मानसिक समस्या सुल्झाउनः ‘बिलिभ’ एप

समाधान संवाददाता २०७८ मंसिर १० गते १८:२३


पोखरा ।
तनाव त जो कोहीलाई हुनसक्छ । झन् उमेर बढ्दै गरेका किशोरकिशोरी र युवा ससानो कुरामा पनि तनाव लिइदिन्छन् । त्यही तनाव सन्तुलन गर्न नसक्दा वा परिवारका सदस्यले नबुझिँदा झन् ठूलो समस्या निम्तिन सक्छ । तनाव व्यवस्थापन गर्न नसक्दा वा त्यसलाई घटाउन नसके मानसिक समस्या हुन्छ ।


मानसिक स्वास्थ्यबारे भने नेपाली समाजले खासै ध्यान दिएको पाइन्न । जब कि मानसिक समस्या सुल्झाउन नसक्दा त्यसको गन्तव्य आत्महत्यासम्म पुग्छ । कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वाभलम्वन संगठनका अनुसार १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो कारण आत्महत्या हुने गरेको छ । यस्तो संवेदनशील विषय सम्वोधन गर्न किशोर उमेरका ४ जनाले मोबाइल एप तयार गरेका छन् ।


भर्खरै प्लस टुको अध्ययन सकेका आयुष गौतम, समीर गौतम, प्रवीण बजगाईं र अरुण पौडेलले ‘विलिभ’ नामको एप तयार गरेका हुन् । एन्ड्रोयड मोबाइलमा उपलब्ध यो एपको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले शुक्रबार शुभारम्भ गरे । उक्त कलेजका विद्यार्थीलाई मानसिक स्वास्थ्यका बारेमा सचेतना दिन आयोजित कार्यक्रममा अध्यक्ष पराजुलीले आफ्नो मोबाइल बिलिभ एप डाउनलोड गरी त्यसको सुरुआत गरेका हुन् ।

Advertisement


समाजशास्त्रीसमेत रहेका प्राडा पराजुलीले भविष्य किशोरकिशोरी र युवाहरुको भएको हुँदा उनीहरुको शारीरिक तथा मानसिक स्वास्थ्य तन्दुरुस्त हुनुपर्नेमा जोड दिए । उनले आत्महत्या कुनै व्यक्तिगत कारण नभई सामाजिक कारण भएको विचार पनि व्यक्त गरे । उनले भने, ‘मान्छेले किन आत्महत्या गर्छ भने ऊ समाजमा छ, समाजमा नबस्ने भएको भए आत्महत्या गर्दैनथ्यो ।


कोसिसका परियोजना संयोजक सुदीप घिमिरेले मानसिक समस्या हुनु भनेको बहुलाउनु हो भन्ने भ्रम रहेको सुनाए । उनले तनाव मानसिक समस्याको सुरुआती चरण भएको पनि बताए । ‘तनाव वार्निङ साइन हो,’ उनले भने, ‘सन्तुलन गर्न सकेनौं भने बढ्दै जान्छ, स्मरण शक्तिमा ह्रास आउँछ । शरीरलाई जस्तै मनलाई पनि स्वस्थ्य बनाउनुपर्ने उनको भनाइ थियो ।

Advertisement


‘तनाव भयो भने त्यससँग जुध्नुपर्छ, भाग्नु हुँदैन, त्यसलाई जमाएर पनि राख्नुहुँदैन,’ घिमिरले विद्यार्थीलाई सुझाव दिए, ‘आफूलाई काममा व्यस्त राख्नुपर्छ, व्यस्त राख्यो भने नकारात्मक सोच आउँदैन ।’


एप निर्मातामध्येका अगुवा आयुष गौतमले विलिभ एपका विशेषताबारे जानकारी गराए । उनले आफ्नो नामसहितको परिचय गोप्य राखेर च्याट गर्न सकिने, समस्याका बारेमा दैनिकी लेख्न सकिने सुनाए । उनकै भनाइमा कसैलाई सीधै परामर्शदातासँग सल्लाह लिन आवश्यक परे पनि एपले सघाउनेछ । कोसिस संस्थाले परामर्श दिने गौतमले बताए । गौतमको टोलीलाई एप र वेबसाइट निर्माण गर्दा मानसिक स्वास्थ्य समाधान गर्ने परामर्शमूलक सम्बन्धी सामग्री उपलब्ध गराउने लगायत प्राविधिक सहयोग गरेको थियो । लेकसिटी कलेजको वाणिज्य संकायकी छात्रा साम्राज्ञी गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि सहयोगी एप ‘बिलिभ’ शुक्रबार सार्वजनिक गर्दै प्राडा विश्वकल्याण पराजुली र साथमा एप निर्माता युवाहरु ।

तपाईको प्रतिक्रिया