कास्की कांग्रेस सचिवमा सिरोज कोइरालाको उम्मेदवारी घोषणा

पोखरा ।
नेपाली कांग्रेस कास्कीको आसन्न महाधिवेशनमा पार्टीको जिल्ला सचिवमा युवा नेता सिरोजविजय कोइरालाले उम्मेदवारी घोषणा गरेका छन् । संवाददाताहरु माझ शनिबार उनले आफूले सचिवमा उम्मेदवारी दिन लागेको जानकारी गराए ।
पारिवारिक विरासतका लागि भन्दा पनि पार्टीभित्र परिवर्तन तथा नयाँ पुस्ताका निम्ति आफ्नो उम्मेदवारी भएको कोइरालाले सुनाए । उनले पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तिमा कांग्रेसलाई रसातलबाट झिक्न, पुनः युवाहरूको ढुकढुकी बनाउन नयाँ जोश र जाँगर सहित उम्मेदवारी प्रस्तुत गरेको उल्लेख गरेका छन् ।
‘अझै पनि हामी कांग्रेसका शुभचिन्तकहरू नबिउँझने हो भने नयाँ नेतृत्व चयनमा विवेक नपुर्याउने हो भने कांग्रेस सक्किने छ। यो तय छ। अहिलेको नेतृत्व पंक्ति कायमै रहने हो भने कांग्रेस सक्किने छ,’ उनले भनेका छन् ।
यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा कोइरालाले पोखरा महानगर पालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर उनी पराजित भए । त्यति बेला आफ्नो पार्टी कांग्रेसमात्रै नभई सबै पार्टीले महानगरलाई आवश्यक उम्मेदवार दिन नसकेकैले आफूले उम्मेदवार दिएको प्रष्टोक्ति कोइरालाको छ ।

कोइरालाको प्रेस विज्ञप्ति निम्नानुसार छ:
७ सालको क्रान्ति गरेर राणा शाही फाल्ने कांग्रेस।
दुई तिहाई ल्याएर सरकार बनाएर क्रान्तिकारी मुद्दा बोकेको कांग्रेस।
२०३६ र २०४६ सालमा राजालाई झुक्न बाध्य बनाएको कांग्रेस।
२०६२/६३ सालमा अनवरत जनअधिकार खोस्ने शाह-राज फ्याँकेर गणतन्त्र ल्याउने माओवादी आतंकलाई मत्थर पार्ने कांग्रेस।
यत्रा युगान्तकारी परिवर्तन ल्याएको कांग्रेस, आम जनताको ढुकढुकी रहेको कांग्रेस, किन खुम्चिएर २०-२१ सिटमा झर्यो?
सधैं लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गरी अग्रपंक्तिमा रहने कांग्रेस सँधै कास्कीमा किन निर्वाचनमा पराजित हुँदै आएको छ?
किन नयाँ पुस्तामा, युवा पुस्तामा कांग्रेस पुग्न सकेको छैन? पहिलो र दोस्तो पुस्ताका कांग्रेसीहरूको क्रमशः निधनसँगै के कांग्रेस निमिट्यान्न नहोला? कि भारतमा भारतीय कांग्रेसको जस्तै स्थिति नेपालमा नेपाली कांग्रेसको होला?
नेपाली कांग्रेस इतिहासको कठिन मोडबाट गुज्रिरहेको छ।
हुन त हाम्रा ७-८ लाख क्रियाशिल सदस्य छन् भनेर कांग्रेस नेतृत्वले भन्ने होला।
तर ती कस्ता क्रियाशील सदस्य हुन्? तिनले के काम गर्छन्? कहिले, के गर्न क्रियाशील हुन्छन्?
चुनावको समयमा मतदान गर्नु मात्रै क्रियाशील हुनु हो?
के नेतृत्वले आफ्ना कथित क्रियाशीललाई कुनै “काम” दिएको छ?
के आफ्ना कार्यकर्तालाई संरक्षण गर्न सकेको छ?
के अहिले कांग्रेसले कुनै मुद्दामा स्पष्ट विचार राखेको छ? देश विकासको खाका प्रस्तुत गरेको छ? के मुलुकको एजेण्डा सेटर कांग्रेस हो? कि अरूले पस्केका एजेण्डामा प्रतिक्रिया दिएर (अथवा कहिले त्यो पनि नदिएर) मात्र बसेको छ कांग्रेस? उसको दायित्व होइन एजेण्डा सेट गर्ने? कि पिछलग्गु भएर बस्ने हो?
पार्टीलाई हाँक्ने भनेको विचार र संगठनले हो।
तर कांग्रेस संगठनका हिसाबले जुम्सो छ।
अनि विचारका हिसाबले खोक्रो छ।
तसर्थ समस्त कांग्रेसजनले आफ्नो महाधिवेशन जस्तो महायज्ञको पूर्वसन्ध्यामा गहन चिन्तन र मनन गर्न जरुरी छ। मन्थन गर्न जरुरी छ।
आउँदा दिनमा नेपाली कांग्रेसलाई कता लग्ने? अनि नेपाली कांग्रेस मार्फत देश र जनतालाई के गर्ने?
अहिले साधारण भन्दा साधारण मानिसका मूल सरोकारका मुद्दा के हुन्? ती मुद्दामा कांग्रेसको स्ट्याण्ड के हो?
अहिले साधारण भुइँमान्छेका तीन सरोकार छन्।
एक, उसका छोराछोरीलाई कसरी राम्रो शिक्षादीक्षा दिने।
दुई, घरमा विरामी पर्दा ओखतीमुलो गर्ने।
तीन, वातावरण क्षय नहुने गरी भौतिक विकास गर्ने।
यी सरोकारहरूलाई कसरी सम्बोधन गर्ने हो कांग्रेसले?
निजी शिक्षा कि सार्वजनिक शिक्षा?
निजी अस्पताल कि सार्वजनिक अस्पताल?
शिक्षा र स्वास्थ्य सरकारको दायित्व कि नागरिकको?
सबै कुरा नागरिकले पकेटबाट खर्च गर्नै पर्ने हो भने उसले खाइ-नखाइ तिरेको करबाट हुन्छ के? त्यो कर जान्छ कहाँ? के कर्मचारी र नेता पाल्न मात्र जनताले कर तिर्ने हो? आफ्ना बालबच्चालाई सकीनसकी पढाएर अर्काको मुलुकमा गुलामी गर्न पठाउने, अनि तिनले पठाएको रेमिट्यान्समा नेता-दलालले रजाइँ गर्ने हो?
जिन्दगी भर विदेशीको गुलामी गरेर फर्कने नेपालीलाई बुढेसकालमा कस्ले पाल्ने हो? हेरचाह गर्ने हो?
यी कांग्रेसले सोच्नुपर्ने राष्ट्रिय मुद्दाहरू होलान्।
हाम्रा स्थानीय मुद्दा पनि छन्।
हाम्रो स्वर्गको टुक्रा जस्तो शहरलाई कसरी संरक्षण गर्ने हो? कसरी करको भारबाट रोकेर कास्की वासीहरूलाई सुख र समृद्धि दिने हो? विकास दिने हो?
अनि कांग्रेसलाई युवा पुस्ताको ढुकढुकी कसरी बनाउने?
उनीहरूलाई कांग्रेसप्रति विश्वासी कसरी बनाउने?
यी सबै मुद्दा छन्। र यी मुद्दामा हाम्रो न स्थानीय न राष्ट्रिय नेतृत्वले केही छलफल गरेको छ?
यदि अझै पनि हामी कांग्रेसका शुभचिन्तकहरू नबिउँझने हो भने नयाँ नेतृत्व चयनमा विवेक नपुर्याउने हो भने कांग्रेस सक्किने छ। यो तय छ। अहिलेको नेतृत्व पंक्ति कायमै रहने हो भने कांग्रेस सक्किने छ।
कांग्रेसलाई रसातलबाट झिक्न, पुनः युवाहरूको ढुकढुकी बनाउन नयाँ जोश र जाँगर सहित मैले उम्मेदवारी प्रस्तुत गरेको छु
तपाईको प्रतिक्रिया