३० औं अन्तर्राष्ट्रिय अपांग दिवस

सोचे जस्तो हुन्न जीवन

सञ्जय रानाभाट २०७८ मंसिर १७ गते १३:५०


सञ्जय रानाभाट
पोखरा ।
सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन

गीतकार दिनेश अधिकारीका यी शब्द धेरैको जीवनमा मेल खान्छन् । आफूले भने जस्तो नहुँदा धेरैले तारादेवीको स्वरमा रहेको यो गीत गुन्गुनाउछन् । तारादेवीको स्वरले सुरेश गौलीको पीडा पनि बोल्छ ।
लमजुङका सुरेश जन्मिँदा आम मान्छे जस्तै तन्दुरुस्त थिए । दौतरीसँगै खेल्दै, रमाउँदै उनको बालापन चल्दै थियो । १० वर्षको हुँदा उनको जीवनमा ‘आँधी’ आयो । रुखमा चढेका उनी एक्कासि खसे । धन्न ज्यान जोगियो, ढाडभन्दा तलको भाग नचल्ने भयो । त्यसयता शारीरिक रुपमा कमजोर भए पनि उनको मनोबल उच्च छ ।


बिहान बेलुका बास्केटबल खेल्नु उनको दैनिकीमा पर्छ । गण्डकी प्रदेश राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेश तथा इन्टरनेसनल फेलोसिप नेपाल (आइएनएफ)ले बिहीबार आयोजना गरेको पुरुष ४ सय मिटर ह्विलचियर दौडमा उनी दोस्रो भए । उनी पोखरा सफल म्याराथनमा ६ पटकसम्म प्रथम भइसकेका छन् ।

Advertisement


‘दौडमा प्रत्येक वर्ष प्रथम भएँ । त्यसले खुसी मिल्दो रैछ । अपांगता भएर पनि कुनै खेलकुदमा भाग लिन पाउँदा केही गर्न सक्छु भनेर हौसला मिल्दो रैछ,’ उनले भने, ‘प्रथम हुँदा पुरस्कारसँगै हौसला जितें ।’


लमजुङको सुन्दरजारमा २७ वर्षअघि जन्मेका थिए सुरेश । घरमा आमा, बुबा र २ भाइ छन् । पोखरालाई कर्मथलो बनाएका उनी अपांगताको हक, अधिकारको पक्षमा उभिने दरो खम्बासमेत हुन् । उनी अपांगता भएकासँग अनुभव बाड्छन्, हौसला भर्छन् । केही नयाँ काम गर्न उत्प्रेरणा दिन्छन् ।

Advertisement


बिहीबार भएको ह्विलचियर दौडमा प्रथम भएका भरतबिक्रम बानियाँको कथा पनि उस्तै छ । २४ वर्षदेखि अपांगता जीवन बाच्दै आएका विक्रम जन्मिँदा आम शिशुजस्तै थिए । आकांक्षाको अनेक उडान भर्दै दौतरीसँग हिड्ने उमेरमा उनको जीवनमा बज्रपात भयो । २१ वर्षको हुँदा उनी सडक दुर्घटनामा परे ।


सिराहाबाट पोखरा आउँदै गरेका उनी महोत्तरी खाजा खान झरेका थिए । एउटा ट्रक बेतोडले उनीतिर आयो । ब्रेक फेल भएको ट्रक उनको तीघ्रामाथिबाट पार भयो । २०५४ सालको यो दुर्घटनाका बेला ३ दिनपछि मात्र भरतलाई अस्पताल लगियो । देशमा युद्धको सन्त्रास थियो, त्यही सन्त्रासको अप्रत्यक्ष शिकार बने उनी । १ महिनाको उपचारपछि उनी फर्किए । फर्किदा उनीसँग दुबै खुट्टा थिएनन् ।


घटनाअघि उनी पोखरामा जागिर गर्थे । १६ वर्षमै बिहे गरेका उनका श्रीमती र १ छोरा थिए । ‘छुट्टीमा गएको थिएँ । मरेर पनि बाचें । जीवनमा बाचेर पनि मरेजस्तो भएँ,’ उनी भावुक सुनिए । आफ्ना अनेक सपना थिए, परिवारका अनेक आकांक्षा थिए । तर एक्कासि अपांग भएपछि भरत ठूलै संकटमा परे ।


दुवै खुट्टा गुमाएका उनी उपचारपछि गाउँ फर्किए । गाउँमा न राम्रो सडक थियो, न ह्विलचेयर चलाउने ठाउँ । परिवार चलाउन रोजगारी त परैको कुरा भयो । फेरि श्रीमती र २ छोरा लिएर पोखरै आए । नियतिले खुट्टा खोसेर ह्विलचेयर दिएका उनी सडकमै जीवन धान्ने उपाय खोज्न थाले । सडक किनारमै उनको व्यवसाय सुरु भयो ।


भरत सम्झन्छन्, ‘काजु, किसमिस बेच्न थालें । धेरै वर्ष यसरी नै गए । कसैसँगमा मागेर खानु परेन ।’ दुर्घटनाको घाउ सञ्चो भयो, बेला बेला उनलाई खतले झस्काइरह्यो । लामो समयपछि बल्ल उनी आफ्नो यथार्थ स्वीकार्न तयार भए । ‘जसरी भए पनि परिवार पाल्ने जिम्मा मेरो भयो । हार मानिनँ । पछि मेला, महोत्सवमा गएर व्यापार गर्न थाले,’ उनले भने, ‘ह्विलचेयर किनेँ । मोपेड किनेपछि सहज भयो ।’ जेठा छोरा वैदेशिक रोजगारीमा गएपछि परिवारको रथ तन्न उनले सहकर्मी पाए ।


उनी अपांगता अधिकारको क्षेत्रमा ०६३ देखि क्रियाशील छन् । ०६३ सालमै अपांगता भएकाको ४ सय मिटर म्याराथनमा उनी प्रथम बनेका थिए । उनी भन्छन्, ‘ह्विचेयर चलाउनमात्र जानेको थिएँ । खेलमा भागमात्र लिऊँ भनेर गएको त प्रथमै पो भएँ । त्यसपछि झन् केही गर्न सकिदो रैछ जस्तो लाग्यो ।’


पोखरा म्याराथनमा प्रथम भएपछि उनलाई खेल्नका लागि काठमाडौं पठाइयो । ‘२०६५ सालमा काठमाडौंमा भएको रियल म्याराथनमा पनि प्रथम नै बनें । ५ किलोमिटर दूरी १६ मिनेटमै पार गरें । त्यति बेला मलाई लाग्यो जिन्दगीसँग हारेको मात्र रहेनछु, जितिँदो पनि रहेछ ।’
आम मान्छे जस्तै उनलाई पनि कोभिडले पिरोल्यो । लकडाउन र निषेधाज्ञामा भएको बचत सकियो । पत्रकार, सरकार, सामाजिक संघ, संस्थाको सहयोगमा उनले कोभिडको मुकाबिला गरे । उनी फुर्सदमा बास्केटबल खेल्छन् । ‘अरु काम केही छैन । फुसद हुँदा बास्केटबल खेल्छु,’ उनले भने, ‘अहिले कास्की जिल्ला बास्केटबल संघको सदस्य पनि छु ।’


खेलकुद र अपांगता अधिकारकै क्षेत्रम काम गर्ने उनी बताउँछन् । साहासिक खेल मन पराउने उनले प्याराग्लाइडिङ गरिसकेका छन् । भन्छन, ‘प्याराग्लाइडिङमा २ हजार फिटमा पुगें । जिन्दगीका खुसी असिमित रै’छन््, त्यति बेला थाहा भयो ।’
संयुक्त राष्ट्र संघको आह्वानमा ‘कोभिडपछिको समावेशी पहुँच योग्य र दिगो संसारमा अपांगता भएका व्यक्तिहरुको नेतृत्व र सहभागिता’ भन्ने नाराका साथ ३० औं अन्तर्राष्ट्रिय अपांग दिवस विश्वभर शुक्रबार मनाइँदै छ । नेपालमा पनि दिवसको अवसरमा विभिन्न गतिविधि हुँदै छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया