गण्डकीमा दैनिक ६ सय सिलिन्डर अक्सिजन उत्पादन क्षमता

समाधान संवाददाता २०७८ माघ १२ गते ११:४३

पोखरा ।
अक्सिजन अभाव हुँदा गएको जेठ १४ गते गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ८ जना बिरामीको ज्यान गएको थियो । त्यही समाचारबाट प्रभावित भएर निजी क्षेत्रको बतास ग्रुपले आफ्नो सामाजिक संस्था बतास ग्रुपबाट अक्सिजन प्लान्ट किनेर अस्पताललाई दिने योजना ल्यायो । तर अहिलेसम्म प्लान्ट ल्याउन सकेको छैन । सौभाग्य के भने बतासले जस्तो सार्वजनिक घोषणा बिनै प्रवासी नेपाली मञ्चले अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान गरिदिएको छ ।


गएको साउनमै दैनिक २ सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट मञ्चले क्षेत्रीय अस्पतालमा जडान गरिदिएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा शरद बराल भन्छन्, ‘अहिले अक्सिजनको कुनै चिन्ता छैन, पर्याप्त छ ।’ उक्त प्लान्टले अस्पताललाई चाहिने अक्सिजन बेड बेडमा पाइपबाट आपूर्ति गराएको छ । त्यसबाहेक अन्त लैजान चाहिँदा सिलिन्डर भर्न मिल्ने प्रणाली पनि उक्त प्लान्टमा छ ।

Advertisement


प्रदेश राजधानीको ठूलो अस्पतालमा मात्रै होइन, अहिले गण्डकीका विभिन्न जिल्लाका अस्पतालमा पनि अक्सिजन प्लान्ट जडान भएका छन् । गएको सातामात्रै तनहुँको सदरमुकाम दमौलीमा अक्सिजन प्लान्ट जडान भएको छ । वर्ष दिनअघि नै लमजुङ अस्पतालले प्लान्ट जडान गरी सञ्चालनमा ल्याएको थियो ।


बागलुङको उपप्रादेशिक अस्पताल धौलागिरीमा पनि अक्सिजन प्लान्ट छ । जसले दैनिक ३० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रकी बायोमेडिकल इन्जिनियर सृष्टि ओलियाका अनुसार प्रदेशभरका १५ वटा अस्पताल तथा स्वास्थ्य संस्थामा अक्सिजन प्लान्ट छन् । तिनले दैनिक ६ सयभन्दा बढी सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छन् । त्यसबाहेक अक्सिजन कन्सन्ट्रेटर ९ सय ३३ वटा छन् ।

Advertisement


कोभिडका बिरामीलाई सिकिस्त पर्दा अत्यावश्यक हुने भनेको भेन्टिलेटर र आइसियु पनि हो । प्रदेशभर १ सय १ वटा भेन्टिलेटर रहेको आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ । क्षेत्रीय अस्पतालमा ३९ भेन्टिलेटर र ५० बेड आइसियु छन् । डा बराल भन्छन्, ‘भेन्टिलेटर र आइसियुको पनि चिन्ता छैन, बिरामीको सेवा गर्न पाइएको छ ।’ अहिले अस्पतालको केही भवन मर्मतका कारण कोभिडका लागि ४८ बेड छुट्याइएको जानकारी उनले दिए ।


‘अरु सेवा नदिई कोभिडका बिरामीमात्रै उपचार गर्ने हो भने त अरु धेरैको उपचार गर्न सक्छौं,’ उनले भने । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खिमबहादुर खड्का दक्ष जनशक्तिको भने अझै अभाव रहेको सुनाउँछन् । उनकै भनाइमा एनेस्थेसिस्ट, भेन्टिलेटर र आइसियु सञ्चालनमा पोख्त लगायत स्वास्थ्यकर्मीको अभाव छ ।

तपाईको प्रतिक्रिया