शिक्षक,विद्यार्थी बराबरी

समाधान संवाददाता २०७८ साउन २९ गते ११:०२

मुस्ताङका धेरै स्कुलमा विद्यार्थी संख्या कम छ । जोमसोमको बोर्डिङमा स्थानीय विद्यार्थी भए पनि अन्यत्रका स्कुलमा मुस्किलले स्थानीय विद्यार्थी २० प्रतिशत छन् ।

सुन्दरकुमार थकाली, जोमसोम

मुस्ताङको थासाङ गाउँपालिकामा १२ सरकारी स्कुल छन् । तीमध्ये थासाङ ४ पैरोथाप्लामा अवस्थित विद्याज्योति आधारभूत विद्यालयमा भने विद्यार्थी संख्या २मात्रै छ । विद्यालयमा अहिले शिक्षिक र विद्यार्थीको संख्या समान २ जनामात्रै रहेको थासाङ गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

Advertisement

आधारभूत तहको कक्षा १—५ सम्म पठाइ हुने सो विद्यायलको कक्षा ४ र ५ गत वर्ष नै पालिकाको अन्य विद्यालयमा समायोजन भएको थियो । वाल विकास केन्द्रसहित कक्षा १—३ सम्म पढाइ हुने यो विद्यालयको बाल विकास केन्द्रमा २ जना विद्यार्थी छन् । विद्यालयको कक्षा १—३ का कोठा विद्यार्थी नहुँदा खाली हुन्छन् ।

राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकदेखि कालिगण्डकी नदी पारी दक्षिण पूर्वमा रहेको सो विद्यालयले पछिल्लो समय विद्यार्थी पाउन सकेको छैन । आधारभूत तहमा १ कक्षा बराबर १ शिक्षक दरबन्दी कायम हुने भए पनि सो बिद्यालयमा १ मात्रै स्थायी शिक्षक हाजिर छन् । बाल विकास केन्द्रमा भने पालिकाले नै करारमा खटाएका १ शिक्षक छन् ।

Advertisement

विद्यालयको आधारभूत तहमा ३ शिक्षक चाहिने भए पनि दरबन्दी मिलानपछि पुलमा परेका २ शिक्षक सरुवा भएर अन्यत्र गइसकेका छन् । थासाङमा नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गरिए पनि विद्यार्थी नहुँदा सो विद्यालयका १ जना शिक्षकले दैनिक विद्यालय कुरेर बस्नुपर्ने बाध्यता छ ।

म्याग्दी र मुस्ताङको सीम ाक्षेत्रमा रहेको विद्याज्योति स्कुल २०४५ सालमा स्थापना भएको थियो । सो विद्यालय नजिकै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ कोप्चेपानीमा अर्को आधारभूत विद्यालय छ । म्याग्दी र मुस्ताङको सीमा क्षेत्रनजिकै रहेका यी २ विद्यालयमध्ये विद्याज्योतिमा विद्यार्थी आउन छाडेकाम छन् ।

विद्यार्थी नहुँदा पनि पालिकाका अन्य विद्यालयमा समायोजन गर्ने मनस्थितिमा त्यहाँका स्थानीय छैनन् । विद्यालयका प्रधानाध्यापक तुलप्रसाद गौचनले गत वर्ष नै ४ र ५ कक्षा अन्य विद्यालयमा समायोजन भएको बताए । उनले विद्यालयमा आवासीय सुविधा नहँुदा विद्यार्थी भर्ना हुन छोडेको दाबी गरे ।

‘तत्काल विद्यार्थी भर्ना भएका छैनन्, १ जना आउने कुरो छ, विद्यार्थी जुटाउने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘विद्यार्थी नहँुदैमा विद्यालय समायोजन गर्ने कुरा आउँदैन, अहिले नभएर के भो र पछि त आउलान् नि ।’ उनका अनुसार विद्याज्योति आविका गत वर्ष ४ जना विद्यार्थी थिए । प्रधानाध्यापक गौचनले शैक्षिक गुणस्तरका कारण नभई भौगोलिक विकटताका कारण विद्यार्थी भर्ना हुन अप्ठ्यारो परेको उनले जिकिर गरे ।

मुस्ताङका साबिक ५४ सामुदायिक विद्यालयमा १८ भन्दा बेसी जिल्लाका विद्यार्थी पढ्ने गरेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । मुस्ताङमा आएर ज्यालाम जदुरी गर्ने तथा घरखेत अधिया कमाई गरी बसेका जिल्ला बाहिरका अभिभावकका बालबालिका पढ्ने गरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंकराज बरालले जानकारी दिए ।

मुस्ताङका विद्यालय जिल्ला बाहिरका विद्यार्थीले धानिएको तथ्यांक छ । स्थानीयले विद्यालय स्थापना तथा विद्यालय संरक्षण गर्न खोजे पनि उनीहरुले पोखरा, काठमाडौंमा लगेर आफ्ना बालबालिका पढाउने गरेका छन् । जिल्लाका स्ुकलमा स्थानीय विद्यार्थीको संख्या नगण्य छ ।

जिल्लाका कुल विद्यार्थीमध्ये मुस्किलले २० प्रतिशत स्थानीयका बालबालिका रहेको बताइन्छ । त्यसमाथि स्थानीय दलित समुदायकाका छोरोछोरी १५ प्रतिशत छन् भने ५ प्रतिशतमात्र जनजातिका छोराछोरी पढ्छन् । तर, जोमसोमको निजी विद्यालयमा भने ८० प्रतिशत विद्यार्थी स्थानीय छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक दरबन्दी पुनर्वितरण तथा व्यवस्थापन गरेपछि मुस्ताङका विद्यालय क्रमशः समायोजन हुन थालेका छन् । शिक्षक पुनर्वितरण तथा समायोजनसँगै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ८ सामुदायिक विद्यालय समायोज गरी ३ विद्यालय कायम गरेको छ ।

वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाले पनि पालिका अन्तर्गतका १९ सरकारी विद्यालयलाई समायोजन गरी ४ स्कुल कायम गरेको छ । जिल्लाको घरपझोङ र थासाङमा पनि आधारभूत तहका कक्षा घटाएर स्कुल समायोजन भएका छन् । दरबन्दी मिलानपछि शिक्षक संख्या कम हुँदै गएपछि मुस्ताङमा विद्यालय तथा कक्षा समायोजन गर्न थालिएको हो ।

मुस्ताङमा पुलमा परेका आधारभूत कक्षा १—५ तर्फ १ सय २३ जना, आधारभूत तह ६—८ कक्षातर्फ १८ जना र माध्यमिक विद्यालयतर्फ ८ शिक्षक कटौती हुनेछन् । विद्यार्थी संख्याका आधारमा उपल्लो कक्षामा शिक्षक समायोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया