मनाङलाई आज पुलिसको भर

समाधान संवाददाता २०७८ पुष १८ गते १४:३८

अभिषेक अधिकारी । पोखरा

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत काठमाडौंमा आइतबार मच्छिन्द्र र नेपाल पुलिस कल्बबीच खेल हुँदैछ । पोखरालाई होम ग्राउन्ड मान्दै समग्र गण्डकी प्रदेशलाई नै ए डिभिजन लिगमा प्रतिनिधित्व गर्दै आएको मनाङलाई आज आइतबार हुने मच्छिन्द्र र पुलिसबीचको खेल निकै महत्वका साथ हेरिएको छ । कारण आज पुलिस र मच्छिन्द्रबीचको खेल बराबरी या मच्छिन्द्रको हार भएमा मनाङ एएफसीकपका लागि छनोट हुनेछ । मच्छिन्द्रले खेल जितेमा मात्रै शीर्ष स्थानमा रही एएफसी छनोटका लागि हुनेछ । एएफसी कपका लागि मनाङ योग्य हुन्छ कि मच्छिन्द्र आज मच्छिन्द्र र पुलिसको खेलले निर्धारण गर्ने छ ।

Advertisement

शनिबार ए डिभिजन लिगको ७ औं चरणको खेल अन्तर्गत पोखरा रंगशालामा शनिबारको खेलमा घरेलु टोली मनाङ मर्स्याङदीले ब्रिगेड ब्वाइजलाई १–० को नतिजामा हराउँदै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङलाई जित दिलाउन कप्तान अञ्जन विष्टले पहिलो हाफको अन्तिम मिनेटमा गरेको गोल निर्णायक बन्न पुग्यो ।

ब्रिगेडले खेलको सुरुआती १६ औं मिनेटमा पएको पेनाल्टीको अवसर गुमाउन पुग्यो । बिग्रेडका शिशिर लेखीलाई मनाङका आदित्य चौधरीले फाउल गरेपछि पाएको उक्त सुनौलो अवसरलाई शिशिरले पेनाल्टीमा परिणत गर्न सकेनन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टेलीले उत्कृष्ट काउन्टर एट्याकको मौका लिएका थिए । तर थप गोल हुन सकेन । ब्रिगेडले उत्कृष्ट पासिङ र एट्याकिङ खेल खेले पनि फिनिसिङ गर्न नसक्दा गोल गर्न लगातार चुकी रह्यो । मनाङको होम ग्राउन्ड मानिएको पोखरामा बिग्रेडले गरेको उत्कृष्ट खेल प्रदर्शनले हार पश्चात पनि पोखरेली दर्शकबाट तारिफ पाएको छ ।

Advertisement

मनाङका कप्तान अन्जन विष्ट उत्कृष्ट खेलाडी स्वरुप म्यान अफ द म्याच घोषित भए । इमरजिङ प्लेयरको उपाधि मनाङकै प्रवेश कुँवरले प्राप्त गरे । खेल जितेसँगै मनाङले ५० हजार रुपैयाँ प्रप्त गरेको छ ।

मनाङले पोखरामा जित निकालेसँगै ७ खेलमा ५ जित, १ बराबरी र १ हारका साथ १६ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको मच्छिन्द्र फुटबल क्लब १४ अंकसहित दोस्रो स्थानमा छ । आइतबार काठमाडौंमा हुने मच्छिन्द्र र नेपाल पुलिस क्लबबीचको खेलमा एएफसी छनोटका लागि मच्छिन्द्र जित्नै पर्ने दबाबमा छ ।

ए डिभिजन खेल अन्तर्गत गत शनिबार मनाङलाई १–०को गोलले हराउँदै मच्छिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको थियो । पुस ३ गते पोखरामा मनाङले ३–१ को नतिजासहित पुलिसलाई पराजित गरेको थियो । अब पुस २४ गते मनाङले पोखरा रंगशालामा च्यासल युथ क्लबसँग खेल्ने तालिका छ ।

तपाईको प्रतिक्रिया