कांग्रेस महाधिवेशन

गण्डकीमा पौडेल पक्षको दबदबा

अनिष भट्टराई २०७८ असोज ११ गते ११:४४

गोरखा, पर्वत र म्याग्दीमा देउवा पक्षका उम्मेदवार पालिकाको नेतृत्वमा आए

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गण्डकीका स्थानीय तहमा संस्थापन पक्षको उपस्थिति कमजोर देखिएको छ । निर्वाचन सम्पन्न भएका पालिकामा संस्थापन इतरको दबदबा देखिन्छ । यस्तो छ विभिन्न जिल्लाका पालिकामा कांग्रेसका समूहहरुको उपस्थितिः

कास्की
कास्कीको पोखरा महानगरपालिकामा सुरेन्द्रमान बिजुक्छे सभापति निर्वाचित भएका छन् । खसेको १ हजार ३ सय ४४ मतमध्ये ४ सय १४ मत ल्याउँदै बिजुक्छेले जित हात पारे । बिजुक्छेलाई रामचन्द्र पौडेल पक्षधर कास्कीका नेताको साथ थियो । बिजुक्छे यसअघि पोखरा महानगर समितिमा उपसभापति, कोषाध्यक्ष र सदस्य भइसकेका व्यक्ति हुन् ।

Advertisement

कास्कीका अन्य पालिकामा पनि पौडेल पक्षकै उपस्थिति बाक्लो छ । मादी गाउँपालिकामा यामप्रकाश गुरुङ सभापति निर्वाचित भएका छन् । कास्की कांग्रेस सभापति कृष्ण केसीले उठाएका उम्मेदवार देवीजंग गुरुङलाई १ मतले हराउँदै यामप्रकाश निर्वाचित भएका हुन् । केसी पौडेल पक्षधर हुन् ।

देवीले ९२ मत पाउँदा यामप्रकाशले ९३ मत पाए । गगन थापा निकटस्थ गुरुङ सभापति बने पनि अधिकांश पदाधिकारी पौडेल पक्षधर छन् । माछापुच्छ्रे गाउँपालिकामा पनि सभापति संस्थापन समूहले जित्दा बाँकी पदाधिकारीमा पौडेल खेमाको बर्चस्व छ । पौडेल समूहका मधुसूदन अधिकारीलाई १५ मतान्तरले हराउँदै वीरेन्द्र गुरुङ सभापति बनेका हुन् ।

Advertisement

अन्नपूर्ण गाउँपालिकामा मनपति भण्डारीको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ । रुपा गाउँपालिकामा विमलबाबु न्यौपानेको नेतृत्वमा सर्वसम्मत समिति बनाइएको छ । भण्डारी र न्यौपानेलाई नेतृत्वमा पु¥याउन पौडेल पक्षधर नेताहरुको साथ र समर्थन थियो ।

लमजुङ

लमजुङका ८ मध्ये निर्वाचन सकिएका ७ पालिकामा पौडेल समूहको एकछत्र राज छ । ७ पालिकामध्ये ६ पालिकामा पौडेल पक्षका सभापति छन् । बेसीसहर नगरपालिकामा शरणहरि जोशी सभापति बनेका छन् । सुन्दरबजार नगरपालिकामा प्रकाश सेंढाइ र मध्यनेपाल नगरपालिकामा वसन्तराज घिमिरे सभापति निर्वाचित भएका छन् । यी सबै निर्वाचित सभापति पौडेल समूहका हुन् । मतपत्र कब्जा गरेर जलाइएपछि राइनास नगरपालिकाको निर्वाचन स्थगित छ । लमजुङका ४ नगरपालिकामा सर्वसम्मत नेतृत्व चुनिएका छन् । दोर्दीमा देउवा पक्षका दिक्षबहादुर घले सर्वसम्मत चुनिएका छन् । दूधपोखरी, मस्र्याङ्दी र क्व्होंलासोथार गाउँपालिकामा पौडेल पक्षधर नेतालाई सर्वसम्मत रुपमा सभापति चयन गरिएको छ ।

स्याङ्जा
स्याङ्जाका ११ पालिकामध्ये ९ पालिकाको मत परिणाम आइसकेको छ । जिल्ला सभापतिमा उठ्ने भनिएका राजु थापाको साथ पाएका नेताहरुले स्याङ्जाका अधिकांश पालिकामा जित दर्ता गराएका छन् । थापा देउवा पक्षधर भए पनि उनलाई रामचन्द्र पौडेलको पनि साथ रहेको बताइन्छ । कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठले भागवतप्रकाश मल्ललाई साथ दिएपछि चिढिएका राजुलाई पौडेलको साथ छ । जिल्ला सभापतिमा राजु र भागवत आमनेसामने हुने लगभग पक्का छ ।

चापाकोट नगरपालिकामा विक्रम सारु सभापतिमा निर्विरोध भएका छन् । उनी भागवतप्रकाश मल्ल पक्षधर हुन् । गल्याङमा पनि भागवतप्रकाश पक्षकै श्याम बस्याल सभापति बनेका छन् । पुतलीबजार नगरपालिकामा भने राजु थापाको समर्थन पाएका सुरजकुमार अधिकारीले नतिजा आफ्नो पक्षमा पारे ।

आँधीखोला गाउँपालिकामा नरेन्द्र पौडेल सभापति बनेका छन् । पौडेल उनै हुन् जो गोपालमान श्रेष्ठ मन्त्री हुँदा उनका निजी सचिव थिए । पौडेल निजामती सेवाबाट निवृत्त भएर राजनीतिमा प्रवृत्त भएका हुन् । गोपालमान शिक्षा मन्त्री हुँदा उनलाई जिल्ला शिक्षा अधिकारी बन्ने मौका मिलेको थियो । तर अहिले उनी राजु थापाको पक्षमा लागेर सभापति बनेका हुन् । अर्जुनचौपारी गाउँपालिकामा राजु थापाकै पक्षका विष्णु काफ्ले सभापति बनेका छन् । भीरकोट, बिरुवा, हरिनास र फेदीखोलामा पनि थापा पक्षकै उम्मेदवारले जित हासिल गरेका छन् ।

तनहुँ
तनहुँमा भने संस्थापन र पौडेलसँगै कृष्ण सिटौला समूहका उम्मेदवार पनि विजयी भएका छन् । ४ पालिकामा संस्थापन पक्षले जित्दा २÷२ पालिकामा पौडेल र सिटौला पक्ष विजयी भएको छ । देवघाट, बन्दीपुर, आँबुखैरेनी, म्याग्देमा शंकर भण्डारी निकट उम्मेदवारले सभापति पद पाएका छन् । भण्डारी संस्थापन पक्षका हुन् ।

व्यास नगरपालिकामा पौडेल पक्षका सूर्यचन्द्र हड्खले विजयी भएका छन् । भानुमा पनि पौडेल पक्षधर रामकुमार श्रेष्ठ सभापति चुनिएका छन् । शुक्लागण्डकी नगरपालिकामा गोपीबहादुर गुरुङ सभापति चुनिए । उनी युवा नेता प्रदीप पौडेल निकट छन् । प्रदीप हालसम्म सिटौला पक्षमा छन् । घिरिङमा पनि प्रदीप पौडेलनिकट ज्ञान थापाले सभापति पद पाएका छन् । तनहुँको भीमाद नगरपालिकामा सोमबार मतदान हुँदै छ भने रिसिङ गाउँपालिकामा विवाद टुंगो लागेको छैन ।

पर्वत

पर्वतका ७ स्थानीय तहमध्ये बिहादी र महाशिला गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । दुवैमा संस्थापन पक्षले सभापति जितेको छ । बिहादीमा विष्णुप्रसाद भुसाल र महाशिलामा उज्वल गुरुङ सभापति बनेका हुन् ।

म्याग्दी

म्याग्दीका ५ पालिकामध्ये सबैमा संस्थापन पक्षले सभापति जितेको छ । हालका जिल्ला सभापति रहेका देउवा निकटस्थ खम्बिर गर्बुजाको साथ पाएका उम्मेदवारहरुले सभापति पद पाएका छन् । मंगलामा सभापति पद जितेका नरसिंह केसी कुनै समूहमा औपचारिक रुपमा नखुले पनि उनलाई खम्बिरको साथ रहेको स्थानीय नेता बताउँछन् ।

गोरखा
गोरखाका ११ पालिकामा पनि संस्थापन पक्षको पकड देखिन्छ । गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिकामा सर्वसम्मत सभापति चयन भएका छन् । अरु पालिकामा पनि संस्थापन पक्षले जित हात पारेको छ । हरि घले, सुरेन्द्र पाण्डे र चिनकाजी श्रेष्ठ जस्ता प्रभावशाली नेता देउवा पक्षमा उभिँदा पौडेल पक्षको भने प्रभाव देखिँदैन ।

पौडेल पक्षमा कमला पन्तमात्र केन्द्रीय नेता हुन् । मनाङका सबै पालिकामा सर्वसम्मत रुपमा पदाधिकारी चयन भएका छन् । बागलुङमा आइतबारमात्र निर्वाचन भएकाले मत परिणाम आउन बाँकी छ ।

अनिष भट्टराई

भट्टराई समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया