फेवा जोगाउने नाममा बदमासी

श्याम रानामगर २०७८ मंसिर २९ गते १५:१४

पोखरा ।
२०७८ को असार अन्तिम साता फेवातालमा प्रवेश गर्ने खोलामा बनाइएको बाँध (सिल्टेसन ड्याम) बाढीले बगायो । पर्यटकीय सहर पोखराको प्रमुख आकर्षण हो, फेवाताल । फेवातालको पानीका स्रोत हर्पन, खहरे, लौरुक र बेत्यायिनी खोला हुन् ।


तालमा खोलाबाट पानीमात्रै आइपुग्दैन; साथमा ढुंगा, गिट्टी, माटो र गेग्रान पनि आउँछ । जसले हरेक वर्ष तालको आकार साँघुरो पारिदिन्छ । त्यसैले तालमा थुप्रिनु अगावै गेग्रानलाई रोक्ने उद्देश्यले मुहान आसपासमै चार वटा बाँध बनाउने योजना गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले बनाए। योजना बमोजिम हर्पन, खहरे, लौरुक र बेत्यायिनी खोलामा करिब २८ करोड रुपैयाँ खर्चिएर गेग्रान रोक्ने पोखरी र बाँध बने पनि। तर, हर्पनको बाँधले पहिलो वर्षको बाढी नै थेग्न सकेन। न्यूनतम गुणस्तर पनि कायम नगरिएका कारण बाँकी तीन वटा खोलाका बाँध पनि उच्च जोखिममा छन् ।


खोज पत्रकारिता केन्द्र (खोपके) ले गरेको खोजले देखाएको छ– हर्पन खोलाको बाँध प्राकृतिक विपत्तिका कारणले मात्र भत्किएको होइन। बाँध बनाउँदै गर्दा स्थानीय बासिन्दाको खबरदारी, भत्किएपछि भएका अनुसन्धान र विज्ञहरूसँगको अन्तर्वार्ता केलाएर भन्न सकिन्छ– प्राविधिक रूपमा अनुपयुक्त ठाउँमा गलत डिजाइनले बनाइएका कारण बाँध टिक्न सकेन। यस्तो लापरवाहीले निर्माणमा भएको खर्च त खेर गयो नै, स्थानीय बस्ती र तालको भविष्यमा पनि जोखिम बढ्यो ।


नेपाल सरकारले सन् २००२ मा फिनिस इन्टरनेसनल डेभलपमेन्ट एजेन्सीसँगको सहकार्यमा गरेको अध्ययन अनुसार फेवातालमा वर्षेनि १ लाख ४२ हजार मेट्रिक टन ढुंगा, माटो र गेग्रान मिसिन्छ। यसरी वर्षेनि थपिने वस्तुले तालको आकार साँघुरो बनाउँदै लगेको छ। त्यसैलाई रोक्न तालमा मिसिन आउने खोलाहरूमा बाँध बनाइएको हो।


तर, कमसल निर्माणले नयाँ समस्या सिर्जना भएको छ । पोखरा २३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीका अनुसार, बाँध पहिलो बर्खामै भत्किँदा तल्लोतटीय क्षेत्रमा क्षति पुगेको छ । ‘कैयौं रोपनी खेतमा लगाइएको धान मासियो भने आसपासका घरहरू पनि उच्च जोखिममा परे,’ उनले भने, ‘आफ्नै ठाउँमा योजना बनाउँदा स्थानीयवासीलाई जानकारी दिइएन, काम सुरू भएपछि थाहा पाएका हामीले निर्माण गुणस्तरहीन भयो भनेर विरोध गर्दा पनि कसैले सुनेन ।’


हर्पन ड्याम पहिलो बर्खामै ध्वस्त
फेवाको मुहानमा बनाइएका चारमध्ये नयाँबस्तीमा बनाइएको हर्पन खोलाको बाँध पानीको तोड धान्न नसकेर भत्किएको छ । ७ करोड ८८ लाख ६२ हजार लागतमा निर्माण भएको केही समयमै २०७८ असार पहिलो साता उक्त ड्याम भत्किएको थियो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा बनाइएको यो बाँध भत्केपछि त्यसको चौतर्फी आलोचना भयो ।


किनकि, निर्माण नसकिँदै गुणस्तरहीन काम भइरहेको भनेर जनप्रतिनिधिको अगुवाइमा स्थानीयले आवाज उठाएका थिए। जसलाई कुनै वास्ता नगरी दबाइएको थियो । त्यसको परिणाम निर्माण सकिएको पहिलो हप्तामै उक्त ड्याम भत्किएपछि देखियो । ‘सिमेन्ट, बालुवाको मात्रा समेत नमिलाई अन्धाधुन्द काम भयो भनेर आवाज उठाएका थियौं, कसैले सुनेनन् । तर, पछि हामीले भने जस्तै भत्कियो,’ पोखरा–२३ का वडा सदस्य भरतराज पौडेलले भने ।


बाँध भत्किएपछि वडा सदस्य पौडेल, वडाध्यक्ष पराजुली तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी लगायतले ड्याम निर्माणको समग्र पक्षमाथि अध्ययन गर्नुपर्ने आवाज उठाए। चर्को विरोधपछि प्रदेश सरकारले बनाएको अध्ययन समितिले ‘फेवा सिल्टेसन ड्याम समस्या र न्यूनीकरणका उपाय’ नामक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। जसबाट फेवाका मुहानका रूपमा रहेका खोलाहरूमा गुणस्तरहीन बाँध निर्माण भएको तथ्य बाहिर आएको छ।


गण्डकी प्रदेशको तत्कालीन नीति तथा योजना आयोगका सदस्य विष्णुराज बरालको नेतृत्वमा बनेको अध्ययन टोलीले बाँध निर्माणमै त्रुटि भएको फेला पारेको हो । उक्त प्रतिवेदनका अनुसार, नयाँबस्तीमा बनाइएको ड्यामको बायाँतिरको उँचाइ पानीको उच्च बहाव थेग्ने क्षमताको छैन। साथै, ड्यामको पर्खाल निर्माणमा पनि प्राविधिक त्रुटि देखिएको छ।


ड्यामको प्राविधिक पक्षबारे जानकार एक इन्जिनियरका अनुसार, अब बलियो बनाउन बायाँतिरको ड्यामको उँचाइ एक मिटर थप्नुपर्छ । ती इन्जिनियरले नियमित रूपमा बाढीको सतह नाप्ने, ड्यामको उँचाइको एक मिटर तल नै बाढीको सतह निर्धारण गर्ने साथै ड्याममा जम्मा भएका नदीजन्य पदार्थ निकाल्ने योजना बनाउनुपर्ने सुझाए। हर्पन खोलामा ड्याम बनाउँदा यी कुनै पनि योजना राखिएको थिएन।


भौगर्भिक इन्जिनियर किसानसिं गुरुङका अनुसार, हर्पन ड्याम भत्किनुको प्रमुख कारण निर्माणमा भएको कमजोरी हो । ‘ड्यामलाई कंक्रिट ज्याकेटिङ भएन। कट अफ वाल पनि बनाइएन। जसका कारण पानीको दबाबले तल्लो भाग खोतल्दै गयो,’ उनले भने, ‘ड्यामको तल्लोपट्टि कट अफ वालपछि स्टिलिङ बेसिन राखिनुपथ्र्याे । त्यसले पानीको दबाब कम गथ्र्याे । त्यो नराख्दा ड्याम झन् कमजोर बनेको देखिन्छ ।’


खहरे ड्याम– उच्च जोखिममा
चार वटामध्ये अर्को ड्याम खहरे खोलाको धारापानीमा बनाइएको थियो । ‘खड्का कृष्ण÷पिके जेभी दाङ’ ले ९ करोड ६ लाख लागतमा निर्माण गरेको यो ड्याम पनि उच्च जोखिममा छ। हर्पन खोलाको ड्याम भत्किएपछि भएको अध्ययनले खहरे खोलाको ड्याम गलत स्थानमा बनाइएका कारण जोखिममा रहेको देखाएको छ। ‘फेवा सिल्टेसन ड्याम समस्या र न्यूनीकरणका उपाय’ प्रतिवेदनका अनुसार खहरे खोलामा पानीको बहाव बढी हुने स्थानमा ड्याम बनाइएको छ, जसले गर्दा ड्याममाथि पानीको दबाब बढी छ।


ड्याम बनाउनुअघि खोला सतहको अध्ययन गर्नुपर्नेमा त्यसलाई बेवास्ता गरेको देखिएको छ। प्रतिवेदनले अहिले ड्याम भएको नदीको देब्रेपट्टिको स्थानभन्दा दाहिनेपट्टि बढी अग्लो र सुरक्षित बन्न सक्ने औंल्याएको छ। प्रतिवेदनमा ड्यामलाई धारापानीभन्दा एक किलोमिटर माथिपट्टि बलियो भौगोलिक बनोट भएको ठाउँमा सार्न सुझाव दिइएको छ।


ढुंगाको पर्खाल बनाएर त्यसमा प्लास्टरमात्र गरिएकाले पनि ड्याम कमजोर बनेको अध्ययन कार्यदलका एक सदस्यले बताए। उनका अनुसार, ड्यामको सतहमा कंक्रिट पर्खाल बनाउनुपथ्र्याे । ड्यामको पिंधमा केही मिटर गहिरो ढलान गर्नुपथ्र्याे । त्यस्तो नहुँदा पानीको बहावले खोतलेर पिंध कमजोर बनेको छ ।


माथिल्लो भागमा ग्रेगान जम्मा पार्ने कुनै चेक ड्यामहरू बनाइएको छैन। भौगर्भिक इन्जिनियर गुरुङका अनुसार, मुख्य ड्याममा दबाब कम गर्न माथिल्लो भागमा चेक ड्यामहरू बनाइनुपर्छ । ‘यसो गर्दा ठूल्ठूलो गेग्रान माथिल्लो भागमा थुप्रिन्छ र मुख्य ड्याममा धेरै दबाब पर्दैन। तर, त्यसो भएको पाइएन,’ अध्ययन समिति संयोजक बरालले भने ।


बेत्यायिनी र लौरुक ड्याम– नक्सा विनै निर्माण
बेत्यायिनी र लौरुकमा बनाइएका ड्याम हर्पन र खहरेको तुलनामा साना छन् । तर, विज्ञहरूका अनुसार, ढुंगामा प्लास्टरमात्र गरिएका ती ड्यामको पर्खालको भिरालोपन (स्लोप) नमिलेकाले भत्कनसक्ने जोखिम धेरै छ। पोखरा महानगरपालिकाका इन्जिनियर विमल आचार्यले नक्सा अभावमा सामान्य ‘ड्रइङ’लाई आधार मानेर ड्याम निर्माण थालेको बताए।


बेत्यायिनी खोलामा ‘श्री गीता÷जय नेपाल ईश्वर जेभी, स्याङ्जा’ ले ५ करोड ४६ लाख ५९ हजारमा सिल्टेसन ड्याम निर्माण गरेको हो । त्यस्तै, लौरुक खोलामा ‘खड्का कृष्ण÷पि.के जेभी दाङ’ ले ५ करोड ७४ लाख ८५ हजारमा ड्याम बनाएको हो । कमसल निर्माणका यी ड्यामलाई थप क्षति हुनबाट जोगाउन बर्खाअघि नै रेट्रोफिटिङ गर्नुपर्ने प्राविधिकको सुझाव छ। तर, महानगरले गृहकार्य थालेको छैन।


स्रोत अभावका कारण रेट्रोफिटिङको काम सुरू गर्न नसकिएको पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए। उनका अनुसार, भत्किएको हर्पन ड्याम पुनर्निर्माण गरिदिन निर्माण कम्पनीलाई पत्राचार गरिएको छ, तर जोखिममा रहेका अन्य ड्यामको रेट्रोफिटिङबारे भने महानगरले कुनै निर्णय गरिसकेको छैन। आगामी बर्खाअघि रेट्रोफिटिङ नगरेमा बाँकी तीन वटा ड्याम पनि फेवामा मिसिन पुग्नेछन् ।


हर्पन, खहरे र लौरुक खोलामा ड्याम निर्माण गर्ने ‘खड्का कृष्ण÷पिके जेभी’ का सञ्चालक प्रकाश विश्वकर्माले सम्झौताभन्दा बाहिर गएर काम नगरेको दाबी गरे । ठाडो खोलामा बाढीसँगै ढुंगामुढा आएकाले ड्याम भत्किएको उनले दाबी गरे । महानगरले निर्माण कम्पनीलाई पुनःनिर्माणका लागि पत्राचार गरे पनि अहिलेसम्म काम सुरू भएको छैन।


यस्तै, बेत्यायिनी खोलामा ड्याम निर्माण गरेको स्याङ्जाको ‘श्री गीता जय नेपाल ईश्वर जेभी’ का सञ्चालक खिमप्रकाश मल्लले पनि आफूहरूले सम्झौता अनुसार नै काम गरेको दाबी गरे । अध्ययनमा संलग्न प्राविधिकहरू नक्सासमेत तयार नपारी, गलत स्थानमा, गुणस्तरहीन सामग्रीको प्रयोग गरी ड्याम निर्माण भएको बताउँछन् । ड्यामको अनुगमनसमेत नगरी महानगरले निर्माण सम्पन्नताको प्रमाणपत्र दिएको देखिन्छ। पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले ठेकेदार कम्पनीलाई पुनःनिर्माणका लागि लेखिपठाएको बताउँदै त्यो नै उपलब्धि भएको जनाए ।
ड्याम निर्माणमा आर्थिक अनियमितता गरी कमसल सामग्री प्रयोग गरेकाले भत्किएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरामा निवेदन परेको छ। साथै, उच्च अदालत पोखरामा पनि गुणस्तरहीन आयोजना निर्माणमा संलग्नलाई जवाफदेही बनाउन माग गर्दै सार्वजनिक सरोकारको निवेदन (पीआईएल) दर्ता भएको छ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराका सूचना अधिकारी मेघनाथ रिजालले ड्याम निर्माणमा भएको अनियमितताबारे छानबिन भइरहेको उल्लेख गरे । पोखरा महानगरकी कार्यकारी प्रमुख मञ्जुदेवी गुरुङले भत्किएको सिल्टेसन ड्यामको पुनःनिर्माण सुरू भइसकेको जिकिर गरिन् ।


अध्ययन समितिले भत्किनसकेका तर जोखिममा रहेका तीन वटै बाँधलाई थप २७ करोडमा ‘रेट्रोफिटिङ’ गर्नुपर्ने निष्कर्ष निकालेको छ, जबकि चार वटा बाँध निर्माणकै कुल लगानी २८ करोड ९६ लाखमात्र हो ।


गेग्रानबाट आम्दानीः अपरिपक्व योजना
प्रदेश सरकार र महानगरले बाँध बनाएर तालमा मिसिने गेग्रानलाई रोक्ने र त्यसलाई बेचेर आम्दानी गर्ने उद्देश्य राखेका थिए । ‘फेवा सिल्टेसन ड्याम समस्या र न्यूनीकरणका उपाय’ प्रतिवेदनमा हर्पनमा ९० हजार क्युबिक मिटर, खहरेमा १ लाख ३५ हजार क्युबिक मिटर, लौरुकमा २४ हजार क्युबिक मिटर र बेत्यायिनीमा १६ हजार क्युबिक मिटर गेग्रान भरिने आकलन गरिएको छ। उक्त प्रतिवेदनले मुहानमा सक्रिय पहिरो धेरै रहेकाले अनुमानभन्दा धेरै नदीजन्य पदार्थ जम्मा हुन सक्ने सम्भावना पनि औंल्याएको छ।


बाँध निर्माणसँगै खोलाको पिंधमा थुप्रिएका ढुंगा, गिट्टी र गेग्रान बिक्रीबाट वार्षिक २ करोड ६० लाख आम्दानी गर्ने लक्ष्यसहित महानगरले २४ वर्षका लागि नदीजन्य पदार्थ बेच्ने अधिकार ‘फेवा सिल्टेसन प्रालि’ लाई सुम्पेको छ। यो वास्तविक आम्दानी हुन सक्ने रकमको तुलनामा असाध्यै थोरै हो । अध्ययन प्रतिवेदनले वार्षिक २० करोड ७१ लाख आम्दानी गर्न सक्ने सम्भाव्यता औंल्याएको छ।


महानगरले ‘फेवा सिल्टेसन प्रालि’लाई सस्तोमै जिम्मा लगाए पनि ड्याममा जम्मा भएको गेग्रान निकाल्न आवश्यक पर्ने प्रवेशद्वार बनाइएको छैन। बाढी आउँदा चाहिने आकस्मिक निकासको पनि व्यवस्था छैन।


इन्जिनियर किसानसिं गुरुङ ड्याममा जम्मा भएका नदीजन्य पदार्थलाई बाहिर निकाल्ने योजना बनाए पनि त्यस अनुसार काम नहुँदा समस्या आएको बताउँछन् । ‘ड्याममा वर्षेनि गेग्रान थपिंदै जान्छ। त्यसलाई समयमै ननिकाल्दा ड्याममा दबाव बढ्छ। त्यसले भत्किने जोखिम हुन्छ,’ उनले भने ।(खोज पत्रकारिता केन्द्र)

श्याम रानामगर

मगर पोखरामा क्रियाशील पत्रकार हुन्

तपाईको प्रतिक्रिया