साफ च्याम्पियनसिप प्रतियाेगिता

नेपालकाे शानदार प्रदर्शन, श्रीलंका ३–२ ले पराजित

समाधान संवाददाता २०७८ असोज १९ गते ७:३०

पाेखरा ।

माल्दिभ्सकाे राजधानी मालेमा भैरहेकाे साफ च्याम्पियनसिपमा नेपालले शानदार प्रदर्शन कायमै राखेकाे छ । पहिलाे खेलमा आयाेजक तथा उपाधीकाे दावेेदार मानिएकाे माल्दिभ्सलाई हराएर सनसनी मच्याएकाे नेपालले दाेश्राे खेलमा पनि उत्कृष्ठ खेल प्रदर्शन गरेकाे छ ।

आफ्नो दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकालाई ३–२ गोलको नतिजामा पराजित गरेको हाे । खेलकाे ३३औं मिनेटमा सुमन लामाले गोल गरेसँगै नेपालले खेलमा पकड बनाएको थियो ।

Advertisement

पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले ५१औं मिनेटमा अग्रता दोब्बर पारेको थियो । नेपालका लागि आयुष घलानको पासमा अञ्जन विष्टले दोस्रो गोल गरे ।

त्यसको ६ मिनेट नबित्दै श्रीलंकाका मार्भिन हामिल्टनले गोल गरेका थिए । निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा नेपालका आयुषले गोल गर्दै नेपालको जित निश्चित गरिसकेका थिए ।

Advertisement

यद्यपि इन्जुरी समयमा गौतम श्रेष्ठले पेनाल्टी एरियामा बल ह्यान्ड गरेको भन्दै रेफ्रीले पेनाल्टी दिएपछि श्रीलंकाले दोस्रो गोल फर्काउने माैका पायाे र सोही पेनाल्टीमा श्रीलंकाका डिलियोन डी सिल्भाले गोल गरेका थिए ।

जितसँगै नेपालको ऐतिहासिक फाइनल प्रवेश नजिक पुगेको छ । बाँकी दुई खेलबाट एक बराबरी वा जित निकाले नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेल्ने छ । प्रतियोगितामा दुई खेलमा ६ अंक जोड्ने नेपाल पहिलो टोली हो ।

नेपालले आगामी आइतबार भारतसँग खेल्ने छ ।

नेपालले २ खेलबाट ६ अंक जोडेर शीर्ष स्थान कब्जा गरेको छ भने समान खेलमा ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । एक खेलमा १ अंक जोडेको भारत तेस्रो र १ खेलमा अंकविहीन माल्दिभ्स चौथो स्थानमा छ । दुई खेलमा अंकविहीन श्रीलंका अन्तिम (पाचौं) स्थानमा छ ।

तपाईको प्रतिक्रिया