व्यवसाय

घरधन्दा सकेर व्यवसाय

समाधान संवाददाता २०७८ असोज २ गते १६:४०

महिलाहरुलाई चुलोचौकोमा सीमित पारियो । महिलाले पनि समान अधिकार पाउनुपर्छ । सय वर्षअघिदेखि पुरुष सत्ताले दमन ग¥यो । यसबारे उठिरहने बहस त हामीले सुनिरहेकै हो । अझ पछिल्लो समय त बिहेपछि महिला दलनमा परेको भन्दै बिहे नामक संस्था खारेज हुनुपर्छ भन्ने खालका आवाज पनि सुनिएका छन् । हुन पनि महिला अधिकारको विषयमा जति सुकै वकालत भए पनि अवस्था ज्यूँका त्यूँ छ ।


अवस्था केही सुधार भए पनि महिलाहरुको अवस्थामा आशातित परिवर्तन भएकै छैन । तर, केही यस्ता महिलाहरु पनि छन् । जसले घरधन्दा सकेर आफूलाई समाजको उच्च ओहोदामा स्थापित गरेका छन् । त्यसको उदाहरण हुन् पोखराकी मिलन थापा । दुई दशकदेखि निरन्तर व्यवसायमा आबद्ध थापाको व्यावसायिक यात्रा अहिलेसम्म बिराम लागेको छैन । रिकन्डिसन हाउसबाट सुरु भएको थापा परिवारको व्यावसायिक सफलता दर्जन बढी व्यवसामा फैलिएको छ ।


‘बिहे भएर आइसकेपछि म दुई वर्ष जति त फ्याम्लीभित्रै बसेँ । एसएलसी दिनुपर्ने थियो । उत्तीर्ण पनि भएँ । त्यसपछि घरपरिवारले हामी पढाइभन्दा एउटा व्यवसायीक परिवार हो । हामी कसैको जागिर खान जान दिँदैनौं,’ उनले विगत सम्झिइन्, ‘तिमी पढ्न भन्दा व्यवसायतिरै लाग भन्ने कुरा घर परिवारबाट उहाँको बुवा दाइहरुबाट आइसकेपछि मैले सोचें, त्यतिबेला पढ्ने भनेको उही जागिर खान जाने हो । उहाँहरुकै महिना मरेपछि स्यालरी लिएर आएर बुझाउने हो । मैले पढेपछि कुनै ठाउँमा जागिर खानुपर्छ भन्ने मेरो सोचाइ थियो ।’ परिवारले व्यवसायमा लाग्न उत्प्रेरित गरिसकेपछि व्यवसायमा लाग्ने योजना बनाएको उनले बताइन् । ‘व्यवसाय, परिवारलाई प्राथमिकता दिँदै अहिलेसम्म आएँ,’ उनले भनिन् ।

Advertisement


व्यवसायमा संघर्षपूर्ण र संक्रमणकालीन अवस्था झेल्दै आएको थापा अहिले सफल व्यवसायीको रुपमा स्थापित छिन् । थापा परिवारको व्यवसाय फस्टाउदै गर्दा माओवादी जनयुद्ध पनि सुरु हुँदै थियो । बाहिर कतै जान पनि डर लाग्दो अवस्थामा निडर भएर संघर्ष गरेकाले व्यवसायमा सफल भएको उनको भनाई छ ।


२०५२ सालमा बिहे हुँदा थापा जम्मा १६ वर्षकी थिइन् मिलन । ‘कलिलोउमेरमा बिहे भयो । ०५३ सालबाट उहाँँ व्यवसायमा आबद्ध हुनुहुन्थ्यो । त्यही व्यवसायलाई सपोर्टको हिसाबले मैले सुरु गरें,’ थापाले आफ्नो दुई दशक लामो व्यावसायिक जीवनको आरोहअवरोहबारे अघि सुनाइन् ।
थापा परिवारको छलाङ व्यवसायमा कहिले घाटा । कहिले नाफा । मिलन बिहे गरेर आउँदा थापा परिवारले रिकन्डिसन व्यवसाय भर्खर थालेको थियो । ‘सुरुको अवस्थामा विभिन्न अभाव र कठिनाइ थिए,’ उनले भनिन्, ‘४÷५ वर्षसम्म त हामी आफैले ह्यान्डल ग¥यौं । पछि मात्रै हामीले स्टाफ राखेका थियौं ।’

Advertisement


पोखराबाट सुरु भएको थापा परिवारको व्यवसायको हाँगा फैलिएर चिचवन, झापाको दमक हुँदै काठमाडौंसम्म पुगेको छ । अहिले ड्याटसन र फोर्स मोटरको अधिकृत बिक्रेता बनिसकेको छ थापा परिवार । ट्राभलमा पनि लगानी हालेको थापा परिवारको भर्खर यात्री ट्राभल सुरुआत भएको छ । विभिन्न व्यवसायलाई जोड्ने हेतुले सुरु भएको ‘हिमालय अर्गनाइजेसनमा’ ९ वटा कम्पनीमा आबद्ध भइसकेको छन् । जसको मुख्य उद्देश्य व्यावसायिक घराना बढाउनु हो । जसको नेतृत्व उनै थापाले गरि रहेकी छिन् ।


अटो व्यवसायबाट सुरु गरेको यो परिवारले अन्य वैदेशिक ब्रान्ड नेपाल भिœयाउन पनि पहल गरिरहेको छ । जापानमा उत्पादन हुने सुजुकी मोटरसाइकलको अधिकृत बिक्रेता अहिले थापा परिवारले नै गर्छ । सुजुकी पछि कोरियन मोटरसाइकलको समेत बिक्रेता बन्यो । कोरियन कम्पनीको डेलिम ब्रान्डले पोखरामा राम्रै बजार लियो । अहिले चार पांग्रेको बिक्रेता बनेको थापा परिवारको व्यवसायबाट ९५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।


कोरोना महामारिका कारण व्यापार घटेपछि अहिले कर्मचारीहरुले दुई सिफ्टमा काम गरि रहेका छन् । ‘सुरुमा बन्द हुँदा त हामीले कसैलाई पनि बिदामा पठाएनौं । अब त खुला भनेको फेरि बन्द भयो । व्यापार सबै ठप्प,’ उनले भनिन्, ‘पछि स्टाफहरु आफैले सल्लाह गरेर दुई सिफ्टमा काम गछौं भनेर आइरहनुभएको छ ।’


व्यवसायसँगै मिलन विभिन्न संघसंस्थामा पनि आबद्ध छिन् । थापाले महिला दिदीबहिनीलाई कस्तो खालको प्रेरणा दिएर सक्षम बनाउने भनेर पहल गरिरहेको बताइन् । महिला उद्यमीमा पनि आबद्ध थापा वुमन्स एसोसियसन गण्डकीको कोषाध्यक्ष छिन् । ‘महिला दिदीबहिनीका समस्या र आवश्यकता र कसरी उजागर गर्न सकिन्छ भनेर चाइनादेखि अन्य बाहिरी मुलुकसँग मिलेर काम गरिरहेका छौं । महिला दिदीबहिनीलाई के गर्न सकिन्छ पहल गर्न लागिपरेका छौं,’ उनले भनिन् । लायन्स क्लब इन्टरनेसनल, एम्नेस्टी इन्टरनेसनल लगायत थुप्रै संस्थामा आबद्ध थापा पोखरेली महिला व्यवसायीले सञ्चालन गरिरहेको रेडियो जननीकी अध्यक्ष हुन् ।

घर परिवार र व्यवसाय दुवै एकसाथ सम्हाल्दै आएकी थापाका ३ छोरा छन् । ‘सासुआमाको स्वास्थ्य अवस्था एकदमै कमजोर, ३ वटा छोरासाना । भर्खर सुरु गर्दा मेनपावर पनि कम । बिहान आफ्नो काम सकेर बिहान ७ बजे नै पसलमा पुग्थें,’ उनले सुनाइन्, ‘९ बजेपछि स्टाफहरु आउने । अफिस घर एकै ठाउँमा भएकाले माथि पुग्दै तल ओर्लिँदै गर्थे । माथिबाट तल झरेपछि खाजा बनाउन पनि माथि नै पुग्ने । अफिस बन्द भइसकेपछि खाना बनाउने । के छ दिनभरको अपडेट पनि गर्ने । फाइलिङ बुकमै अपडेट गर्ने गर्थें ।’


नेपाली तथा विदेशी उत्पादनलाई समेट्दै आएको हिमालय अर्गनाइजेसन सँगै थापा परिवारले सञ्चालनमा ल्याएको अन्य व्यवसायमा समेत भ्याएसम्म उनले समय दिने गरेकी छन् । धेरै कम्पनीमा म्यानेजिङ डाइरेक्टरको पदमा रहेकी थापा समय व्यवस्थापन गर्न सके सफल हुन सक्ने बताउँछिन् । हिमालयन अर्गनाइजेसनसँगै हिमालय इन्भेस्टमेन्ट कम्पनी प्रालि, आयाम इन्टर कन्टिनेन्टल प्रालि, हिमालय रिसोर्ट प्रालि, हिमालय अटोवल्र्ड प्रालि, हिमालयन इक्विपमेन्ट प्रालि, हिमालय अटो इन्जिनियरिङ प्रालिलगायत आधा दर्जनभन्दा बढी व्यवसाय सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया