सडक मापदण्डका घर—टहरा धनीलाई क्षतिपूर्ति दिईने

समाधान संवाददाता २०७८ जेठ २८ गते १३:१४

एसके थकाली \जोमसोम

राष्ट्रिय गौरवको आयोजना , कालिगण्डकी करिडोरको बेनी—जोमसोम ७६ किमी सडक मापदण्डमा पर्ने घर—टहरा धनीलाई “आर्थिक सहायता राहत’ स्वरुप क्षतिपूर्ति प्रदान गरिने भएको छ ।

यसअघि कालिगण्डकी करिडोर सडक आयोजनाले बेनी—जोमसोम सडकखण्डको मापदण्डमा पर्ने अस्थाई र स्थायी संरचना निक्र्योल गर्नका लागि २०७५ साल भदौमा मार्किङ गरी रेजा लगाउने काम गरेकोमा त्यसको साँढे २ वर्षपछि क्षतिपूर्ती उपलब्ध गराउने प्रक्रिया अघि बढाईएको हो ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम —कोरला सडकखण्डको मापदण्डमा पर्ने संरचना हटाउन भौतिक तथा पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्ष ३ करोड बजेट बिनियोजन गरेको करिडोर सडकका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिए । राष्ट्रिय राजमार्गमा पर्ने संरचना हटाउन उपलब्ध बजेट अपुग भएमा आगामी आर्थिक वर्षमा थप बजेटको सुनिश्चिता गरिने उनले बताए ।

Advertisement

कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडक आयोजनाले मापदण्डमा पर्ने घर—गोठ—टहरा लगायतको क्षतिपूर्ति उपलब्ध गराउने उद्देश्यले यसको प्राविधिक मूल्याङकन गरी लागत÷स्टमेट समेत तयारी गरीसकेको जनाएको छ । आयोजनाले बैशाख ३० गते सूचना प्रकाशित गरी मापदण्डमा पर्ने घरटहराको सूची प्रकाशित गर्दै १५ दिन भित्र कार्यालयको सम्पर्कमा आउन समेत अल्टिमेटम दिएको थियो ।

राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकखण्डको मापदण्डमा पर्ने संरचनाको क्षति पूर्ति उपलब्ध गराउन २०७५ सालमा प्रजिअको संयोजकत्वमा करिडोर ,मालपोत र नापी कार्यालयको प्रतिनिधि रहने गरी क्षतिपूर्ति निर्धारण समिति बनेको थियो । राष्ट्रिय गौरवको कोरला सडक अन्तिम चरणमा आईपुग्दा मुस्ताङमा जेठ १९ गते र म्याग्दीमा जेठ २४ गते क्षतिपूर्ति निर्धारण समितिको बैठक बसेको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिईन् ।

Advertisement

प्रजिअ पौडेलले भनीन“ बेनी—जोमसोम सडकको मापदण्डमा पर्ने संरचनाको क्षतिपूर्ती तथा विवरण संकलन गर्नेकार्य अन्तिम चरण पुगेको छ । केही सरचना धनीको नाम छुटेको भन्ने छ भने केहीको सामान्य कन्फुजम छ । मापदण्डमा पर्ने संरचना धनीको अन्तिम भेरीफाई गरेर क्षतिपूर्ती दिने काम अघि बढाउछौं ।’
कालिगण्डकी करिडोर सडकले सार्वजनिक गरेको सूचनामा बेनी—जोमसोम सडकखण्डको मुस्ताङ खण्ड अन्तर्गत थासाङ गापाको घासा देखि जोमसोमसम्मको ३४ दशमलव ५ किमी सडक मापदण्डमा पर्ने ९८ घर—टहराको अन्तिम नामावली प्रकाशन गरेको छ ।करिडोरका अनुसार बेनी—जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ—४ घाँसा देखि कैकु खोलासम्म १७ घर—टहरा ,कैकु खोला देखि कोवाङसम्म ४७ घरधुरी मापदण्डमा परेका छन् ।

यस्तै ,कोवाङ देखि जोमसोमसम्मको १८ किमी सडकमा ३४ घरधुरी मापदण्डमा परेका छन् । कोवाङ देखि जोमसोमसम्मको ३४ घरधुरी मध्ये करिव २ दर्जन घरधुरी सदरमुकाम जोमसोमको मापदण्डमा परेको जनाईएको छ ।

तर ,राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक अन्तर्गत मुस्ताङको थासाङ—१ टुकुचेमा सडक मार्ग सम्वन्धि विवादले मापदण्ड कायम गर्ने काम रोकिएको छ । स्थानीयले बस्ती भित्रबाट सडक बिस्तार गर्दा दर्जनौ घर—टहरा विस्थापित हुने भन्दै वैकल्पिक मार्गबाट सडक बिस्तार गर्न करिडोरलाई माग गरेका छन् ।करिडोरले स्थानीयको विवादका कारण अस्थायी रुपमा बस्ती बाहिरबाट सडक बिस्तार गरेको जनाएको छ ।

करिडोरले सडक बिस्तारका क्रममा स्थानीय प्रशासन ,जनप्रतिनिधि र स्थानीयबासीले सहयोग नगरेको आरोप लगाएको छ ।
कालिगण्डक करिडोरले उत्तरी—चिनसंग दीर्घकालिन व्यापारीक मार्ग बिस्तार गर्ने उद्देश्यले साविक सडकको मध्य बिन्दुबाट केन्द्र मानेर दायाँ÷बायाँ ६—६ मिटर ओगट्ने गरी सडक चौडा गर्न थालेको हो ।

चालु आर्थिक वर्षभित्रै मापदण्डमा परेका घर—टहराको क्षतिपूर्ती उपलब्ध गराएर मापदण्डमा परेका बस्तीमा सडक बिस्तारमा जोड दिने करिडोरको योजना छ ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक अन्तर्गत कुल ११ प्याकेजको ७५ प्रतिशत भौतिक प्रगति भएको करिडोरले जनाएको छ ।

बेनी—जोमसोम ७६ किमीको ६५ प्रतिशत र जोमसोम —कोरला १ सय १० किमी सडकको ९० प्रतिशत भौतिक प्रगती हुँदा जोमसोम— कोरला ७ प्याकेज मध्ये ४ प्याकेजको काम सम्पन्न भईसकेको छ ।

तपाईको प्रतिक्रिया