कविताः एउटा नोटको जीवनी

समाधान संवाददाता २०७८ असोज २३ गते १८:५८
भूपिन


मेरो हातमा
हजारौँ हातहरूको फोहोर टाँसिएको
कागजको एक नोट छ
म त्यसको जीवनी पढिरहेछु ।

यो नोटको जन्मको बारेमा
म बिल्कुल अनभिज्ञ छु ।
तर थाहा छ मलाई–
कुनै बैंकको सफा कुनाबाट
यो नोटको फोहोर यात्रा सुरू भयो ।

एक क्यासियरले
जिब्रोको थुकमा बूढीऔँला चोबेर
गन्यो यो नोट
र पहिलो पटक थमायो ग्राहकको हातमा ।

बैंकबाट बाहिर निस्किएपछि
नोट पुग्यो
मासु पसलमा
नोटमा बगरेको हातको आलो रगत टाँसियो ।

त्यसपछि पुग्यो नोट
रुघाग्रस्त साहूको हातमा
नोटमा साहूको सिंगान टाँसियो ।

त्यसपछि पुग्यो नोट
कुनै आसामीको हातमा
जो भर्खरै पिसाब फेरेको हातले
नोट गन्दै थियो ।

पुग्यो नोट
भर्खरै बाथरुममा सेफ्टी प्याड निकालेर
बाहिर निस्किएकी मालिक्नीको हातमा
नोटमा टाँसियो
मासिक स्रावको रगत ।

पुग्यो नोट
यौनकर्मीको हातमा
जसमा टाँसियो चिप्लो यौनरस ।

भ्रष्ट, तस्कर, दलाल
पण्डा, नेता, हिपोक्रेट
सबैको हातहातसम्म
नोटको यात्रा जारी रह्यो ।

एक पटक बढो मुस्किलले
गरिबको हातमा पनि
पुग्यो नोट
जसमा उसको आँशु
र पसिना पनि मिसियो ।

तर, भोलिपल्ट नै नोट पुग्यो
बेरोजगारीले किलकिले अँठाएर
कुलतमा फसेको
कुनै युवकको हातमा
त्यसमा गाँजाको गन्ध टाँसियो
अफिमको बास्ना टाँसियो ।

लामो यात्रापछि
अन्तमा पुग्यो नोट
एक भक्तको हातमा
भक्तले चढायो भगवानलाई
त्यही नोट ।

म पढिरहेछु
एउटा नोटको रोमाञ्चक जीवनी ।
तर बुझिरहेको छैन कि
किन चढाउँछ भक्तले देउतालाई
यो फोहोर नोट?
किन सबैभन्दा सफा लाग्छ मानिसलाई
यो फोहोर नोट?

मेरो हातमा
हजारौँ हातहरूको फोहोर टाँसिएको
कागजको एक नोट छ
म त्यसको जीवनी पढिरहेछु ।

तपाईको प्रतिक्रिया