६२ बाढी पहिरो प्रभावितलाई राहत

समाधान संवाददाता २०७८ असार ५ गते ७:२७

समाधान संवाददाता, पोखरा

नेपाल रेडक्रस सोसाइटी कास्कीले मनसुनी वर्षातको कारण आएको बाढी पहिरो प्रभावित ६२परिवारलाई राहत वितरण गरेको छ । रेडक्रसले कास्कीको मादी, अन्नपूर्ण, माछापुच्छे« र पोखरा महानगरपालिका क्षेत्रका २९ परिवारलाई पूर्ण र ३३ परिवारलाई आंशिक राहत प्रदान गरेको सभापति डोलराज पाण्डेले जानकारी दिए ।

असल छिमेकी सहयोग संघ (गोनसा) पोखराले शुक्रबार बाढी प्रभावित परिवारलाई २८ थान त्रिपाल वितरण समारोहमा सभापति पाण्डेले जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको निर्णय अनुसार रेडक्रसले ५ सय परिवारलाई राहत दिनेगरी व्यवस्थापन गरेको उल्लेख गरे ।

Advertisement

‘मनसुनी वर्षात् बढी हुने भएको कारण यो बर्ष बढी जटिल हुने देखिएको छ,’ सभापति पाण्डेले भने, ‘वर्षात बल्ल सुरुआत भएको छ । पूर्व आंकलन थियो । रेडक्रसले पूर्व तयारी अपनाएको छ ।’ उनले विपद् तथा मानवीय सेवामा काम गर्ने रेडक्रससँग आफ्नै छुट्टै कोष नभएको जानकारी दिए । सभापति पाण्डेले सबै सहयोगीसंग लिएर दुख पर्नेलाई राहत दिने गरेको उल्लेख गरे । उनले ५० परिवारलाई जति खेरपनि राहत दिन सक्ने बताए ।

पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले प्राकृतिक प्रकोप लगायतका विपतलाई रोक्न नसकेपनि आवश्यक पूर्व तयारी अपनाएको खण्डमा जोखिम कम गर्न सकिने उल्लेख गरिन् । उनले जहाँ विपद् त्यहाँ रेडक्रस भन्ने नाराका साथ रेडक्रसले विना कुनै भेदभाव मानवीय काम गरेको बताइन् ।

Advertisement

गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय महासचिव तथा गोनेसाका महासचिव रामप्रसाद सुवेदीले सयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र पोखरा महानगरपालिकाको संयुक्त आर्थिक साझेदारीमा सञ्चालित कोभिड १९ प्रतिकार्यका लागि सामाजिक आर्थिक पुनरुत्थान परियोजना अन्तर्गत ७५ हजारको त्रिपाल प्रदान गरेको जानकारी दिए ।

सबै गैससका हरेक परियोजनाले १ देखि ५ प्रतिशत रकम विपद् व्यवस्थापनका लागि खर्च गर्नुपर्ने प्रस्ताव गर्दै उनले रेडक्रस मार्फत एकद्वार नीति अन्तर्गत राहत वितरण गर्नुपर्ने बताए । उनले प्रकोप प्रभावितलाई राहत प्रदान गर्नको लागि रेडक्रसले सबै गैससहरुसँग वार्षिक रुपमा सम्बाद गर्नुपर्ने सुझाव दिए ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति कृष्णप्रसाद तिमिल्सिनाले कोभिड १९को महामारीसंगै बाढी पहिरो लगायत प्राकृतिक विपत्ति जोडिएको बताए ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारीले उपसभापति कृष्णप्रसाद तिमिल्सिनाको नेतृत्वमा मादी, कोषाध्यक्ष सुरेन्द्र गुरुङको नेतृत्वमा अन्नपूर्ण र उपमन्त्री उर्मिला खड्काको अगुवाइमा माछापुच्छे« गाउँपालिकामा बाढी पहिरो प्रभावितलाई राहत प्रदान गरिएको जानकारी दिए ।

मन्त्री अधिकारीले लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १का डिस्ट्रिक गभर्नर विश्वेश्वर आचार्यको नेतृत्वमा गण्डकी प्रदेशका सबै लायन्स क्लबहरुले रेडक्रसलाई २० थान त्रिपाल प्रदान गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया