एमाले केन्द्रीय समितिमा कास्कीका १३ आकांक्षी

पोखरा ।
नेकपा एमालेको आसन्न १० औं महाधिवेशनबाट पार्टीको नेतृत्व गर्न आकांक्षीको लर्को लागेको छ । विधान महाधिवेशन सकेर नेतृत्व चुन्नमात्र हुन लागेको महाधिवेशन भएकाले पनि प्रतिनिधिहरु नेतृत्वकै दौडधूपमा छन् ।
यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशमा कास्कीबाट मात्रै १३ जनाले केन्द्रीय समितिका लागि उम्मेद्वारी दिन आकांक्षा जनाएका छन् ।
एमाले नेता एवं सांसद खगराज अधिकारीले यस पटक पदाधिकारीमा उम्मेद्वारी दिने गरी शीर्ष नेतृत्वसँग परामर्श गरिरहेका छन् । संघीय सरकारमा स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसकेका अधिकारी एमाले गण्डकीका पुराना र क्रियाशील नेता हुन् । उनले सचिवमा उमेद्वारी दिने गरी तयारी गरेका छन् । पदाधिकारीमा उम्मेद्वारी दिएपछि खुला केन्द्रीय सदस्यमा उनको स्वतः उम्मेद्वारी रहन्छ ।
अहिले कास्कीबाट अधिकारीका अतिरिक्त जगत विश्वकर्मा, सीता गिरी र भीम कार्की पार्टीका केन्द्रीय सदस्यमा छन् । यी तीनै जनाले केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिने निश्चित छ । हाल केन्द्रीय सदस्यमै रहेका पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी अस्वस्थ भएका कारण महाधिवेशनमै सहभागी हुने नहुने अन्योल छ । अहिले पनि केन्द्रीय समितिमै रहेर काम गरिरहेकाले केन्द्रीय सदस्यमा आफ्नो उम्मेद्वारी स्वभाविक भएको कार्कीले बताए ।
एमालेको केन्द्रीय अनुशासन आयोगका सचिव ई. भरत पहारीले आयोगको केन्द्रीय अध्यक्षको उम्मेद्वार बन्ने आकांक्षा पार्टी नेतृत्वसँग पेस गरेका छन् । यो पदमा आफूभन्दा सिनियर नेता आएमा खुला केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने उनको योजना छ ।
संघीय सांसद विद्या भट्टराई अधिकारीले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने निश्चित छ । केन्द्रीय नेताहरु र देशभरका साथीको आग्रह अनुसार उम्मेद्वारी दिने तयारी गरेको अधिकारीले बताइन् । एमाले कास्की अध्यक्ष कृष्ण थापाले पनि केन्द्रीय सदस्यमै उम्मेद्वार बन्ने गरी तयारी थालेका छन् । लामो समयदेखि जिल्लाको राजनीतिमा रहेकाले पनि केन्द्रमा आफ्नो दाबेदारी स्वभाविक भएको उनको प्रतिक्रिया छ ।
यस्तै, कास्कीबाट पुष्पज्योति ढुंगाना, राजीव पहारी, प्रभा कोइराला, पुण्यप्रसाद पौडेल, रश्मि आचार्य र वेदबहादुर गुरुङ ‘श्याम’ले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने आकांक्षा व्यक्त गरेका छन् ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य पुष्पज्योति ढुंगानाले १५ वर्षदेखि केन्द्रीय ऊर्जा विभागमा बसेर काम गरिरहेकाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिन लागेको बताए । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका ढुंगाना स्थापित ऊर्जा व्यवसायी हुन् ।
युवा संघका पूर्व केन्द्रीय अध्यक्ष एवं गण्डकी प्रदेश सभा सांसद राजीव पहारी केन्द्रीय समितिमा युवाको बलियो उपस्थितिका लागि पनि आफू केन्द्रीय सदस्य बन्न चाहेको बताउँछन् । अनेरास्ववियु केन्द्रीय उपाध्यक्षबाट भर्खरै भूगोलको राजनीतिमा आएका रश्मि आचार्य युवा र विद्यार्थीको प्रतिनिधिका रुपमा आफू केन्द्रीय समितिमा जान चाहेको बताउँछन् ।
एमाले कास्की नेतृ एवं गण्डकी प्रदेश सदस्य प्रभा कोइराला, जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेल र मादी गाँउपालिका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ले केन्द्रीय समितिमा जाने आफूहरुको चाहना स्वभाविक भएको बताएका छन् ।
आकांक्षीमध्ये अधिकांशले गण्डकी प्रदेश भूगोलबाट उमेद्वार बन्न चाहेका छन् । खगराज अधिकारीको उम्मेद्वारी खुलाबाट हुने बताइएको छ भने विद्या भट्टराई अधिकारीले महिला कोटाको खुलामा उमेद्वारी दिनेछिन् । त्यस्तै, जगत विश्वकर्मा उत्पीडित समुदायबाट उम्मेद्वार बन्ने चर्र्चा छ । त्यस्तै, वेदबहादुर गुरुङ ‘श्याम’ले जनजाति कोटाबाट र रश्मि आचार्यले खुलाबाट उम्मेद्वार बन्ने तयारी गरेका छन् ।
अन्य आकांक्षीले गण्डकी प्रदेशको भूगोलबाट उम्मेद्वार बन्ने आकांक्षा व्यक्त गरेका छन् । यद्यपि नेताहरुसँग छलफल चलिरहेको भन्दै अहिलेसम्म कसैले पनि आधिकारिक ढंगले उम्मेद्वारी घोषणा गरिसकेका छैनन् ।
तपाईको प्रतिक्रिया