पुल बन्दैन, साँघुकै भर

समाधान संवाददाता २०७८ असार २८ गते ८:१४

मुस्ताङको थासाङ २ मा कालिगण्डकीमा पुल नबन्दा सौरु र सिर्खुमका बासिन्दा २५÷३० किमी घुम्न बाध्य छन्
सुन्दरकुमार थकाली, जोमसोम

मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिका २ अन्तर्गत कालिगण्डकी पूर्वमा सौरु र सिर्खुम गाउँ पर्छन् । त्यहाँ झन्डै १ सय २० घरधुरीको बसोबास छ । सदिंयौ पुराना यी गाउँमा आउजाउका लागि कालिगण्डकी नदीमा पुल नहँुदा बर्खायाममा स्थानीयले सास्ती व्यवहोर्नुपर्ने अवस्था छ ।

कालिगण्डकी करिडोरको राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकको शाखा राजमार्गदेखि ५ सय मिटर नजिकै पर्ने यी २ गाउँ जोड्ने पुल अहिलेसम्म बन्न सकेको छैन । पुल नहुँदा सौरु र सिर्खमबासीले वर्षैपिच्छै कालिगण्डकी नदीमा अस्थायी साँघु हालेर खोलो तर्नुपर्ने बाध्यता छ ।

Advertisement

हिउँद याममा कालगण्डकी नदीको सतह घटेर सानो हुने भएकाले तर्न सहज भए पनि बर्खायामम खोला वारपार गर्न कठिन हुन्छ । सौरु र सिर्खुमका बासिन्दालाई गाउँपालिका कार्यालय, पशु चरनक्षेत्र, सदरमुकाम जोमसोममा जान र केही आवश्यक कामकाज पर्दा समस्या पर्ने गरेको छ ।

कालिगण्डकी नदी वारिपारिका सौरु र कोवाङ जोड्ने पुल नहुँदा त्यहाँका स्थानीय घुमाउरो बाटो हिड्न बाध्य छन् । करिब २५—३० किलोमिटर पैदलै हिडेर कोखेठाटीको पुल हुँदै उनीहरु आवतजावत गर्छन् । त्यसो त कालिगण्डकी नदीको फैलावट ठूलो क्षेत्रफलमा भएकाले पनि सौरु र कोवाङ जोड्नका लागि पुल निर्माण गर्नसमेत चुनौती छ ।

Advertisement

पुल भइदिएको भए सौरु र सिर्खुमबासीले बेनी—जोमसोम सडकको मुख्य राजमार्गमा पुग्न १५ मिनेटमात्र लाग्थ्यो । पुल नहँुदा त्यहाँका स्थानीयले उत्पादन गरेको स्याउ लगायतका अन्न बाली बजारीकरण गर्न समेत अप्ठ्यारो पर्दै आएको छ । बालबालिकालाई कोवाङमा रहेको माध्यमिक स्कुलमा पढ्न जान लागि समस्या पर्छ ।

सौरु र सिर्खुमबासीले बर्खायाम लागेपछि वर्षैपिच्छे कालिगण्डकी नदीमा सास्ती खेपेर अस्थायी साँघु बनाउँछन् । गाउँले मिलेर कालिगण्डकीमा अस्थायी साँघु खडा गर्ने गरे पनि बाढी आयो भने सबै बगाएर लगिदिन्छ ।

थासाङ २ सौरुका वडाध्यक्ष नरप्रसाद हिराचनले बर्खायामको मौसममा सौरु र सिर्खुम बासीले कालिगण्डकी वारपार गर्न समस्या र चुनौती हुने गरेको बताए ।

‘कालिगण्डकीमा वर्षैपिच्छे गाउँले मिलेर अस्थायी साँघु खडा गर्छौं । तर त्यो कतिखेर बाढीले बगाईदिन्छ पत्तै हुन्न । पुल नहुँदा बर्सेनि स्थानीय र स्कुले बालबालिकाले समस्या भोग्नु परेको छ,’ उनले भने । वडाध्यक्ष हिराचनले सौरु र सिर्खुमबासीको सहजताका लागि झोलुङे पुल चाहिने उल्लेख गरे ।

थासाङको सौरु र सिर्खुम गाउँ जोड्नका लागि २०६३ सालमा साबिक जिल्ला विकास समिति र जनश्रमदानबाट कालिगण्डकीमा डेढ दर्जन कंक्रिट पिल्लर उठाएर पैदल हिड्न मिल्ने पुल निर्माण गरिएको थियो । त्यो पुल २ वर्ष पनि टिक्न पाएन । पुल बनेर हौसिएका सौरु र सिर्खुमबासीको खुसी कालिगण्डकीले बगाइदियो ।

वडाध्यक्ष हिराचनले भने, ‘१ दशकअघि जिविस र गाउँले मिलेर पुल त बनायौं तर त्यो पुल उद्घाटन नहुँदै कालिगण्डकीले बगाइदियो ।’ वडाध्यक्ष हिराचनले कालिगण्डकी नदीको भौगर्भिक रुपमा अध्ययन नगरी पुल निर्माण गर्दा करोडौं खोलामा बगेको बताए ।

फेरि सरकारले कोवाङ सौरु जोड्ने सस्पेन्सन पुलका लागि बजेट विनियोजन गरे पनि पुलको काम अझै सुरु हुन सकेको छैन । पुल निर्माणका लागि २०७७ सालमा ठेक्का सम्झौता भएको थियो । कोरोना माहामारीमा मुस्ताङमा धमाधम संघ, प्रदेश र स्थानीय तहका विकास आयोजनाको काम भए पनि यो पुलको काम सुरु भएको छैन ।

निर्माण कम्पनीको बेवास्ताले पुलको काम अघि बढ्न नसकेको स्थानीय गौतम शेरचनले जानकारी दिए । सरकारले सौरु कोवाङ जोड्ने कालिगण्डकी नदीमा ५ सय ७० मिटर लामो पुल निर्माणका लागि इलाइट रुबिना जेभीले जिम्मा लिएको कन्ट्रक्सनका प्रतिनिधि गौरव कार्कीले जानकारी दिए । उनले २ वर्षमा निर्माण सक्ने भनिएको पुलको काम कोरोना कहरले प्रभावित बनाएको दाबी गरे ।

‘हामी पुलका लागि लेआउटको काम सकेर फर्किएका छौं । पुलको काम गर्ने भनिएको हो । कोरोनाका कारण अवस्था अझै सामान्य बनेको छैन,’ उनले भने ।

तपाईको प्रतिक्रिया