दोश्रो लहरसंगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा गत बैशाख १६ गते देखि आंिशक कोरोना परीक्षण सुरु गरिएको थियो । जिल्ला अस्पताल जोमसोम र जिल्ला स्वास्थ्य कार्यालयले सीमित मात्र एन्टिजेन किट उपलब्ध गराएकाले कोरोना परीक्षण पर्याप्त बन्न सकेको थिएन भने कोरोना लक्षण देखिएका बिरामी समेत खुल्न नसक्ने भएकाले समस्या पर्दैआईरहेको थियो ।

घरपझोङ गाउँपालिकाकी महिला सदस्य भुवन शेरचनले कोरोना परीक्षणको दायरा फराकिलो पार्न संघ तथा प्रदेश सरकारले कुनै योगदान गर्न नसकेको बताईन् । उनले ढिलै भएपनि आफ्नो जन्मथलो मुस्ताङको स्वास्थ्य चिन्ता जाहेर गर्दै आर्थिक सहयोग गरेकाले वडावडा तहमा कोरोना परीक्षणमा सहयोग पुगेको उनले उल्लेख गरिन् ।
मुस्ताङका स्थानीय तहले जिल्ला स्वास्थ्य कार्यालय र अस्पतालको समन्वयमा गाउँगाउँमा कोरोना परीक्षणका लागि स्वास्थ्यकर्मी खटाएका छन् । कोरोनाको दोश्रो भेरियन्टसंगै मुस्ताङमा ४ स्थानीय तहमा ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १ सय ९८ जनाले कोरोना जितेका छन् ।

Advertisement

यस्तै कोरोनाका कारण मुस्ताङमा २४ जनाको जिल्लामा उपचार हुन नसकि हेलीकोप्टर मार्फत पोखरा उद्दार गरिएको छ भने हालसम्म १३ जनाले ज्यान गुमाएका छन् ।
मुस्ताङमा कोरोना भाईरस संक्रमित बिरामीको उपचारका लागि जिल्लामा आईसियु र भेन्टिलेटरको सुविधा नभएको ,स्वास्थ्य जनशक्ति न्युन रहेको ,जिल्लामा पर्याप्त एम्बुलेन्स र सडकको दुरअवस्था रहेकाले गम्भिर संक्रमितको उपचारमा असहज हुने भन्दै जिल्ला सिसीएमसीले गत बैशाख ३१ गते निरन्तर निषेधाज्ञा जारी गर्दैआईरहेको छ ।जिल्ला सिसीएसमीले कोरोना रोकथा तथा प्रतिकार्यका लागि निषेधाज्ञा लगाउन परेको बताएको छ ।

यता ,मुस्ताङका ४ वटै स्थानीय तहले अक्सिजनसहितको कोभिड अस्पताल संञ्चालनमा ल्याएको जनाएकोे छन् । मुस्ताङको ५ स्थानीय तह मध्ये ४ स्थानीय तहमा कोरोना संक्रमण देखिएपनि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा अझै कोरोना सुन्य रहेको सो पालिकाले बताएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया