संक्रमणमा मणिपाल अस्पताल

समाधान संवाददाता २०७८ मंसिर ६ गते १२:२०


देशमा स्तरीय स्वास्थ्य जनशक्ति उत्पादन गर्ने र स्तरीय स्वास्थ्य सेवा दिने मनसायले सन् १९९४ ( विस २०५१) सालमा स्थापना भएको पोखरा ११ फूलबारीको मणिपाल शिक्षण अस्पताल अहिले स्थापनाकालको २७ औँ वर्षपछि व्यवस्थापकीय संक्रमणबाट गुज्रिरहेको छ । जे जस्तो आशा र भरोसा यसको स्थापना कालमा पोखरेलीहरुको थियो। त्यसमा तुसारापात नै भएको छ । यसको स्थापनाले यहाँका स्थानीयको रोपनीमा गनिने जग्गाको मूल्यलाई हातको हिसाबमा र केही स्थानीलाई रोजगारमा स्थापित गरिदिनेबाहेक यसले आफ्नो २७ औं वर्ष जे प्रयोजनले यहाँआएको थियो, त्यो कत्ति पनि प्राप्त भएन ।


हुनत हरेक विदेशी संस्था जो नेपालमा खोलिएका छन्, ती सबै नाफामुखी नै हुन्छन् । यस्ता संस्था नाफाहुञ्जेल जुकाले रगत चुसेको जस्तो गरेर चुसिरहेका हुन्छन् अनि आफूले भनेजस्तो नभएपछि र यथेष्ट मुनाफा कुम्ल्याउन नसकेपछि मरेको मान्छेलाई जुम्राले छोडेको जस्तो गरेर हिँडेको योमात्र हैन अरु नेपालमा चलेका विदेशी आयोजनाबाट पनि थाह पाउन सकिन्छ । यो संस्थाले आफूलाई सेवाप्रदायक संस्थाका रुपमा स्थापना गर्न सकेन र अहिले यहाँ गरेको सम्झौताको विपरीत व्यवस्थापन परिवर्तन गरेर जान लागेको बाहिर सुनिन आएको छ । एउटा लामो अवधिको सेवाग्राहीको नाताले आउने व्यवस्थापनकामाथि केही गुनासाका रुपमा आफूले अनुभब गरेको तिक्तता व्यक्त गरिएको छ ।
अपनत्वको अभाव


यो अस्पताल अगाडिबाट हेर्दा चिटिच्याट्ट देखिए पनि यसको पछाडिको भागमा हेर्ने हो भने पूरै भित्ताभरि लेउ लागेको, जताततै घाँस, झार र वरपीपलका बिरुवाले भरिएको, रेलिङका डिलहरु भत्केका र अस्थिपञ्जरका करङ्जस्ता रडहरु झुन्डिएका देखिन्छन् । यसले के को संकेत गर्दछ भने हिजोको व्यवस्थापनले अनुकूल मूल्य पाउनेबित्तिकै उन्मुक्ति खोजेको र अगाडि टल्काउने पछाडि धोध्रयाउने गरेर मूल्यको बार्गेनिङमा बसेको थियो । अनुकूल पैसा दिने कोही पाए बेचिहाल्ने मानसिकता रहेकाले यो अस्पतालले अपनत्वको अभावमा गुज्रिनु परेको थियो । यसको तल छात्राबासमा पनि जताततै लेउ लागेको, घाँस उम्रिएको, रेलिङका डिलहरुमा रड तेर्सिएका देखिन्छन् । यी यसको उचित संरक्षणका अभावका उदाहरण हुन् । यो कसैको निजी घर वा भवन हुन्थ्यो भने यसको संरक्षण हरतरहले गरिएको हुन्थ्यो । यो संस्थाले सेवा दिने भन्दा पनि कसरी नाफा कमाउने र अगाडि टल्काएर नाफामा बेच्ने मनसायले स्थापना भएको स्पष्ट संकेत दिएको छ ।

Advertisement


कर्मचारी युनियन


नेपालका सार्वजनिक संस्थानहरु बहुदल आएपछि र २०६२÷२०६३ को गणतन्त्रपछि सबैभन्दा बढी थिल्थिलिएको कारणमध्ये एउटा कारण संस्थामा अनाधिकृत सृजना गरिएका कर्मचारीका युनियन हुन् भन्दा कुनै अत्युक्ति नहोला । यो संस्थामा पनि कर्मचारी युनियन अति नै हावी भएको देखिएको थियो । त्यस्ता कर्मचारीका युनियन वर्गीय र संस्थाको हितका लागि भन्दा पनि आफ्नो व्यक्तिगत फाइदाका लागि लागिरहे । आफूलाई अनुकूल ठाउँमा सरुवा खोज्ने, हरेक नियुक्ति र बढुवामा भागबन्डा तेस्र्याउने र अधिकारको नाममा महिनौँसम्म हड्ताल गरेर संस्था बन्द गर्ने र कर्तव्यको भन्दा अधिकारको बढी वकालत गर्ने संस्कारको विकास गरेका गुनासाहरु आएका थिए । कर्मचारीका युनियनहरु कर्तव्यभन्दा अधिकारतिर लागिरहे ।

Advertisement


डाक्टर र कर्मचारीको कार्यशैली
सबैभन्दा उदेकलाग्दो त यहाँ डाक्टर र कर्मचारीको व्यवहार नै हो । सिनियर डाक्टरहरु ओपिडीमा चेकै गर्दैनन् । ११ बजे आएर १२ बजे खाना खान निस्किसकेका हुन्छन् । बेलुका ३ः३० मा आउने अनिमलाई धेरै नदेऊ भन्दै टक्टकिएका हुन्छन् । प्रायः बिरामीलाई इन्ट्रन्सको जिम्मा दिएर हिँडेका हुन्छन् । इन्ट्रन्सप्रति उनीहरुको व्यवहार पनि रुखो हुन्छ जुन त्यति सहयोगी र सौहार्द देखिँदैन । कतिपय डाक्टर खाना खाने समय भनेर यहाँबाट चाँडो निस्कने अनि निजी क्लिनिकमा बिरामी चेक गरेका छन् ।


एक, दुई पटक त मलाई फलानो ठाउँमा फलानो क्लिनिक छ त्यहाँ आउनुहोस् न सम्म भनेको मैले व्यहोरेको छ । यहाँका पूर्णकालीन डाक्टरले निजी क्लिनिकमा खुला रुपमा आफ्नो नाम राखेर आम सञ्चारबाट बिज्ञापन गरेको देखिन्छ । यसो गर्न नैतिकताले दिन्छ कि दिँदैन ? बरु तिनीहरुले यहाँको पूर्णकालीन भएपछि म मणिपालमा यति बेलादेखि यति बेलासम्म परीक्षण गर्दछु, आउनुहोस् राम्रोसँग हेराँैला भनेर विज्ञापन गर्नु पर्दछ । नर्स र अन्य नन् प्यारामेडिकल कर्मचारीको व्यवहार त झन सेवाग्राहीकाप्रति अत्यन्त रुखो हुन्छ । कुनै बेला छोराको सामान्य ज्वरोका कारणले उपचाररत रहँदा डिउटीमा आउने नर्सले औषधीको नाम लेखिदिइन अनि औषधी लिन जाँदा त्यहाँ काम गर्ने कर्मचारीले तपाईको छोरालाई क्यान्सर भएको हो भनेर सोधे अनि दौडेर गएर डक्टरलाई भनेर औषधी फेर्न लगाइयो यस्तोसम्म त्यहाँका नर्सहरुको लापरवाही छ ।


यदि त्यो फार्मिस्टले नसोधिकन तुरुन्तै औषधी दिएको भए त्यसको परिणाम के हुन्थ्यो होला? यो स्तम्भकार नियमित परीक्षणका लागि कोजाग्रत पूर्णिमाको भोलिपल्ट जाँदा त्यो दिन अलि बढी भिड थियो र टोकन नम्बर २३४ परेको थियो अनि अगाडि वेटिङ रुममा बसेर आफ्नो नम्बर कुरिरहँदा १८५ नम्बरपछि त्यहाँका कर्मचार बन्द गरेर हिँडे । नजिकै रहेका चौकीदारसंँग कुरा गर्दा उनले भने “यस्तै हो यहाँ, मामा ! म बाहिर गएर एकै छिनपछि आउँछु है भनेर जान्छन् अनि उतै हराएका हुन्छन् के गर्ने !


त्यसपछि फिस्टेलमा गएर चेक गरेँ । व्यवस्थापन राम्रोसँग चल्नका लागि िक सेल्फ कन्ट्रोल र सेल्फ डिरेक्सन हुन पर्दछ जुन उद्देश्यका आधारमा गरिने व्यवस्थापन हो । यो यहाँ छैन नभएपछि निकट निरीक्षणबाट कर्मचारी र डाक्टरलाई नियन्त्रणमा लिनु पर्दछ नत्र भने संस्था लथालिङ र भताभुङ हुन्छ । अर्कोतिर व्यवस्थापनले नेपाली मेडिकल कर्मचारीलाई र विदेशीलाई दिने सुविधामा फरक गरेको बजार हल्ला सुनिन्छ यदि यो साँचो भए यसले धेरै गुनासा संस्थामा उत्पन्न गर्दछ । त्यहाँ कार्यरत मानव संसाधनको उत्प्रेरणा घटाउने काम गर्दछ । यदि यस्तो भए त्यो हटाउनु व्यवस्थापनको प्रमुख कर्तव्य हुन जान्छ ।


कतिपय महिला कर्मचारी हातमा स्वीटर बुन्ने धागो र काँटा लिएर बसेको देखिन्छ । यसरी हरतरहले हेर्दा विगतमा यो संस्था कुनै नियन्त्रण र अनुशासन विना तदर्थवादमा चलेको देखिन्छ । यो संक्रमण कालमा नयाँ व्यवस्थापनको चुनौतीका रुपमा रहेको छ ।


फाइल र प्रतिवेदनमा लापरवाही
मणिपाल शिक्षण अस्पतालको अर्काे लापरवाही फाइल र स्याम्पल परीक्षणमा छ । सुरुमा प्रत्येक सेवाग्राहीको फाइल खडा गरेर तलको ग्राउन्ड पm्लोरमा राखेर सम्बन्धित ठाउँमा सम्बन्धित बिरामीको डाक्टरलाई दिने चलन थियो, यसो गर्दा कहिलेकाहीँ एउटाको फाइल अर्काकोमा परेको पनि भेटियो । पढेलेखेकाले भने हेरेर आफ्नो हो होइन पहिचान गर्दथे तर नपढेकाले जे दियो त्यही लिएर जान्थे । यसले एउटाको रोेगको भारी अर्काले बोकेर गएका उदाहरण पनि भेटिए । प्रयोगशालाको रिपोर्टको क्यालकुलेशनमा कतिपयको लापरवाहीले पुरानो जे छ, त्यसैमा थपघट गरेर दिएको गुनासो पनि पाइयो । कतिपयको त रिपोर्ट लिन गएको समयमा हराएर फेरि रगत दिनुपर्ने अवस्था पनि सिर्जना भयो । आखिर किन यस्तो हुन्छ ? यो एउटा चरम लापरवाही नै हो ।


बिमा गरेका सेवाग्राहीलाई सास्ती
यो अस्पतालले पहिला इन्सुरेन्सका बिरामीको उपचारमा सरकारसँग सम्झौता ग¥यो तर ती बिरामीलाई भने दोस्रो दर्जाको नागरिकका रुपमा हे¥यो । इन्सुरेन्सका बिरामीको भीड बिहानदेखि नै हुन्छ । टिकट काउन्टर एउटामात्र चल्थ्यो अनि कहिले सिस्टम चलेन भनेर रोकिएको हुन्थ्यो । बिरामी घण्टौँसम्म उभिएर कुरेका हुन्थे । जाँचिसकेपछि औषधीमा त्यस्तै बेवास्ता र लापरवाही थियो । घण्टाँै औषधीको लाइनमा पालो कुरेर आइसकेपछि यो औषधी इन्सुरेन्समा पर्दैन, उता किनेर लैजानु भन्दथे ।


कहिले सिस्टम चलेको छैन भनेर बिरामीलाई भोलि आऊ भनेर ढोका थुनेर हिँड्दथे । यो अवस्थामा नजिककालाई त त्यति समस्या भएन तर टाढा टाढाबाट आउने बिरामीको अवस्थाका बारेमा उनीहरुमा संवेदनशीलता हँुदैनथ्यो । सूत्रबाट थाहा पाए अनुसार इन्सुरेन्समा नक्कली बिल बनाएर सरकारबाट १७ लाख बढी भुक्तानी अघिल्लो व्यवस्थापनले लिएको पनि सुनिएको थियो । फलस्वरुप अहिले सरकारले सम्झौता रद्द गरेर रिफर भएका इन्सुरेन्स बिरामीको मात्र उपचार गर्ने गरेको छ । यसरी यो अस्पताल सेवा गर्ने भन्दा पनि नाफा खोज्ने नाममा चल्यो ।


यी घटना एउटा लामो सेवाग्राहीले भोगेका तीता अनुभव थिए । अहिले नयाँ व्यवस्थापनले यसलाई उही तदर्थवादमा नचलाएर एउटा सेवाप्रदायक अस्पतालको रुपमा विकास गरेर गुणस्तरीय स्वास्थ्यकर्मी उत्पादन गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी देशविदेशका बिरामीलाईआकर्षण गरेर पोखरालाई पनि स्वास्थ्य केन्द्रका रुपमा विकास गर्नतिर ध्यान दिनुपर्दछ । अहिले एउटा सानो रोग लाग्नेबित्तिकै काठामाडौं जाने र काठमाडौंका विदेश जाने परिपाटी छ, त्यो विश्वसनीयताको अभाव हो । त्यसैले यो अस्पतालको नयाँ व्यवस्थापनले त्यता ध्यान दिएर चलाओस् अनि पैसा भन्ने कुरा त स्वतः आउँछ भन्ने निष्कर्ष छ ।
चबmकगदभमष्ज्ञढटद्ध२नmबष्।िअयm

तपाईको प्रतिक्रिया