हरेक गाउँमा गुम्बा

समाधान संवाददाता २०७८ भदौ १७ गते १३:४१

सुन्दरकुमार थकाली
जोमसोम-चीनसँग भूमी जोडिएको हिमाली जिल्ला मुस्ताङमा तिब्बती कला, संस्कृतिको प्रभाव छ । मुस्ताङका अधिकांश बासिन्दा बौद्धमार्गी छन् । उपल्लो मुस्ताङ र तिब्बती भाषा, कला, संस्कृति र रहनसहन मिल्दोजुल्दो छ ।


उपल्लो मुस्ताङका २ स्थानीय तहमा बिष्ट, गुरुङ र लोहा समुदायकाको बसोबास छ । मध्य मुस्ताङको वारागुङ मुक्ति क्षेत्रमा गुरुङ बढी छन् भने केही दलितको पनि बसोबास छ । तल्लो मुस्ताङको घरपझोङ र थासाङमा थकाली, गुरुङ र दलित समुदायको मिश्रित बसोबास छ । झन्डै १३ हजार जनसंख्या रहेकोमा ९० प्रतिशत मुस्ताङी बौद्ध धर्म मान्छन् ।


बौद्ध धर्म मानिने मुस्ताङ गुम्बै गुम्बाले भरिएको छ । मुस्ताङका ५ वटै स्थानीय तहका प्रत्येकजसो वडामा गुम्बा छन् । मुस्ताङमा अवस्थित आधा जसो गुम्बा सदिंयौ पुराना र ऐतिहासिक छन् । कतिपय गुम्बा भने पछिल्लो क्रममा बनाइएका हुन् ।

Advertisement


यहाँको सबैभन्दा पहिलो र पुरानो गुम्बा हो उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड १ मराङको घर गुम्बा । यस गुम्बा लोघेकर गुम्बाको रुपमा पनि परिचित छ । यो गुम्बा ८ औं शताब्दीमा निर्माण भएको हो । तिब्बतमा राजा ठिस्रोङ धेचेनले राज्य गदर्थे । त्यस समय राजा धेचेनले धार्मिक गुम्बा निर्माण गर्ने क्रममा विभिन्न व्यवधान उत्पन्न भयो ।


तिब्बतमा गुम्बा निर्माणमा अवरोध भएपछि गुरु रिम्पोर्छे (पद्यसम्भव) तिब्बत पुगेका थिए । गुम्बा निर्माणमा अवरोध पु¥याउनेलाई लखेट्दै लखेट्दै मुस्ताङ ल्याइयो । मुस्ताङसम्मा आइपुगेकाहरुलाई फेरि तल्लो मुस्ताङबाट माथि धपाइयो । यसरी धार्मिक कार्यमा व्यवधान पु¥याउनेलाई त्यस समय राक्षस भन्ने गरिन्थ्यो ।

Advertisement


पद्यसम्भवले मुस्ताङको मराङमा राक्षसको बध गरेको हुनाले त्यहाँ गुम्बा बनाइएको वृद्धवृद्धा बताउँछन् । मराङमा गुम्बा स्थापना भएपछि जिल्लाका अन्य स्थानमा पनि गुम्बा बनाउने क्रम थालियो ।
अहिले मुस्ताङमा ३ दर्जनभन्दा बढी

गुम्बा छन् । नाम चलेका गुम्बा भने एक चौथाईमात्र छन् । उपल्लो मुस्ताङको लोमान्थाङमा ७, लोघेकर दामोदरकुण्डमा ६, वारागुङ मुक्तिक्षेत्रमा ७, घरपझोङमा ७ वटा र थासाङमा ५ गुम्बा रहेको विभिन्न स्रोतले पुष्टि गरेका छन् ।


लोमान्थाङ ५ मा झ्याम्पा गुम्बा, थुक्छेन गुम्बा र छोदे गुम्बा छन् । लोमान्थाङको छोसेरमा निफुक गुम्बा र गर्फु गुम्बा छन् भने नाम्ग्यालमा नाम्ग्याल गुम्बा छ । लोमान्थाङ गाउँपालिकामा छोजुङ गुम्बा छ । छोजुङ गुम्बा बेवारिसे अवस्थामा रहेको लोमान्थाङ छोदे गुम्बाका लामा झ्याम्पा घ्याचो गुरुङले जानकारी दिए । उनले सो गुम्बामा लामाहरु बाह्रै महिना नबस्ने बताए ।


छोजुङ गुम्बा सदियौं पुरानो रहेकाले जीर्ण हुँदै गएको छ । गुम्बा मर्मतका लागि पालिकाले केही बजेट दिएको थियो । लोमान्थाङको झ्याम्पा र थुक्छेन गुम्बाको रेखदेख तथा पूजापाठ छोदे गुम्बाका लामाहरुले गर्ने गरेको लामा घ्याचो गुरुङले उल्लेख गरे ।


उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको मराङ, चराङ, घमी, घिलिङ, सुर्खाङ लगायतका ठाउँमा सदियौं पुराना गुम्बा छन् । लुरी गुम्बा, घर गुम्बा र चराङ गुम्बा मुख्य हुन् । वारागुङ मुक्तिक्षेत्रको कागबेनी, मुक्तिनाथ, तिरी र छुसाङमा गुम्बा छन् । मुक्तिनाथ परिसर भित्र चर्चित ज्वालामाई गुम्बा छ । यो गुम्बामा २०७२ सालको महाभूकम्पले क्षति पु¥याएको थियो । पुरातत्व विभागले सो गुम्बा पुनर्निर्माण गरिरहेको छ ।


घरपझोङका ५ वटै वडामा गुम्बा छन् । जोमसोम, ठिनी, ढुम्बा, स्याङ, मार्फा र छैरोमा गुम्बा छन् । जोमसोम गुम्बा केही वर्षअघि मात्र स्थापना भएको हो भने अन्य गुम्बा सदियौं पुराना छन् । थासाङ गाउँपालिकाका टुकुचे, सौरु, कोवाङ, नाकुङ र ताक्लुङमा सदियौं पुराना गुम्बा छन् । पछिल्लो समय थासाङको लेते र घाँसामा समेत नयाँ गुम्बा निर्माण भएका छन् ।


मुस्ताङमा अधिकांश सामुदायिक गुम्बा छन् भने केहीले निजी गुम्बासमेत निर्माण गरेको थासाङका सोजन हिराचन बताउँछन् । मुस्ताङमा ससाना दर्जनौं अरु गुम्बा पनि छन् ।


ढुंगा, माटोबाट बनेका पुराना गुम्बा जीर्ण हुँदै गएका छन् । मुस्ताङका प्राचीन गुम्बालाई सरकारले बेवास्ता गरेको स्थानीयको गुनासो छ । तर मुस्ताङका केही गुम्बाको पुनर्निर्माण तथा स्तरोन्नति गर्न विदेशी संघ, संस्थाले सहयोग गरेका छन् ।


जिल्लाका सबैजसो गाउँहरुमा गुम्बा भए पनि पूजापाठ गर्ने लामा छैनन् । केही वर्षअघिसम्म मुस्ताङमा घरको माइलो छोरालाई लामा गुम्बामा र माहिली छोरीलाई आनी गुम्बामा चढाउने चलन थियो । पछिल्लो समय मुस्ताङमा यो प्रचलन हट्दै गएको छ । पछिल्लो समय स्वइच्छिक रुपमा मात्र छोरीछोरीलाई गुम्बा राख्ने गरिएको छ ।
मुस्ताङका केही गुम्बामा बहुमुल्य मूर्ती पनि छन् । पछिल्लो समय सुरक्षाका दृष्टिकोणले बहुमूल्य मूर्ती राख्नु निकै चुनौतीपूर्ण बनेको छ । सडक सञ्जालमा जोडिएसँगै मुस्ताङमा विभिन्न प्रकारका मानिसको आउजाउ हुँदा गुम्बाका मूर्तीहरु असुरक्षित बनेका छन् ।

तपाईको प्रतिक्रिया