जेसीज राष्ट्रिय महाधिवेशन

जेसीजको कायाकैरन

समाधान संवाददाता २०७८ पुष १ गते १२:००

जेसीजले बाटो, पुल बनाउने वा विकास निर्माणको कार्य गर्दैन तर, त्यो बाटो पुल बनाउनुपर्छ भन्ने सोच भएका युवा मस्तिष्कको विकास गर्छ ।
देबु बानियाँ


जेसीज भनेको १८ देखि ४० वर्ष उमेर समूहका उर्वर र सिर्जनशील युवाहरुको नेतृत्व, व्यक्तित्व र भातृत्व क्षमताको विकास गर्ने एउटा विश्वव्यापी अभियान हो । अर्थात यो प्रत्यक्ष रुपमा सामाजिक संस्था भने होइन । अझ सरल भाषामा भन्ने हो भने जेसीजले बाटो, पुल बनाउने वा विकास निर्माणको कार्य गर्दैन तर, त्यो बाटो पुल बनाउनुपर्छ भन्ने सोच भएका युवा मस्तिष्कको विकास गर्छ । अथवा मानिसमा सकारात्मक सोचको विकास गरी त्यसबाट सकारात्मक परिवर्तन गर्नु÷हुनु नै यसको मुख्य लक्ष्य हो । जसले समाजलाई असल बाटोमा डोहोर्याउन सक्छ । जेसीजको केन्द्रबिन्दु नै व्यक्ति हो । यसले आफ्ना प्रत्येक सदस्यको नेतृत्व र व्यक्तित्व विकास गराउने कुरामा विश्वास गर्छ । यसले आफ्ना सदस्यहरुलाई उपयुक्त अवसरहरु उपलब्ध गराएर उनीहरुमा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराई असल व्यक्तित्वको निर्माण गरी समाजलाई हस्तान्तरण गर्ने कार्य गर्दछ ।


जन्मजात कोही पनि सक्षम वा असक्षम भन्ने हँुदैन । प्रत्येक मानिसभित्र आफ्नै प्रतिभा हुन्छ र उक्त प्रतिभालाई प्रस्फुटन गराउन उपयुक्त वातावरण तथा अवसरको आवश्यकता पर्छ । जेसीज अभियानले आफना सदस्यहरुलाई आवश्यकता अनुसारका उपयुक्त अवसरहरु उपलब्ध गराएर उनीहरुमा भएको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई तिनीहरुको व्यक्तित्वको विकास गरी नेतृत्व गर्न सक्षम एक असल नागरिक बनाउने प्रयत्न गर्छ । प्रत्यक्ष रुपले युवा नेतृत्व उत्पादन गरी नेतृत्व स्थापित गर्ने अभियानमा जेसीज अग्रपंक्तिमा आउँछ । मानवता सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूलमन्त्रलाई आत्मसात गर्ने जेसीजले मानवीय विकासमा बढी जोड दिएको छ किन भने सक्षम मानिसहरुको विकास हुन सकेमा मात्रै समाज र राष्ट्रको विकास हुन्छ ।

Advertisement


जेसीजले समाजको निमित्त सक्षम एवं असल व्यक्तित्वको निमार्ण गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले समाजको विकासमा लगाउँछ । वास्तवमा साधन स्रोतको क्षेत्रमा जतिसुकै समृद्ध भए पनि त्यसको परिचालन गर्ने सक्षम नेतृत्व भएन भने नतिजा सकारात्मक आउँदैन ।
जेसीजमा व्यक्तित्व निखार्न प्रदान गरिने तालिम तथा प्रशिक्षणले युवाहरुमा प्रभावकारी निर्णय गर्ने क्षमता, प्रजातान्त्रिक एवं प्रभावकारी रुपमा बैठक सञ्चालन गर्ने तरीका, बैठकमा प्रस्तुत हुने शैली, प्रभावकारी भाषण गर्ने कला, उत्पादनमा जोडिने उत्प्रेरणा, प्रभावकारी लेखन दक्षता, संगठन गर्ने क्षमता, प्रभावकारी जनसम्पर्क, भाइचाराको सम्बन्ध स्थापित गर्ने क्षमता, व्यवसाय प्रवद्र्धन गरी बिक्री बिस्तार गर्न सक्ने क्षमता आदि क्षमताहरुको विकास गराउँछ । यी यस्ता सम्पूर्ण विषयहरुको सम्बन्धमा जेसीजमा प्रशिक्षण उपलब्ध गराइन्छ । प्रशिक्षण मार्फत सिकेका ज्ञान र सीप व्यवहारिक रुपमा प्रयोग गर्न जेसीजभित्र विभिन्न अवसरहरु उपलब्ध गराइन्छ जुन अन्य संस्थामा बिरलै हुन्छ । जेसीज विश्वव्यापी युवाहरुका लागि विश्वविद्यालय नै हो भन्दा अतियुक्ति नहोला ।


जेसीजले विभिन्न किसिमका तालिमहरुको माध्यमबाट युवाहरुमा रहेका असिमित सम्भावनाहरुलाई प्रस्फुटित गराउँछ । एउटा निडर, कुशल, असल र जिम्मेवार व्यक्तित्वको निर्माण गर्ने गर्छ । यो संस्थामा कुनै पनि धर्म, लिंग, भाषा, सिद्धान्त वा संस्कृतिको आधारमा सदस्यतामा विभेद हुँदैन । विधिको शासन अनि एक व्यक्ति, एक वर्ष, एक पद जस्तो अनुकरणीय र उदाहरणीय सोचका साथ स्थापना भएको यो संस्थामा युवाहरुको उपस्थिति अपरिहार्य छ ।

Advertisement


मैले समाजमा सुन्ने गरेको छु । पैसा नहुनेहरु जेसीज हुँदैनन् रे । सबैको आ–आफ्नो बुझाइ हुन्छ । तर भ्रम र यथार्थबीच हामीले भिन्नता पहिचान गर्न सक्नु पर्छ । सदैव भ्रममा मात्र बाँचिरहने कि यथार्थलाई पनि बुझ्ने चेष्टा गर्ने यो व्यक्तिगत कुरा हो । मैले बुझेको जेसीजमा उमेर समूह (१८ देखि ४०) बाहेक अन्यकुरामा विभेद देखेको छैन । बरु विभिन्न तालिमहरु र अवसरका माध्यमबाट युवाहरुलाई हरेक क्षेत्रमा सक्षम बनाउन जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यहाँ नेतृत्व लिन वा अवसर प्राप्त गर्न पैसा हैन मन चाहिन्छ । त्यसको अर्थ पैसको कुनै आवश्यकता पर्दैन भनेको पनि होइन । आफूले केही पाउनलाई केही गुमाउनु त पर्छ । तर आवश्यता अनुसार आफूलाई अग्रसर गराएर अघि बढ्ने हो भने यो पनि अपवाद बन्न जान्छ ।


युवाहरु परिवर्तनका संवाहक हुन् । उनीहरुभित्र असीमित सम्भावना हुन्छ । अहिलेको पुस्ताको एउटा कमजोरी भनौं या बेवास्ता, उनिहरु आफूभित्र रहेको प्रतिभा र सम्भावनालाई पहिचान गर्न सकिरहेका छैनन् । सबैसँग भिन्न भिन्न कला, क्षमता र विशेषता हुन्छ । यसलाई उजागर गर्दै समाजमा योग्य र सक्षम नागरिक उत्पादन गरेर हस्तान्तरण गर्नु नै जेसीजको मुख्य काम हो । भविष्यमा उसले गर्ने काम र क्षमताको आधारमा समाजले पहिचान गरेर सामाजिक रुपमा अग्रणी स्थानमा ल्याउने गरेका उदाहरण हामीसँग प्रशस्त छन् ।


हो, जहाँ युवाहरूलाई विभिन्न क्षेत्रहरु जस्तै व्यक्तिगत, सामाजिक, व्यावसायिक तथा अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध स्थापमा गरेर सिक्ने प्रक्रियाबाट व्यक्तित्व र नेतृत्व क्षमताको विकास गराईन्छ । यस अर्थमा पनि जेसीज अभियानले आफ्नो छुट्टै विशिष्ट पहिचान बनाएको छ । औपचारिक स्कुल, विश्वविद्यालयहरुबाट प्राप्त गर्न नसकिने कतिपय ज्ञान जेसीजमार्फत प्राप्त गर्न सकिन्छ । म १८ वर्ष उमेर पुगेका सम्पूर्ण युवाहरुलाई जेसीज अभियानमा जोडिएर जेसीजले प्रदान गर्ने तालीम, प्रशिक्षण, कार्यक्रममार्फत आफ्नो व्यक्तित्व विकास, नेतृत्व विकास, सामाजिक प्रतिष्ठामा वृद्धि, व्यावसायिक सफलता तथा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गरी एउटा असल नागरिक बन्न सम्पूर्ण युवाहरूलाई हार्दिक अपिल पनि गर्छु ।

तपाईको प्रतिक्रिया