विदेशीलाई पिसिआर रिपोर्ट, नेपालीलाई खोप कार्ड

समाधान संवाददाता २०७८ भदौ २४ गते १५:११

सुन्दरकुमार थकाली
जोमसोम- कोरोनाको दोस्रो भेरियन्टसँगै विगत ५ महिनादेखि भएको निषेधाज्ञा मंगलबारदेखि खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) बैठकले मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरबाहेक अन्य क्षेत्रको सबै गतिविधि खुला गर्ने निर्णय गरेको हो ।


सबैले कोरोना बिरुद्धको खोप लगाइसकेको र संक्रमणदर समेत कम हुँदै गएकाले निषेधाज्ञा खुकुलो बनाइएको हो । अब आर्थिक अवस्था चलायमान हुने अपेक्षा गरिएको छ । बैठकले मुक्तिनाथ मन्दिर तत्कालका लागि खुला नगर्ने तर अन्य क्षेत्रका गतिविधिलाई चलायमान बनाउन आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै क्रमशः मुस्ताङलाई सहज बनाउदै निर्णय गरेको छ ।


पोखरा—जोमसोम हवाई सेवा, लामो तथा छोटो दुरीका यातायात सेवा, पर्यटन क्षेत्र, होटल तथा रेस्टुरेन्ट, मेला–महोत्सव, शैक्षिक संस्था र सेवा प्रदायक संघसंस्थाका गतिविधि अब चल्ने छन् ।

Advertisement

मुक्तिनाथबाहेक उपल्लो मुस्ताङ र उत्तरी कोरला नाकासम्मको भ्रमण गर्नमा पर्यटकलाई कुनै रोकतोक नहुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । सहज अवस्थाको निषेधाज्ञा सहज पारिएको र त्यसको समीक्षा गर्दै केही हप्ताभित्रै मुक्तिनाथ मन्दिर खुला गरिने पौडेलले जनाए ।
मुस्ताङ भित्रिने विदेशी पर्यटकले अनिवार्य रुपमा ७२ घण्टे पिसिरआर रिपोर्ट देखाउनुपर्नेछ भने आन्तरिक पर्यटकले अनिवार्य खोप कार्डका साथै ४८ घन्टे एन्टिजेन रिपोर्ट साथ लिएर आउनुपर्ने छ । यसका लागि जोमसोम विमानस्थल कक्ष र म्याग्दी र मुस्ताङको सीमानाका घाँसा प्रहरी चौकीमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको युनिट खटाइनेछ ।


मुस्ताङमा बसोबास गर्ने नागरिकले भने मुस्ताङ आउजाउ गर्नुपर्दा नागरिकता तथा परिचय पत्र देखाएमात्रै पुग्नेछ । सार्वजनिक तथा निजी सवारी साधनले पिसिआर वा एन्टिजेन रिपोर्ट र खोप कार्ड नभएका व्यक्तिलाई यात्रा गराउँदा संक्रमण पुष्टि भएमा सोको जिम्मेवारी सम्बन्धित सवारी साधनले नै जिम्मा लिनुपर्ने छ ।

Advertisement


मुस्ताङमा कोरोना कहरका कारण लगाईएको निषेधाज्ञाले मुस्ताङका पर्यटन व्यवसायी आर्थिक संकटमा परेका छन् । जिल्लामा निषेधाज्ञा खुकुलो पारिएसँगै मुस्ताङ जिल्लाको अर्थतन्त्र चलायमान हुने मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले अपेक्षा गरे । हाल जिल्लामा सक्रिय संक्रमित ४ जनामात्र छन् ।

तपाईको प्रतिक्रिया