मुस्ताङको ठिनी खोलामा ट्रक खस्दा २ जनाको मृत्यु ३ जना घाईते

समाधान संवाददाता २०७८ साउन ३ गते १२:०५

एसके थकाली \ जोमसोम—

मुस्ताङको घरपझोङ—५ ठिनी खोलामा अवस्थित अस्थायी कच्ची काठेपुलमा आईतबार बिहान ट्रक खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना सामान्य घाईते भएका छन् ।म्याग्दीबाट मुस्ताङको घरपझोङ—५ ठिनी स्थित घरपझोङ किल्लामा निर्माणधिन स्तुफाको निर्माण सामाग्री लिएर गएको १ ख ६८५२ नम्बरको मालवाहक ट्रक अस्थायी जीर्ण काठेपुलले लोड थेग्न नसक्दा पुल भाँचिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार जोमसोम देखि करिव ३ किलोमिटरको दुरीमा पर्ने जोमसोम—ठिनी—धुम्बा भित्रि कच्ची सडकमा अन्दाजी बिहान ८ः३० बजेको समयमा ट्रक दुर्घटना हुँदा रामेछाप जिल्ला गोकुल गंगा गाउँपालिका—१ बस्ने वर्ष ३८ का चित्रबहादुर श्रेष्ठ र वर्ष २६ की मनिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

Advertisement

यस्तै, ठिनी खोलाको अस्थायी पुल भाँचिदा जिल्ला बाग्लुङ ढोरपाटन—५ अधिकारी चौर बस्ने वर्ष २२ का सुनिल घर्ती मगर ,सोही स्थानमा बस्ने वर्ष २५ का लुद्रबहादुर कामी,जिल्ला पर्वत जलजला गाउँपालिका—४ बस्ने वर्ष १८ का सहचालक दिनेश दर्जी र जिल्ला ओखलढुङ्गा खिन्दीदेम्बा—७ बस्ने वर्ष २९ का दावा शेर्पा सामान्य घाईते भएका छन् । घाईतेहरुको जोमसोम अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार दुर्घटनाग्रष्त ट्रकमा चालकसहित ७ जना व्यक्ति सवार रहेको जनाईएको छ । दुर्घटनामा मृत्यु भएका शवको पोष्ट मार्टमका लागि जोमसोम अस्पतालमा ल्याईएको छ भने ट्रकका चालक शिवराम ठाडालाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।
ट्रक दुर्घटनाको कारण ः
पोखराबाट म्याग्दै हुँदै घरपझोङ—५ ठिनी स्थित घरपझोङ किल्लामा निर्माणधिन स्तुफाको निर्माण सामाग्री लिएर आएको ट्रक ठिनी खोलाको अस्थायी कच्ची पुल भाँचिदा दुर्घटनाग्रष्त भएको थियो । सो गुम्बाको भवन निर्माणको काम गर्ने मजदुरहरु जोमसोम बस्ने गरेको र ट्रकमा लोड भएको निर्माण सामाग्री अनलोड गर्न सोही ट्रकको पछाडी बसेर गएको प्रहरीको अनुसन्धानले उल्लेख गरेको छ ।

Advertisement

पुल कच्ची भएकाले सुरुआतमा ट्रक जान नसक्ने चालक शिवराम ठाडाले उल्लेख गरेपनि अन्य व्यक्तिले यसअघि ट्रक र ट्याक्टरहरु सामान लिएर जाने गरेको बताएपछि कच्ची पुलबाट ट्रक क्रस गर्न खोजेको ट्रक चालक ठाडाले प्रहरी समक्ष बताएका छन् ।

कच्ची पुल तर्ने क्रममा अचानक पुल भाँचिदा ट्रकको आधा भागमा खोलामा र अघिल्लो भाग माथि उठेको थियो । ट्रकको पछाडी बस्ने २ जना अनलोड गर्ने कामदार भने खोलामा खसेको र पौडिएर ज्यान जोगाएको प्रहरीले उल्लेख गरेको छ । ट्रकमा सवार कामदारहरु जोमसोमबाट ट्रक चढेर सामान अनलोड गर्न निर्माण स्थल जाँदै गरेका थिए ।
फोटो क्याप्सन ः
मुस्ताङको ठिनी खोलाको अस्थायी कच्ची पुल भाचिदा दुर्घटनाग्रष्त ट्रक । तस्विर ःजिप्रका मुस्ताङ ।

तपाईको प्रतिक्रिया