कास्कीमा लामो दुरीका गाडी चल्ने

समाधान संवाददाता २०७८ साउन ४ गते १३:३६

समधान संवाददाता

पोखरा

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतबार जारी गरेको आदेशमा निश्चित संख्यामा व्यवसायी संघ, संस्थाको सिफारिसमा निश्चित संख्या गाडी चल्न दिने उल्लेख छ ।
कास्कीले यस्तो आदेश जारी गरे पनि अन्य जिल्लामा निषेधाज्ञा कडा भएमा सवारी सञ्चालन प्रभावित हुन सक्ने छ । आदेशमा सिट संख्याभन्दा बढी यात्रु नराखी जनस्वास्थ्यका मापदण्ड पालना गरी लामो दुरीका गाडी चलाउन प्रशासनले समन्वय गर्न सक्ने उल्लेख छ ।

Advertisement

मंगलबार रातिदेखि लागू हुने यो आदेश २० साउन राति १२ बजेसम्म लागू हुनेछ । प्रशासनले संक्रमणको दर अझै उल्लेख्य भएकाले अनिवार्य रुपमा मास्क लगाउन भनेको छ । मास्क नलगाई हिडडुल गरेको पाइएमा तत्काल जरिवाना गर्ने चेतावनी दिइएको छ ।

भौतिक रुपमा परीक्षा र पठनपाठन नगर्न भनिएको छ भने वैवाहिक कार्यक्रममा सुरक्षा मापदण्ड अपनाएर बढीमा २५ जनामात्र उपस्थित हुन भनिएको छ ।

Advertisement

होटलहरुले अब अनलाइन डेलिभरी, होम डेलिभरी र टेक अवे सेवा राति ८ बजेसम्म दिन पाउने छन् । होटलहरुलाई पाहुन राख्दा पूर्ण क्षमताको आधामात्र राख्न भनिएको छ । आदेश पालना नगरे स्थानीय प्रशासन ऐन २०२८, संक्रामक रोग ऐन २०२०, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश लगायतल प्रचलित ऐन, कानुन बमोजिम कारवाही हुने कास्की प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया