
म्याग्दी – अक्करे भीरमा एउटा हातमा चोयाको डोरीको भ¥याङ (पराङ), सुरक्षाका लागि चोयाकै डोरी, मह संकलन गर्ने डाली, कोप्नका लागि निगालाको टुप्पोमा फलाम बाँधिएको डग र मह बोक्नका लागि गाग्री लगायत थुप्रै सामान ।
यी सामग्रीसहित एउटा हातको भरमा ज्यान हत्केलामा राखेर मह सिकार गर्न २६ वर्षीय रेशम पुन अब्बल छन् । मह सिकार उनले बुढापाकाले गरेको देखेर नै सिकेका हुन् । कसैले हेर्दा पनि कहालीलाग्दो भीरको बीचमा हातको सहाराले मह सिकार गर्दै उनले म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेका युवाले विद्यालय सञ्चालन गर्न निजी शिक्षकलाई तलबमा सहयोग गर्ने गरेका छन् ।
पराङको भरमा वर्ष २ सिजनमा हुने भीर माहुरीको मह सिकारका लागि पुन निर्विकल्प भिरौटे (भीरमा चढेर मह काढ्ने) हुन् । अग्ला र अक्करे पहाडमा मह काढ्ने पेसा जोखिमपूर्ण र साहसिक मानिन्छ । भीरपहरामा ज्यान हत्केलामा राखेर काम गर्नुपर्ने भए पनि पुन लगायतका युवा मह सिकार पेसालाई जोगाउन अग्रसर छन् ।
कुइने मंगलेमा मह सिकारबाट भएको आम्दानीलाई स्थानीय रितुङ माध्यमिक विद्यालयमा निजी स्रोतका शिक्षकको तलब जुटाउन खर्च गर्ने गरिएको छ । वडाभित्रका गाउँबस्तीका स्थानीयले आलोपालो गरी मह काढ्दै आएकोमा वडा कार्यालयको संयोजनमा टोली विभाजन गरी मह काढ्ने र मह बिक्री गरी गर्ने गरिएको छ । यसबाट भएको आम्दानीबाट बचत रकमलाई विद्यालय सञ्चालनमा सहयोग गर्न थालिएको छ ।
वडाध्यक्ष गमान छन्त्यालका अनुसार संकलन भएको मह बिक्री गरी मह काढ्न परिचालन भएकालाई पारिश्रमिक छुट्याएर बचत हुन आउने रकम विद्यालयका निजी स्रोतबाट राखिएका शिक्षकको तलब जुटाउन प्रयोग गरिन्छ । भीरमा चढेर मह काढ्ने भिरौटेलाई प्रतिदिनको ३ हजार ५ सय रुपैयाँ, भीरको टुप्पोमा बसेर मह संकलनमा सघाउनेलाई २ हजार र अन्य सहयोगीलाई १ हजार १ सयका दरले पारिश्रमिक उपलब्ध गराउने गरिएको छ । एकीकृत रुपमा संकलन हुने मह बजार दररेट अनुसार बिक्री गर्ने गरिएको छ ।
प्रशोधन गरी बिक्रीका लागि बजारमा ल्याइएको मह प्रतिलिटर २ हजार रुपैयाँसम्म पर्छ । वडाभित्र रहेका बस्तीलाई समेटर समूह विभाजन गरी मह भएका भीर बाँड्ने र मह काढ्ने गरिएको वडा अध्यक्ष छन्त्यालले सुनाए । उनले भने, ‘आफैंमा जोखिमपूर्ण काम हो मह सिकार, यो पेसाको निरन्तरतामात्रै गरिएको छैन, स्थानीयको आयआर्जन र शून्य दरबन्दी भएको मावितहका शिक्षकको तलब जुटाउनसमेत मह सिकार सहयोगी बनेको छ ।’
समुदाय स्तरबाट चन्दा संकलन लगायतका माध्यमबाट वार्षिक लाखौँ रुपैयाँ जुटाउनुपर्ने अवस्थामा मह सिकारबाट हुने गरेको सहयोगले विद्यालयलाई राहत मिल्ने गरेको विद्यालयका प्रधानाध्यापक खिम छन्त्यालले बताए । मह राम्रो उत्पादन भएको वर्ष ३ लाखभन्दा बढी रुपैयाँ विद्यालयलाई सहयोग जुट्ने गरेको छ ।
‘संधै एकैनासको मह संकलन हुँदैन, कुनै सिजनमा मह काढ्नेहरुको पारिश्रमिक जुटाउन पनि धौ पर्छ, कुनै सिजनमा राम्रो भयो भने पारिश्रमिक कटाएर विद्यालयलाई सहयोग प्राप्त हुन्छ’ छन्त्यालले भने । यस विद्यालयमा निजी स्रोतका शिक्षकको तलब भत्तामा समुदायले वार्षिक करिब ९ लाखभन्दा बढी जुटाउनुपर्ने बाध्यता छ । विद्यालयमा १ सय २० बालबालिका छन् ।
पुख्र्याैली धान्दै युवा
पुख्र्यौली पेसाको रुपमा चिनिने मह सिकारको सीप हस्तान्तरण नहुँदा विभिन्न ठाउँमा मह सिकार हराउन थाले पनि यहाँका युवा भने मह सिकारलाई आयआर्जनको माध्यम बनाइरहेका छन् । १३ वर्षको उमेरदेखि नै मह सिकारमा लागेका रेशम पुनले दशकभन्दा बढी समयदेखि भिरौटेको जिम्मेवारी सम्हालेका छन् ।
उनी सुरुमा मह काढेको हेर्न पुग्थे । पछि मह बोक्ने, काढ्ने ठाउँमा सहयोगी हुँदै सिकारी बनेका हुन् । सुरुमा होचा र कम जोखिम भएका भीरमा मह काढेका पुन अहिले भने अक्करे पहाडमा चढेर मह काढ्छन् । चोयाको डोरीमा झुन्डिएर माहुरीका चाका नजिक पुगेर मह काढ्ने काम उनका लागि सामान्य जस्तै बन्न पुगेको छ ।
पुनसँगै पात्लेखर्कका ३० वर्षीय धनबहादुर पुन पनि मह सिकारका भीरौटे हुन् । ८ वर्षदेखि भीरमा चढेर मह काढ्ने काम गर्दै आएका पुनले भीरमा चढ्ने काम कठिन र जोखिमयुक्त भए पनि पुर्खाले अपनाउँदै आएको पेसा अबलम्बन गरेको उल्लेख गरे ।
चोयाबाट बनाइएका डालीलाई भीरौटेले मौरीको चाका नजिक लगेर टुप्पोमा कोप्न मिल्ने बनाइएको निगालाको सहायताले मह काढ्ने गर्छन् । मह सिकारले आयआर्जनसँगै पुरानो पेसा पनि जोगिने भएकाले आफूहरुले यसलाई निरन्तरता दिएको धनबहादुरले बताए ।
गाउँदेखि टाढाका जंगल, खोला, नदीका कठिन बाटो भएर भीर माहुरीको घार भएको ठाउँसम्म पुग्नुपर्छ । हरेक दिन फरक फरक भीरमा पुग्नुपर्ने, नजिक नजिकमा कमै मात्रामा माहुरीको घार हुने भएकाले हरेक दिन कठिन यात्रा र संघर्ष गरेर मह संकलन गर्नुपर्ने बाध्यता हुन्छ । पात्ले खर्कका १२ युवाको समूहले यस पटकको सिजनमा कन्ठेडम्मार र नरपट्टाखोला क्षेत्रका दर्जन बढी भीरमा करिब २० दिन लगाएर मह सिकार गरेका थिए ।
हरेक सिजनमा काढेको मह बिक्रीबाट ५ देखि ७ लाखसम्म गाउँमा भित्रिने गरेको छ । सुरुका दिनमा जंगल र भीरका देउतालाई खुसी बनाउन र कुनै अप्रिय घटना नहोस् भन्ने कामनासहित पूजा गरी धजा बाँध्ने चलन छ । भीरमा मह भएको निक्र्याैल भएपछि पहाडको टुप्पोमा रहेका रुखमा पराङ बाध्ने र भीरतर्फ खसाल्ने गरिन्छ । सकभर भीरको शिर र पुछार दुबैतर्फ हेरालो बस्ने गर्छन् ।

राकेश शर्मा
शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया