कास्कीले पायो कांग्रेसमा केन्द्रीय नेता

सञ्जय रानाभाट २०७८ पुष २ गते २१:१३


पोखरा ।
२०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा देशभर कांग्रेसबाट प्रत्यक्ष उम्मेदवार हुने एकमात्र दलित थिए जीवन परियार । हाला कि उनले कास्की १ को ‘क’बाट उनी निर्वाचित हुन सकेनन् । एमाले र माओवादी गठबन्धनबाट उम्मेदवार बनेका दीपक कोइरालासँग जीवन पराजित भए ।


त्यसअघि संविधान सभा सदस्य रहिसकेका जीवन कांग्रेसको १४ औं महाधिवेशनबाट पार्टीको सहमहामन्त्री भएका छन् । कास्कीको रुपा गाउँपालिका १ स्यास्त्रीमा जन्मिएका परियार विद्यार्थी आन्दोलनबाटै राजनीति यात्राको थालनी गरेका हुन् । माओवादी उम्मेदवारसँग ७४ मा हारेका परियार राजनीतिमा इन्ट्रीको खास कारण पनि माओवादी नै हो । जति बेला उनी पृथ्वीनारायण क्याम्पसमा पढेर गाउँको विद्यालयमा शिक्षक बन्न गएका थिए, त्यति बेला माओवादीको तारो बने । माओवादीले त्रास देखाएपछि भने शिक्षण पेसा छाडेर उनी काठमाडौं गए । पढे पनि र सक्रिय राजनीतिक जीवन पनि सुरु गरे ।

तारानाथ रानाभाट महामन्त्री बनेयता कास्कीबाट कोही पनि कांग्रेस केन्द्रीय पदाधिकारी भएका थिएनन्, केन्द्रीय सदस्य पनि भएनन्

Advertisement


शिक्षक हुनुअघि जीवन पृथ्वीनाराण क्याम्पसमा नेविसंघको इकाईमा थिए । पछि भने नेपाल दलित संघ कास्कीको संस्थापक सचिव पनि भए । काठमाडौं गएपछि दलित सम्बन्धी काम गर्ने ल्यान्डकाओ एजेन्सीसँग जोडिए । कामसँगै उनले राजनीतिक यात्रा अगाडि बढाए । काठमाडौं गएर उनले पढाइलाई निरन्तर दिए । विस्तारै आर्थिक अवस्था राम्रो हुँदै गएपछि राजनीतिमा झन् सक्रिय भए । दलितका क्षेत्रमा जीवनले निरन्तर आवाज उठाउँदै आएको उनका अगुवा प्रकाश खनाल बताउँछन् । भन्छन्, ‘सक्रियताकै कारण उनी आज कांग्रेसको सहमहामन्त्री बन्न सकेका हुन् ।’


जीवन कांग्रेसको १२ औं र १३ औं महाधिवेशनबाट केन्दीय सदस्य भएका थिए । पार्टीको केन्द्रीय सदस्यमा नै ११ वर्ष बिताइसकेका छन् । केन्द्रीय सदस्य भएलगत्तै दोस्रो संविधानसभामा समानुपातिक कोटामा सभासद भएका थिए ।

Advertisement


नेपाली कांग्रेसको आठ सहमहामन्त्रीमध्ये दलिततर्फ जीवन परियार विजयी भएका हुनु । उनले पुराना नेता मानबहादुर विश्वकर्मालाई पराजित गरे । बिहीबार सार्वजनिक नतिजा अनुसार परियारले २ हजार २ सय १२ मत प्राप्त गरेका हुन् भने उनका प्रतिस्पर्धी विश्वकर्माले २ हजार एक सय ७५ मत प्राप्त गरेका हुन् । नेपाल विद्यार्थी संघ हुँदै अहिलेसम्म पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा लाग्दै आएका जीवन अहिलेको निर्वाचनमा शेखर कोइराला प्यानलमा थिए ।


दलित समुदायको हक अधिकारका लागि निरन्तर आवाज उठाउँदै जीवनले वडावडामा दुई महिला वडा सदस्य हुने ठाउँमा एक दलित महिला हुनुपर्ने भन्दै संविधान सभामा संशोधन प्रस्ताव हालेका थिए । अहिले वडावडामा एकजना दलित महिला सदस्य हुने व्यवस्था लागु भइसकेको छ । जीवन सहमहामन्त्री हुनुले कास्कीले कांग्रेसमा एक केन्द्रीय नेता पनि पाएको छ । गिरिजाप्रसाद कोइराला सभापति हुँदा तारानाथ रानाभाट महामन्त्री भएयता कास्कीबाट कांग्रेसको केन्द्रमा यसअघि कुनै नेता पुग्न सकेका थिएनन् । पदाधिकारीमात्रै नभई गएका ३० औं वर्ष कास्कीबाट कांग्रेस केन्द्रीय सदस्य हुनु पनि दुर्लभ थियो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया