मेडम निर्मला

श्याम कुँवर २०७८ असोज १ गते १५:०७

स्टेप बाइ स्टेप बोर्डिङ स्कुलकी प्रिन्सिपल उनले विद्यालयको नेतृत्वमात्रै गरेकी छैनन्, राम्रो शिक्षादीक्षाको वातावरणमात्रै बनाएकी छैनन्, अभिभावकहरुको मार्गदर्शक पनि बनेकी छन् ।



२०४५ सालतिर छोरालाई बोर्डिङ र छोरीलाई सरकारी स्कुलमा पढाउने प्रचलन बढी थियो । केही अभिभावकले त्यतिबेला छोरालाई भर्ना गर्ने र छोरीलाई नल्याउने गर्थे । उनी स्कुलमा विद्यार्थी भर्ना गर्न आउने अभिभावकलाई छोराछोरीको विवरण माग्थिन् । आर्थिक कारणले छोरीलाई पढाउन नसक्ने भए पढाउने जिम्मा लिन्छु भनेर प्रस्ताव गर्थिन् । छोरी मैले पढाउँछु भनेर उनले ४÷५ जनाको को जिम्मा पनि लिइन् । त्यति बेला छोरीलाई अहिले जस्तो शिक्षामा समानता थिएन । उनको प्रयास शिक्षामा छोरा छोरीलाई भेदभाव गर्नु हँुदैन भन्ने थियो । स्टेप बाई स्टेप बोर्डिङ स्कुलकी प्रिन्सिपल निर्मला बरालको त्यो प्रयासपछि अभिभावकहरु छोरीलाई बोर्डिङमा पढाउन सहमत हँुदै गए ।


निर्मला प्लसटु पास गरेपछि १६ वर्षको उमेरदेखि पढ्ने पढाउन काममा लागेकी थिइन् । २०४५ सालदेखि नै विद्यालयका संस्थापक प्रिन्सिपल बनेकी बराल विगत ४४÷४५ वर्षदेखि शिक्षा क्षेत्रमा छिन् । उनले स्नातकोत्तरतहसम्मको शिक्षा हासिल गरेकी छिन् । पोखरामा सुरुआतमा निजीस्तरबाट खुलेकामध्ये उनको स्कुल स्टेप बाई स्टेप पाँचौंमा पर्छ । उनी भन्छिन्, ‘व्यक्तिको शिक्षामा राम्रो भए गुणस्तरीय जीवन प्राप्त गर्न सकिन्छ । एउटा बलेको दियोले अरुलाई सल्काउँदै जगतलाई उज्यालो बनाउने हो । शिक्षा तथा ज्ञान जति बढी अरुलाई बाडिन्छ त्यति नै बढ्छ ।’ उनी शिक्षामा लागेको व्यक्ति सबैका लागि नमुना र अनुकरणीय बन्नुपर्ने मान्यता राख्छिन् ।

Advertisement


सानै उमेरदेखि उनीमा आफू बनेर अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास भएको थियो । ममात्र बन्ने होइन घरपरिवारलाई राम्रो बनाएर केहीन केही समाजलाई योगदान गर्नुपर्छ । उनले पढ्न आउने विद्यार्थीलाई मात्र नभएर विद्यालयमा आउने महिला अभिभावकलाई पढ्न तथा उद्यमी बन्न प्रेरित गर्थिन् । उनले अभिभावकलाई घरको काम सकेर समय मिलाएर शिक्षामा ध्यान दिनुस् भन्थिन् । एसएलसी पास गरेकालाई प्लसटु पढ्नुस्, प्लस टु गरेकालाई डिप्लोमा पढ्नुस् भनेर पढाइलाई जारी राख्न प्रेरित गर्थिन् । नपढेका अभिभावकलाई सिलाइ कटाइ तालिम लिनुस्, उद्यमशील बन्नुस् भनेर प्रेरित गरेको घटना सुनाइन् । टोल समुदायममा समेत टाइप सिक्न प्रेरित गर्नेदेखि केहीलाई सिलाई मेसिन किन्न सहयोगसमेत गरेकी थिइन् । खास गरी हाम्रो प्रयासले धेरै महिलाले शिक्षा पूरा गरेर राम्रो जागिर गरेका छन् । केही उद्यमी भएका छन् । धेरै हिसाबले महिलाहरु लाभान्वित भएका छन् ।


निर्मला शिक्षकहरुको पेशागत संस्था नेल्टा, प्याब्सन कास्कीको उपाध्यक्ष केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । शिक्षा क्षेत्रको अलावा उनले लायन्स क्लबको जिम्मेवारी सम्हालेकी थिइन् । खेलकुद क्षेत्रमा योगदान गरेकी उनी अहिले प्रदेश खेलकुद परिषद्का सदस्यसमेत छिन् । शिक्षा क्षेत्रमा योगदान गरेवापत जिल्लादेखि राष्ट्रिय स्तरको शिक्षा पुरस्कार पनि पाएकी छिन् ।

Advertisement


निर्मलालाई सबै विद्यार्थीहरु छोराछोरी जस्तो लाग्छ । स्टेप बाइ स्टेप बोर्डिङ स्कुलकी प्रिन्सिपल उनले विद्यालयको नेतृत्वमात्रै गरेकी छैनन्, राम्रो शिक्षादीक्षाको वातावरणमात्रै बनाएकी छैनन्, विद्यार्थीका लागि अभिभावक पनि बनेकी छन्, अभिभावकहरुको मार्गदर्शक बनेकी छन्, विद्यार्थीका लागि गुरुआमामात्रै होइन साँच्चीकै आमाजस्तै माया दिएकी छन् ।


कोभिड १९ को कारण धेरै शैक्षिक संस्था बन्द छन् । विद्यार्थीहरु भौतिक रुपमा विद्यालयमा आएर पढ्न पाएका छैनन् । शिक्षक विद्यार्थीबीच प्रत्यक्ष दोहोरो संवाद भएर कक्षा चल्न सकेको छैन् । जसको कारण विद्यार्थीमा सिर्जनशीलता, लगनशीलताका कमी आएको छ । निराशा बढेको छ । विद्यार्थीहरु सामाजिकीकरणबाट टाढा भएका छन् । यो क्रम धेरै लामो जानु हँुदैन । अहिले विद्यालयमा ७५ शिक्षक तथा कर्मचारी कार्यरत छन् । विद्यालयले सामाजिक संघ संस्थालाई सहयोग गर्नेदेखि गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । खेलकुद तथा रचनात्मक क्रियाकलापदेखि संस्थागत सामाजिक उत्तरदायित्व पुरा गरेको उनको दाबी छ । उद्योग व्यवसायमा लागेका महिलाको लागि सरकारले धेरै छुटको व्यवस्था गरेको छ । घरेलुमा उद्योग दर्तादेखि कर राजस्वमा छुट छ । उद्यमी महिलालाई बिनाधितो १५ लाखसम्मको ऋणको व्यवस्था गरेको छ । निजी विद्यालयको हकमा भने कुनै छुटको व्यवस्था छैन । सरकारी स्तरबाट सहयोग र प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।


उनीमा सानैदेखि डाक्टर शिक्षक बन्ने या व्यवसाय गर्ने रुची थियो । उनी ८ वर्षको पुग्दा आमा इन्दिरा उपाध्याय बिरामी भइन् । घरमा जेठी छोरी भएको पारिवारिक दायित्व पूरा गर्दै उनले पढाइ पूरा गरिन् । उनको राम्रो डाक्टर बनेर जनतालाई सेवा दिने चाहना थियो । तर उनी अहिले असल शिक्षक भएर देशको लागि योगदान गरेकी छिन् । नेपालको शैक्षिक क्षेत्रको विकासमा महिलाको योगदान छ । आम महिलाले घरको जिम्मेवारी पुरा गरी समाजप्रतिको दायित्व पूरा गरेका छन् ।


महिलाहरु लगनशील भएको कारण पाएको जिम्मेवारी पुरा गर्छन । आर्थिक रुपमा पारदर्शी हुन्छन् । महिलाको व्यवस्थापन राम्रो हुन्छ । बैंक तथा वित्तिय क्षेत्रमा सफल नेतृत्व गरेका छन् । उनको अनुभवमा आम रुपमा अझै पनि महिलाप्रति पूर्ण रुपमा विश्वास नगर्ने परिपाटी छ । महिलाले समाजमा गरेका योगदानको कदर हुन सकेको छैन । महिलाले केही गर्न सक्दैनन् भनेर जिम्मेवारी नदिने परिपाटी यदाकदा देखिन्छ । कोभिड १९को कारण धेरै शैक्षिक संस्था बन्द छन् । विद्यार्थीहरु भौतिक रुपमा विद्यालयमा आएर पढ्न पाएका छैनन् । महिलाहरु आफ्नो क्षेत्रमा सफलता हासिल गर्न संघर्ष गर्नुपरेको छ । महिलाले समाजका गरेको योगदानलाई सकारात्मक रुपमा ग्रहण नगर्ने तथा पुरुषवादी सोच र चिन्तन अहिलेपनि हाबी छ । त्यसैले महिला आत्मनिर्भर र आर्थिक रुपमा सशक्त बन्न शिक्षित सचेत र आफै उद्यमी बनेर देखाउनुपर्छ भन्छिन् निर्मला ।


निर्मलाको अनुभवमा सुरुसुरुमा महिलाले स्कुल चलाउन नसक्ने भनेर टिका टिप्पणी हुन्थ्यो । उनीमा भएको जोश र जाँगरले उनी सफल हुँदै गइन् । उनीमा विद्यालय चलाउन सक्ने आत्म विश्वास थियो । उनका बुबा रामचन्द्र उपाध्याय समेत शिक्षा क्षेत्रमा थिए । उनले तनहँुको दमौलीदेखि पृथ्वी नारायण क्याम्पसमा पढाएका थिए । सुरुमा उनका श्रीमान् रमाकान्त बराल कृषितर्फ जागिरे थिए । उनले सरकारी जागिर छोडेर निर्मलालाई प्रोत्साहन गरे । उनको क्षमता देखेर साथ सहयोग गरे ।

घर तथा माइती पक्ष शिक्षा क्षेत्रमा काम गरेको कारण उनलाई पनि सजिलो भयो । श्रीमान् रमाकान्त विद्यालयको संस्थापक तथा निर्देशक छन् । उनी प्रिन्सिपल भएर विद्यालय चलाएका छन् । घर परिवार र श्रीमान्को रेखदेखमा उनलाई विद्यालय चलाउन सहज भएको छ । ‘महिलाहरु सक्षम हुन कि त पढ्नुप¥यो । कि त सीप सिकेर उद्यमी बन्नुपर्छ । शिक्षा क्षेत्रमा लागेका महिलाहरुमा आफू स्वयंमा जस्तो जोश र जाँगर हुनुपर्छ । साना तिना समस्यामा अल्झेर बस्नु हँुदैन,’ निर्मला भन्छिन्, ‘आत्मबल बलियो हुनुपर्छ । उद्देश्य लिएर पूरा गर्न हर प्रयास गर्नुपर्छ । निरन्तर लगाव राखे सफलता मिल्छ ।’ ६५ वर्ष पूरा भएपछि पूर्ण रुपमा सामाजिक क्षेत्रमा योगदान गर्ने योजना बनाएकी छिन् । अझै पनि आधारभूत तहका महिलाको शिक्षा र स्वास्थ्यमा पहँुच पुगेको छैन । व्यक्तिगत तथा सामूहिक रुपमा धेरै भन्दा धेरै महिलाको शिक्षा र स्वास्थ्य उपचारका लागि सहयोग गर्ने उनको योजना छ ।

श्याम कुँवर

कुँवर समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् । 

तपाईको प्रतिक्रिया