छोटो समयमा महत्वपूर्ण काम भए: मुख्यमन्त्री

समाधान संवाददाता २०७८ असोज ५ गते ११:३२


पोखरा- मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले छोटो अवधिमा महत्वपूर्ण काम गरेको बताएका छन् । आफ्नो नेतृत्व्मा सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा सोमबार उनले सरकारका उपलब्धि सार्वजनिक गरे ।


सरकारले छोटो समयमा बजेट ल्याएको उनले बताए । बजेट पास गर्नु तीन दिन अघि उनको नेतृत्वमा सरकार बनेको थियो । ‘बजेट पास गर्ने समयमा नयाँ सरकार बनेकाले तीन दिनमा बजेट निर्माण गरेर संसदमा बजेट प्रस्तुत गर्‍यौं,’ मुख्यमन्त्री पोखरेलले भने, ‘छोटो समयमा नै हतार हतारमा बजेट ल्याउनु पर्ने बाध्यताले जनअपेक्षा अनुसार बजेट बनाउन सकेनौँ ।’


२९ जेठमा कांग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा सरकार गठन भएको थियो । महिलाको स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार गर्ने निर्णय मुख्यमन्त्रीले सरकार सम्हाल्दाकै दिन गरेका थिए । उक्त विषय बजेटमा पनि समावेश छ । स्तनका साथै पाठेघरको मुखमा लाग्ने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने योजना अन्तिम चरणमा पुगेको मुख्यमन्त्रीले बताए ।

Advertisement


बाढीपहिरो व्यवस्थापनका लागि सबै स्थानीय तहमा ५ लाखका दरले रकम निकासा दिएको मुख्यमन्त्री पोखरेलले सुनाए । बाढीपहिरोले पूर्ण क्षति भएका घरहरूको पुनःनिर्माणका लागि प्रतिघर एक लाखका दरले राहत उलब्ध गराउने निर्णय गरेको पनि उनले बताए । उनकै भनाइमा विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी जिल्लामा एक करोड ३७ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।


सरकारी कार्यालयलाई सोलार बाँडेको, पाँच सय थान जाली वितरण गरिएको, स्थानीय तहसँग बैठक बसेको, कर्मचारीको क्षमता विकास तालिम गरेकोलगायत सरकारका उपलब्धिमा समेटिएको छ । ‘अध्ययन प्रतिवेदन स्वीकृत गरेको, पत्रकार महासंघलाई फर्निचर सहयोग गरेको, प्रहरीलाई गाडी सहयोग गरेको, उद्धार उपकरण खरिद गरेको, कानुनको पुनरावलोकन समिति गठन गरेको, लोककल्याणकारी विज्ञापन दिने सञ्चारमाध्यम छनोट गरेको,’ सार्वजनिक उपलब्धि पुस्तिकामा छ ।

Advertisement


१० किलोमिटर सडक ग्राभेल र २० किलोमिटरमा कालोपत्रे गरेको पनि मुख्यमन्त्रीले सुनाएका छन् । सडक मानवमुक्त प्रदेश बनाउन कार्यविधि तयार गरेको, प्रदेशका २ सय ९० वटा तालहरूको तथ्यांक प्रतिवेदन बनाइएको, प्रदेश शिक्षा नीति पास भएको लगायत उपलब्धि भएको मुख्यमन्त्रीले बताए । ‘राम्रा काम भएका छन्,’ उनले भने, ‘त्यसको प्रभाव देखिन समय लाग्छ ।’

तपाईको प्रतिक्रिया