‘चोइटिनेभन्दा १० गुणा शक्ति एमालेसँग छ’

समाधान संवाददाता २०७८ कार्तिक ३ गते ११:५५

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले )का महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले चोइटिएर जाने समूहको भन्दा १० गुणा शक्ति एमालेसँग भएको दाबी गरेका छन् । उनले पछिल्लो घटनाक्रमले पार्टी झन बढी शक्तिशाली हुने उल्लेख गरे । नेकपा (एमाले)कास्कीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले देशव्यापी रुपमा आएको जनलहरले पार्टी सुदृढ भएको बताए ।


पार्टी एकताको भावना अनुसार पूर्वमाओवादी नेता तथा कार्यकर्तापद र प्रतिष्ठा छाडेर एमालेमा कटिवद्ध भएर लागेको चर्चा गर्दै उनले उत्साहका साथ नेता, कार्यकर्ताको प्रवेशले एमाले बलियो बन्दै गएको उल्लेख गरे । ‘प्रतिस्पर्धाका राजनीतिमा १ जना बाहिरिँदा या चोइटिदा पार्टीलाई घाटा हुन सक्छ,’महासचिव पोखरेलले भने, ‘चोइटिएका भन्दा दशौं गुणाशक्ति एमालेसँग भएकाले झन शक्तिशाली हँुदै गएको छ ।’ नेता पोखरेलले पार्टीको आर्थिक समृद्धि र दिगो विकासको एजेन्डालाई आम नेपाली जनताको साथ र समर्थन रहेको बताए ।

उनले मुलुकको राष्ट्रिय राजनीति २ ध्रुवमा विभाजित भएको चर्चा गरे । वर्तमान सत्ता गठबन्धनले सत्ता स्वार्थ, राजनीतिक अस्थिरता र विकास निर्माणलाई अवरुद्ध पार्ने काम गरेको आरोप लगाउँदै उनले आर्थिक विकास, समृद्धि राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गर्ने नेतृत्व पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दाबी गरे ।

Advertisement


महासचिव पोखरेलले विकास चाहने,सामाजिक सद्भाव कायम राख्ने, देश बनाउने संकल्प राख्ने सबै नेपालीले पार्टी अध्यक्ष ओलीको अभियानलाई साथ दिएको बताए ।

महासचिव पोखरेलले हिजो को कताको भनेर हेर्ने तथा संकीर्ण नबनेर सबै नेता तथा कार्यकर्तालाई समेट्न निर्देशन दिए । ‘दिनभरी जो जहाँ जएर जेगरेपनि साँझ घर फर्कनेलाई उचित स्थान दिनुस् । पार्टी एकताको पक्षमा क्रियाशील हुनेलाई पार्टीमा सामेल गर्नुस्,’उनले भने । नेता पोखरेलले पार्टीले सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानलाई जोडतोडका साथ अगाडि बढाउने चर्चा गरे । उनले देशलाई धनी र जनतालाई सुखी बनाउने एजेन्डालाई नियमित रुपमा अगाडि बढाउने उल्लेख गरे ।

Advertisement


नेता पोखरेलले राजनीतिक अधिकार प्राप्तिको लडाईको कालखण्ड पूरा भएको बताए । विगतमा जेल बसेको,भूमिगतको कथा हाल्ने नेता प्रेरणाको स्रोत बन्न सक्ने उल्लेख गर्दै उनले अहिलेको सन्दर्भमा आर्थिक विकास र समृद्धिको नेतृत्व गर्न सक्ने व्यक्ति नेता बन्न सक्ने तर्क गरे । राजनीति गरेको, देश बुझेको र विषय विज्ञले मात्र देश चलाउन सक्ने उल्लेख गर्दै उनले नेतृत्वमा नीति कार्यक्रम, योजना र आचरण आवश्यक रहेको चर्चा गरे । महासचिव पोखरेलले एमालेमा पाका परिपक्व, अधवैसे र तन्नेरी पुस्ताको तालमेल गराएर पार्टीलाई सुदृढ बनाउने बताए ।


उनले पार्टीलाई विचारमा प्रष्टता र संगठनमा चुस्त, दुरुस्त बनाउने उल्लेख गरे । पार्टीे जनताको बहुदलीय जनवाद (जबज)बाट निर्देशित हुने चर्चा गर्दै उनले जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने बताए । जन नेता मदन भण्डारीले प्रतिपादन गरेको तथा एमालेले हिजोदेखि मान्दै आएको मात्र नभएर जबज अग्रज कम्युनिस्टहरुको विकसित निष्कर्ष र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको निचोड भएको दाबी गरे । उनले ३ तहको सरकार र पार्टीले गरेका राम्रा काम दस्तावेज एकमुष्ठ जनताले बुझ्ने गरी लैजान निर्देशन दिए । उनले कात्तिक ६ गते हुने वडाको अधिवेशन र ९ गते हुने पालिकाको अधिवेशन सर्वसम्मत बनाउन आग्रह गरे । कार्यक्रममा नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापा र सचिव दामोदर बैरागीले बोलेका थिए ।

तपाईको प्रतिक्रिया