अब पोखराको ल्यान्डफिल साइट पस्मराङमा

सञ्जय रानाभाट २०७८ कार्तिक ९ गते ११:४३

पोखरा ।
पोखरामा बनिरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम ८४ प्रतिशत सकिएको छ । महानगरको १४ नम्बर वडामा रहेको विमानस्थलमा आउँदो पुससम्म आन्तरिक उडान गर्ने योजना छ । विमानस्थल निर्माण अन्तिमतिर पुगे पनि विमानस्थल सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार भने अझै बनेका छैनन् ।


विमानस्थल चलाउन पोखरामा रहेको ल्यान्डफिल साइट र प्याराग्लाइडिङ सर्नैपर्ने हुन्छ । आन्तरिक उडान सुरु हुन अब २ महिनामात्र बाँकी छ । उडान गर्न विमानस्थलबाहिर गर्नुपर्ने काम र बन्नुपर्ने पूर्वाधारको अझै टुंगो लागेको छैन ।


कात्तिक ५ गते भएको पोखरा महानगरपालिकाको ५२ औं कार्यपालिका बैठकले ल्यान्डफिल साइड सार्ने निर्णय गरेको छ । पोखरा २० मा रहेको पस्मराङ खोँचमा ल्यान्डफिल साइट चलाउने महानगरले निर्णय गरेको हो । तर छलफल नगरी ल्यान्डफिल सार्न लागेको भन्दै स्थानीयले यसको विरोध गरेका छन् । स्थानीयले ल्यान्डफिल साइट बन्न नदिन तिलबहादुर गुरुङको नेतृत्वमा संघष समिति नै बनाएका छन् ।

Advertisement


ल्यान्डफिलका लागि उपयुक्त ठाउँ खोज्न महानगरपालिकाले गत असार २२ गते वडा नम्बर १६ का वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको थियो । यही समितिले शुक्रबार पेश गरेको प्रतिवेदनका आधारमा पोखरा १६ र २० मा पर्ने पस्माराङ छानिएको हो ।
महानगरले समितिलाई एक हप्ताभित्र स्थानीयसँग समन्वय गरी आयोजना कार्यान्वयनको खाका तयार पर्न भनेको छ । त्यहाँ हुन सक्ने वातावरण तथा सामाजिक प्रभाव न्यूनीकरण गरी स्थानीयको चासो सम्बोधनका विकल्पबारे जानकारी गराउन समितिलाई भनिएको महानगर प्रवक्ता धनबहादुर नेपालीले बताए । उनले ल्याडफिल साइट बन्ने ठाउँको जग्गाको मुआब्जा महानगरले नै व्यहोर्ने जानकारी दिए ।


ल्यान्डफिल साइट स्थानन्तरण गर्न सार्वजनिक तथा सरकारी जमिन, वन क्षेत्रसमेत सोही प्रयोजनका लागि भोगाधिकार, निशुल्क वा लिजमा उपलब्ध गराउन कानुन बमोजिमका प्रक्रिया थाल्ने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

Advertisement


पस्मराङ क्षेत्रमा खानेपानीका ३ मुहान छन् । तीनै मुहानबाट भलाम आसपासका ५ सय घरमा खानेपानी पुगेको स्थानीय शिवप्रसाद अधिकारीले बताए । यहाँ ल्यान्डफिल साइट बनाउादा पानी दुषित हुने स्थानीयको गुनासो छ । उनीहरुमा ती मुलबाट सिँचाइ हुने जग्गा बाँझो हुनेसमेत डर छ ।


पस्मराङ घना जंगल छ । यसका स्थानीयले खेतीपातीसहित केहीले कृषि फर्म पनि चलाएका छन् । पस्माराङ कुखुरा फार्म चलाइरहेका गुरुप्रसाद आचार्यले भने ल्यान्डफिल साइड बन्न नदिने बताए । उनले समितिले प्रतिवेदन बनाउनुअघि स्थानीयसँग सल्लाह नै नगरी कार्यपालिका बैठकमा पेस गरेको भन्दै आक्रोश पोखे । ‘व्यक्तिका नाम करिब यहाँ १ सय ६० रोपनी जग्गा छ । तर सल्लाह नै छैन्,’ उनले भने ।


ल्यान्डफिल साइट बनाउन दिएर आफूहरु प्रदूषित पानी पिउन नसक्ने उनले बताए । उनी भन्छन्, ‘काठमाडौं महानगरपालिकाको गोकर्णमा रहेको ल्यान्डफिल साइट जस्तो अव्यवस्थित हुन्छ । यस कारण पनि हामी यो योजना सफल हुन दिन्नौं ।’


यहाँ अहिले धेरै खेत बाँझो छ । वरपर पहाड, ३ खोलाका मुहान भएको यो खोचनजिकै पातलो बस्ती छ । पस्मराङ काहुँखोलाको मुहान हो । पस्मराङबाट आएको पानीले बर्सेनी काहुँखोला र आसपासको क्षेत्रमा डुबानसमेत हुने गरेको छ । ल्यान्डफिल साइड बनेपछि खोलाले फोहोर बगाएर ल्याउने स्थानीयमा डर छ ।


यहाँ फोहोर व्यवस्थापन गर्दा वडा नम्बर १६ र २० का बासिन्दालाई प्रत्यक्ष असर गर्ने स्थानीय शिवप्रकाश अधिकारी बताउँछन् । उनले जस्तोसुकै अवस्थामा पनि ल्यान्डफिल साइट बन्न नदिने चेतावनी दिए । उनले भने, ‘अहिले वडा नम्बर १४ को बस्तीमा पनि असर परेको छ । त्यस्तै असर यहाँका जनतालाई पर्छ ।’ यो योजना सफल भए विकास भन्दा पनि विनास हुने उनी सुनाउँछन् ।


‘विकास पनि हाम्रालागि हो । विकासभन्दा पनि बढी बिनास हुने देखेपछि विरोध गर्न बाध्य छौं । खानेपानी खोज्न हामी कहाँ जाने ?,’ उनले प्रश्न गरे । पहिला पोखरा महानगरले छाडा चौपाया ल्याएर पस्मराङमा छाड्ने गरेको थियो । त्यो बेला धेरै जनावर मरेर दुगन्ध फैलिएको र त्यसको व्यवस्थापन महानगरले नगरेको स्थानीय सुनाउँछन् ।


ल्यान्डफिल साइट बनेपछि दुर्गन्ध बढ्ने र गिद्ध, चिल लगायतका चराचुरुङी आउने हुन्छ । अधिकारी भन्छन्, ‘नेपालको परिवेशमा यहाँ फोहोर ल्याएर रिफाइन अवस्था मैले देखेको छैन । यो योजनाबाट मेरो पुस्ताले फाइदा देखेको छैन ।’ महानगरले यो निर्णय नसच्याए स्थानीयले संघर्षका कार्यक्रम चाल्ने चेतावनी दिएका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया