एपिएफसँग सहारा स्तब्ध

समाधान संवाददाता २०७८ माघ ७ गते ११:५४


अभिषेक अधिकारी
पोखरा ।


२० औं आहा रारा गोल्डकप अन्तर्गत बिहीबार भएको खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब आयोजक सहारालाई २–० ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको छ । एपिएफको जितमा आभाष लामिछाने र नवीन लामाले समान १ गोल गरे ।


पहिलो हाफको सुरुवातमा केही अवसर बुनेको सहाराले एपिएफका जापानी गोलकिपरलाई मुस्किल पार्न सकेनन् । खेलको सुरुवातमै कप्तान मानबहादुर तामाङले कर्नरबाट दिएको पास अजय मारिनले पोस्टतर्पm पुर्‍याउन सकेनन् । खेलको १४ औं मिनेटमा एपिएफका स्ट्राइकर अरमान्द बाइडाउनले मैदानको बीचबाट सहाराका २ मिडफिल्डरलाई बिट गर्दै आभाष लामालाई बल पास दिए । आभाषले पाएको अवसरमा बटम कर्नरमा प्रहार गर्दै पहिलो गोल गरे ।

Advertisement


सहाराका स्ट्राइकर अजय मारिनले एपिएफ डिफेन्डर आदम दुउम्बालाई लडाएपछि पहेंलो कार्ड पाए । थप दबाबमा रहेको सहाराले दोस्रो हाफअघि पनि लगातार आक्रामण खेलिरह्यो । सुमित श्रेष्ठको पासमा अजय मारिनले गरेको प्रहारलाई एपिएफका जापानी किपरले सजिलै बचाउ गरे । दोस्रो हाफअघि नै एपिएफले अग्रता दोब्बर बनाउने सुवर्ण अवसर घुमायो । पोस्टको करिब ५ यार्डबाट स्ट्राइकर अरमान्दले सहराका डिफेन्डरलाई छल्दै कप्तान नवीन लामालाई पास दिएका थिए । तर उनले त्यति नजिकबाट पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।


एपिएफका मिडफल्डर मणि लामाले सहारा स्ट्राइकर सुमित श्रेष्ठलाई पहिलो हाफमा फाउल गरेपछि रेफ्रीले लामालाई पहेलो कार्ड देखाएका थिए । दोस्रो हाफको सुरुवाती ३ मिनेटमै सहाराले पाएको फ्रिकिकको अवसरलाई कप्तान मानबहादुरले गोलमा परिणत गर्न सकेनन् ।

Advertisement

त्यसलगतै आफ्नो मिडफिल्डमा खेलाडी परिवर्तन गर्दै एपिएफ पुन आक्रामण रुपमा उत्रियो । डिबक्सबाहिर एपिएफले पाएको फ्रिकिकलाई एपिएफफै डिफेन्डर अदमाले हेडिङ गर्दा क्रसबारमा लागेर बाहिरियो । सहाराका गोलरक्षक अभिषेक बरालले उक्त प्रहार क्रसबारमा लागेपछि मात्र चाल पाए ।


खेलको ६० औं मिनेटमा एपिएफले अग्रता दोब्बर बनायो । दोस्रो गोलका लागि कप्तान नवीन लामाले सहाराका डिफेन्डरलाई बिट गर्दै गोल गरे । एपिएफका खेलाडीले दोस्रो गोलको खुसीयालीमा बेबी वाक सोलिब्रेसन गरे । सहाराका कप्तानले डिफेन्स सम्हाले पनि आफ्नो टिम २–० ले पछि पर्दा आक्रामक रुपमा उत्रिए । पासिङ गेममा गोल गर्न नसक्दा उनी आफैंले एपिएफको पोस्टमा निरन्तर प्रहार गरिरहे । उनको कुनै पनि प्रहार एपिएफका जापानी गोलरक्षक युयाका लागि खतरा बनेन ।


खेलको उत्कृष्ट खेलाडी बनी एपिएफकै कप्तान नवीन लामाले ट्रफीसँगै नगद पुरस्कार पाएका छन् । ६० औं मिनेटमा २–० ले पछि परेको सहाराले गोल गर्न सकेन । हारसँगै आयोजक सहारा प्रतियोगिताबाट बाहिरिएको छ । एपिएफले बाइमा परेको अमेरिकाबाट आमन्त्रित भुटनिज युथ क्लबसँग क्वाटरफाइनलमा भेट पक्का गरेको छ ।

तपाईको प्रतिक्रिया