
पोखरा-सरकारले शुक्रबार चीनबाट ल्याएको ४४ लाख डोजमध्येबाट कास्कीलाई ५५ हजार डोज आउने भएको छ । शुक्रबार आएको खोपमध्ये गण्डकी प्रदेशमा १ लाख ६० हजार भेरोसेलको खोप आइपुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खिम खड्काले बताए । यसमध्ये कास्कीमा ५५ हजार डोज खोप आउने स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आर्चायले जानकारी दिए ।
‘निर्देशनालयबाट खोप नआइपुगेको कारण खोप अभियान कहिले सञ्चालन गर्ने निश्चित छैन,’ आचार्यले थपे, ‘अब हामी दुईचार दिनमै बोर्डको मिटिङ बसेर कहिले लगाउने, कति केन्द्रहरु बनाएर छिट्टो निर्णय गर्छाैं ।’ खोप अभियानमा छुटेका उमेरहद साथै विद्यार्थीहरु प्रथामिकतामा पर्ने उनले जनाकारी दिए ।
प्रदेशमा खोप अभियान सञ्चालन हुँदै गएपछि गण्डकीमा कोरोना संक्रमण दर कम हुँदै गएको छ । प्रदेश निर्देशनालयले ११ जिल्लामै खोप कति आउँछ भन्ने जानकारी पठाइसकेको निर्देशक खड्काले बताए ।
निर्देशनालयले सोमबारदेखि प्रदेशका जिल्लाहरुमा खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ । यो अभियानमा ४५ वर्षमाथिका व्यक्तिहरुलाई लगाइने खड्का बताउँछन् । भन्छन्, ‘अब हुने अभियायनमा दोस्रो खोप लगाउन बाँकी र उमेर हदसम्मका लागि मात्र लगाउने निर्देशनालयको योजना छ ।’
खड्काका अनुसार ५० वर्षभन्दा माथि उमेर समूहकाले खोप लगाइसकेका छन् । त्यसबाहेक अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कर्मचारी, शिक्षक, पत्रकार, बैंक, सहकारीका कर्मचारी र उमेर समूहलाई प्रदेशमा खोप दिइसकेको उनले बताए । ‘खोप अभियान जारी छ । विस्तारै संक्रमण दर पनि घट्दै जान्छ,’ खड्काले भने, ‘प्रदेशमा अब कोरोनाको खोप अभियान तिब्र हुन्छ विदेशबाट अझै खोप आउँछ ।’
२४ लाख जनसंख्या भएको गण्डकी प्रदेशमा ५ लाख ९१ हजार १ सय ४५ जनाले पहिलो र दोस्रो डोज खोप लगाइसकेको खड्काले बताए । खोप लगाएकामध्ये सबैभन्दा बढी कास्कीका छन् । कास्कीमा पूरा खोप १ लाख ७५ हजार ७ सय १८ जनाले लगाइसकेका छन् । पहिलो डोजको खोप १ लाख ६४ हजार ४ सय ३२ जनाले पाएका छन् ।
खोप अभियानले संक्रमण दर कम भएको डाक्टरहरु बताउँछन् । धेरैले खोप लगाएका कारण संक्रमण दर घटेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरद बराल बताउँछन् । उनले चाडपर्व नजिकिएका बेला संक्रमण दर उच्च हुने हुँदा सर्तक रहनसमेत अनुरोध गरे । ‘निषेधाज्ञा खुकुलो भए पनि स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने र हिँडडुल गर्ने गरौँ,’ उनले भने । अहिले यस्तो अवस्था आउला भन्ने सोचेका थिएनौं, त्यसैले अझै पनि जोखिम छैन भन्न सकिँदैन ।’

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया