चिनको नाकामा पुग्यो बस

बस आउदा स्थानीयबासी उत्साहित

सुन्दरकुमार थकाली २०७८ कार्तिक ३ गते २०:३०
फोटो क्याप्सन ः उपल्लो मुस्ताङको कोरलानाकामा बस पुग्यो ,फोटो खिचाउदै पर्यटक । तस्विर ःछिरिङ फेन्जो गुरुङ ।


जोमसोम—चिनको स्वशासितक्षेत्र तिब्बत र नेपालतर्फ उपल्लो मुस्ताङको सीमानाका कोरलानाकामा पहिलो पटक यात्रुवाहक बस पुगेको छ । कोरलानाकासम्मका लागि आन्तरिक पर्यटक लिएर बुधबार मुस्ताङ मुक्तिनाथ यातायात प्रालिको ग १ ख ७३३४ नं. को बस पुग्दा उपल्लो मुस्ताङका स्थानीय दंग परेका छन् ।
बुधबार मुस्ताङ यातायात प्रालिले उपल्लो मुस्ताङमा बस संञ्चालन गर्नका लागि ट्रायल परिक्षण गरेको थियो । जोमसोम देखि उपल्लो मुस्ताङमा पुगेका बसका चालक प्रकाश आले सडक स्तरोन्नति राम्रो भएको एकाध स्थानमा सडक स्तरोन्नति र मोटरेबल पुल निर्माण हुनेसके बाह्रै महिना बस चलाउन सकिने जानकारी दिए । उनले विगतको तुलनामा सडक अवस्थामा ब्यापक सुधार भएको उल्लेख गरे ।
लोमान्थाङबाट कोरलानाकाको २४ नं सीमास्तम्भसम्म मुस्ताङ मुक्तिनाथ यातायातको बस पुगेको उपल्लो मुस्ताङका स्थानीय छिरिङ फेन्जो गुरुङले जानकारी दिए ।

उनले उपल्लो मुस्ताङमा पहिलो पटक यात्रुबाहक बस आएको र बस आउदा स्थानीयबासी उत्साहित भएको बताए । बुधबार उपल्लो मुस्ताङ पुगेको बसका चालक तथा पर्यटकलाई स्थानीयबासीले खादा लगाएर सम्मानसहित स्वागत गरेका छन् ।
बुधबार पहिलो पटक बस पुगेको र सो बस र बसका पर्यटकले कोरलानाकाको २४ नं. सीमास्तम्भमा फोटो खिचेको तस्विर समेत सामाजिक संञ्चालनमा राखिएको स्थानीय फेन्जो गुरुङले जनाए । उपल्लो मुस्ताङमा सहज रुपमा बस पुगेपछि उपल्लो मुस्ताङ र कोरलानाकासम्म पुग्न आन्तरिक पर्यटक र स्थानीयबासीले थप सुविधा हुने अपेक्षा गरिएको छ । स्थानीयले उपल्लो मुस्ताङमा नियमति रुपमा बस सेवा सञ्चालन गर्न समेत यातायात ब्यवसायीलाई अनुरोध गरेका छन् ।
उपल्लो मुस्ताङमा विगत ३ वर्ष अघि देखि हलुका फोर ह्वील जीप मात्र चल्ने गर्दथ्यो । राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकखण्ड अन्तर्गत जोमसोम—कोरला सडक निकै जोखिम र सडकको पहुच राम्रो थिएन ।उपल्लो मुस्ताङमा पुग्न हलुका सवारीमा जोमसोमबाट २ हजार भाडा तिर्नु पर्ने थियो । बस चलेमा भाडादर समेत सस्तो हुने स्थानीयको भनाई छ ।पछिल्लो समय जोमसोम कोरला सडक स्तरोन्नति हुदै जान थालेपछि उपल्लो मुस्ताङको यात्रा सम्त सहज हुन थालेको हो ।जोमसोम—कोरला सडक अन्तर्गत केही सडकखण्डको प्याकेजमा ठेकेदार कम्पनीले सडक स्तरोन्नतिमा ढिलासुस्ती गरेपनि अधिकांश खण्डको काम अन्तिम चरणमा पुगेको जनाईएको छ ।

आयोजनाका निमित्त प्रमुख अश्विनी कुमार यादवले जोमसोम—कोरला ११० किमी सडकको भौतिक प्रगती ९० प्रतिशत सम्पन्न भएको जानकारी दिए ।उनका अनुसार निर्माण कम्पनीले जोमसोम कोरला ७ प्याकेज मध्ये ४ वटा प्याकेजको काम हस्तान्तरण गरिसकेको बाकी प्याकेजको् काम पनि अन्तिम चरणमा पुगेको बताए ।उनका अनुसार जोमसोम ताङ्वे १८ किमी,ताङ्वे चैले २९ किमी,छोसेर —कोरला १८ किमी र झैतै —चराङ २५ किमी सडक करिडोरलाई हस्तान्तर भएको हो । यस्तै, चैले देखि भेना सम्मको अप्ठ्यारो सडक पनि अहिले सहज भएको छ ।

Advertisement

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया