‘खुदीखोला उत्खनन् गर्न दिन्नौं’

समाधान संवाददाता २०७८ भदौ २८ गते ११:५०

पोखरा ३२ का बासिन्दा ८ सय घर जोखिममा पर्ने भन्दै महानगरको टेन्डरपछि आन्दोलित भएका छन्


सञ्जय रानाभाट

पोखरा- पोखरा ३२ का बासिन्दाले आइतबार महानगरपालिका घेराउ गरे । खुदीखोलामा घाट सञ्चालन गर्न लागिएपछि उनीहरु विरोधमा उत्रिएका हुन् ।
महानगरले बस्ती नै जोखिममा पारेर घाट सञ्चालन गर्न लागेको उपमेयर मञ्जु गुरुङलाई उनीहरुले ज्ञापनपत्र बुझाएको स्थानीय जगतबहादुर विश्वकर्माले जनाकारी दिए । स्थानीयले महानगरसहित जिल्ला प्रशासन कार्यालय कास्की र जल, ऊर्जा तथा खानेपानी मन्त्रालयमा पनि ज्ञापन पत्र बुझाएका हुन् ।


महानगरले खुदीखोलामा घाट चलाउन भदौ १ गते ३० दिने सूचना निकालेको थियो । यसरी टेन्डर आह्वान गरेपछि स्थानीय यसको विपक्षमा छन् । यसरी ठेक्का दिँदा तोकिएकोभन्दा बढी उत्खनन् गरी बस्ती नै जोखिमा पर्ने स्थानीयलाई चिन्ता छ । ८ सय घरधुरी रहेको बस्ती जोखिममा पर्ने भन्दै ६ टोल विकास संस्थासहित माओवादी केन्द्रले विरोध जनाएका छन् ।

Advertisement


हिमालय टोल विकास संस्था १ र २, आरधना टोल विकास संस्था ख ३, आरधना टोल विकास संस्था क ४, दारिमबोट टोल विकास संस्था ५, नव दुर्गा टोल विकास संस्था ख ६ सहित योङ कम्युनिस्ट लिग र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले संयुक्त विज्ञप्ति निकालेर यसको विरोध जनाएका हुन् ।


महानगरले ३ क्षेत्रधार तोकी घाट सञ्चालनका निम्ति टेन्डर आह्वान गरेको थियो । क्षेत्रधार २६ मा उत्तर खुदीखोला पुलदेखि ३ नम्बर बस्तीसम्म ५४ हजार घनमिटर उत्खननका लागि महानगरले धरौटी १ लाख ९१ हजार ७ सय राख्ने गरी करबाहेक ३८ लाख ३४ हजारमा टेन्डर आह्वान गरेको थियो । क्षेत्रधार २७ मा उत्तर ३ नम्बर बस्तीदेखि ४ नम्बर बस्तीसम्म १९ हजार ४ सय २५ घनमिटर उत्खननका लागि धरौटी ६ लाख ८९ हजार ५ सय ९० र न्यूनतम रकम करबाहेक १ करोड ३७ लाख ९१ हजार ७ सय १० मा टेन्डर आह्वान भएको छ ।

Advertisement


क्षेत्रधार २८ मा उत्तर सातमुहाने कल्भर्टदेखि ४ नम्बर बस्तीसम्म ६ हजार १ सय ७८ घनमिटर उत्खनन गर्न धरौटी २ लाख १९ हजार ६ सय ६० तोकिएको छ । यसका लागि न्यूनतम टेन्डर रकम ४३ लाख ९३ हजार १ सय २५ तोकी टेन्डर आह्वान भएको थियो ।


घाटवरवरको बस्ती भूमिहीन र अव्यवस्थित बसोबासीको हो । स्थानीय अर्जुन मल्लका अनुसार ती घर माओवादी जनयुद्धपछि २०५५ सालतिर बनेका हुन् । मानिसहरु स्याङ्जा, धादिङ, बागलुङ, म्याग्दी, गोरखा लगायतका जिल्लाबाट त्यहाँ आएर बसोबास गरेको मल्लले बताए ।


टेन्डर आह्वानपछि स्थानीहरु त्रसित बनेका छन् । खुदीखोला बेगनास ताल र रुपातालको ड्याम भरिएपछि बग्ने निकास हो । यो खोला वर्षायाममा निकै ठूलो हुन्छ । भन्छन्, ‘वर्षात्को समयमा खोला बढेर मान्छे बगाउने पानी आउँछ । हाम्रा घरै डुबानसहित कटानमा परेका छन् । अहिलेसम्म २ जना यो खोलामा बगेरै मरे ।’
१ महिनाअघि खोलाले स्थानीय रमेश खप्तडी मगरलाई बगाउँदा उनको मृत्यु भएको थियो । माओवादी केन्द्र पोखरा ३२ का अध्यक्षसमेत रहेका मल्लले स्थानीयसँग समन्वय, सल्लाह नै नगरी महानगरले काम गरेको आरोप लगाए ।

गत साल भदौ २२ र २३ गते आएको वर्षापछि यहाँका ३२ घर डुबानमा परेका थिए । २०६६ भन्दाअघि यहाँ जिल्ला विकास समितिले खोला उत्खनन् गर्न ठेक्का लगाउँदै आएको थियो । पछि स्थानीयको विरोध भएपछि खोलामा उत्खनन् भएन । मल्ल भन्छन्, ‘अहिले महानगरले आँखा लगाएर फेरि बस्ती जोखिममा पर्न खोजेको छ ।’
वर्खामा खोलाले तल्लो गगनगौडा र माथिल्लो गगनगौंडामा खोला वरिपरिको बस्तीलाई जोखिममा पर्ने गरेको छ । खोला उत्खनन् भएमा सतह झन गहिरो हुने र माथिको भाग बग्दै जाने भएकाले वरपरका बस्ती थप जोखिममा पर्ने देखिन्छ ।

बाँधबाट थप पानी बग्ने र खोला झनै गहिरो हुने हुँदा कटान बढी हुने उनको दाबी छ ।
यहाँ सिँचाइ गर्ने धेरै कुला छन् । यो खोलाबाट बर्सेनी पागो माटो आउने आरधना टोल विकास संस्थाका अध्यक्ष हरि गुरुङ बताउँछन् । संरक्षणबिना टेन्डर खोल्न दिन नहुने उनको भनाइ छ । भन्छन्, ‘पहिल खोला जोगाउन भन्दै खोला छेउमा महानगरका इन्जिनियरले माछा पाल्ने काम हुन्छ भने ।

अहिले महानगरले केही योजना छैन भन्छ ।’ महानगरले बस्ती संरक्षण हुँदै छ भनेर भुलाएको उनको आरोप छ । स्थानीयसँग सल्लाह गरी बस्तीलाई असर नगर्ने तरिकाले मात्र उत्खनन् गर्न दिइने उनी बताउँछन् ।
यता, महानगरका सूचना अधिकारी भरत पौडेले स्थानीको गुनासो आएपछि ध्यानाकर्षण भएको बताए । उनले पोखरा ३२ का वडाध्यक्षलाई समस्या सुल्झाउन जिम्मा दिएको समाधानलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया