बढ्दो सम्बन्धविच्छेदको सामाजिक प्रभाव

विनीता नेपाली २०७८ माघ १३ गते १३:५१


अधिवक्ता विनीता नेपाली


उमेर पुगेका युवायुवतीको रीतपूर्वक जोडिएको सामाजिक र सांस्कृतिक सम्बन्धलाई विवाह भनिन्छ । यही विवाहमा मत मतान्तर भएमा टुंगाउन सक्ने कानुनले व्यवस्था गरेको छ । पतिपत्नीबीचको सम्बन्धलाई विविध कारणवश कानुनी तबरबाट अन्त्य गर्ने प्रक्रिया सम्बन्धविच्छेद हो । गाउँ, सहर, शिक्षित, अल्पशिक्षित र हरेक समुदाय, जाति र धर्मालम्बीमा हुने समस्या हो यो । पहिला यसलाई पारपाचुके, छोड्पत्र भनिन्थ्यो । हाल यसलाई कानुनी भाषामा सम्बन्धविच्छेद भन्ने गरिन्छ । विवाह स्थायी हुनुपर्ने बाध्यात्मक संस्कार भने होइन । सम्बन्धको नाममा सबैमा लादिने अनिवार्य तत्व पनि होइन । यो व्यक्तिगत वा पारिवारिक सहमतिमा समाजिक प्रक्रिया पूरा गर्ने माध्यम हो । अर्को शब्दमा भन्नु पर्दा मानव जीवनलाई सुसंस्कित गर्ने प्राकृति नियमको परिपालक हो । यही सम्बन्ध आपसमा विचार नमिल्दा हिंस्रकसमेत बन्ने गरेको छ । एक अर्काप्रतिको आदर र विश्वासको कमीका साथै विविध कारणले ल्याउने परिणाम नै सम्बन्धविच्छेद हो ।


कुनै समय थियो, ‘जुन घरमा डोली पस्छ, त्यही घरबाट अर्थी उठोस् ।’ हाल यो उक्तिलाई आधुनिक समाजले नकार्दै आएको पाइन्छ । सुख र खुसीलाई पारिवारिक प्रतिष्ठासँग जोडेर हेर्ने परिपाटीमा परिवतर्न देखिएको छ । हिजोसम्म समाजले समवन्धविच्छेद शब्दलाई असहज मान्दथ्यो । तर, हाल सामान्य मान्नुका साथै सहज रुपमा स्वीकारेको देखिन्छ । पति र पत्नीबीच मन र विचार नमिल्दा धेरै समस्या उत्पन्न हुन्छ । यही समस्यालाई सुल्झाउने र अघि बढ्ने कलामा कमी आएमा सम्बन्धमा दरार पर्छ । यसरी दरारपूर्ण जीवन यापन गर्नुपर्ने बाध्यतालाई टुंग्याउन सक्ने आधार र व्यवस्था हाम्रो कानुनमा रहेको पाइन्छ ।

Advertisement


जसको परिणाम स्वरुप अपराधिक घटनाबाट जोगाउने माध्यम बनेको छ सम्बन्धविच्छेद । केही वर्षदेखि सम्वन्धविच्छेद गर्नेको संख्या ह्वत्तै बढेको तथ्यांङ्कले देखाउँछ । बर्सेनी लगभग १, हजारको संख्यामा कास्की जिल्ला अदालतमा समवन्धविच्छेदका मुद्धा दर्ता हुने गरेका छन् । कोरोना महामारीमा समेत सम्बन्धविच्छेद गर्नेको संख्यामा कमी आएको देखिँदैन । जुन कुरा अदालतको तथ्यांकले देखाएको छ ।
यसरी बढ्दो सम्बन्धविच्छेदको कारण के होला भनी अदालत स्रोतसँग बुझ्दा, कास्की जिल्ला अदालतका शाखा अधिकृत तारानाथ पोख्रेल भन्नुहुन्छ, ‘वैदेशिक रोजगारमा जाने क्रममा धेरैको घरबार बिग्रिएको छ । पतिपत्नीबीच मेलमिलाप हुन नसक्नु, महिला बढी महत्वकांक्षी भैदिनुका साथै पश्चिमा शैलीको प्रभाव उनीहरुमा परेको छ ।’ पोखरेलले महिलामात्र होइन, अहिले पुरुष पनि पीडित रहेको बताए । वास्तविक पीडितको न्यायालयसम्म पहुँच छैन । महिला पुरुष दुवै पीडित भए पनि बढी मात्रामा महिला पीडित छन् ।


सम्बन्धित निकाय पनि स्वीकार्छ कि वास्तविक पीडितको न्यायलयसम्म पहुँच नै छैन । वास्तविक पीडित लक्षित कार्यक्रमको कमी सम्बन्धित निकायले गरेको पाइन्छ । यसै पंक्तिकारद्वारा केही समयअघि प्रकाशित लेखमा पीडितको निम्ति निःशुल्क काम गर्ने निकायको विस्तृत विवरण उल्लेख थियो । अदालतको तथ्यांक हेर्दा, केही वर्षअघिसम्म सम्बन्धविच्छेद शब्दसँग समाज संकुचित रहेको थियो । तर, अहिले सामाजिक परिदृष्य परिवर्तन भएको छ । असमझदारी र विभेदलाई सहेर बस्ने परिपाटी अन्त्य गर्दै समाधानको रुपमा सम्बन्धविच्छेदलाई लिइएको छ । जिउँदै जलाइनुको दर्दनाक पीडा र दाइजोको करणले छोरी गुमाउनुको पीडाको कुनै सीमा नै थिएन र छैन पनि । रुढीवादी सोचबाट माथि उठेर आजभोलि एकल महिलाको संघर्षलाई समाजले महत्व दिएको पाइन्छ । जसको तात्पर्य सम्बन्धविच्छेद आफैंमा नराम्रो भने होइन । यो आपसी मतभेदबाट हुन सक्ने अपराधिक घटनाबाट बच्न, बचाउन अपनाइने माध्यम हो । अझै पनि यसलाई सहजै स्वीकार्न नसक्नु हाम्रो पुरातनवादी संस्कार र सोचको उपज हो ।

Advertisement


हालसालै एकतर्फी समवन्धविच्छेद लिन सफल पीडित महिला नाम नखुलाउने शर्तमा भन्छिन्, श्रीमानले गरेको दुव्र्यवहार र दिएको यातना, आफू माथि लाल्छना लगाउने, कुटपीट गर्नु साथै अन्य सदस्यले घरव्यवहारमा असहयोग गरेकाले त्यो चरम यातनाबाट मुक्त हुन सम्वन्ध विच्छेद गरे । साथै कानुनले पतिबाट अंश दिने व्यवस्था गरे पनि निजको यातनाबाट छुट्कारा पाएमा आफैं कमाउन सक्ने उनले दावी गर्छिन् । आजभोलि महिला अनिच्छुक÷बाध्यात्मक सम्बन्धलाई सजिलै अन्त्य गर्न सक्ने भएका छन् ।


कानुनले महिला पुरुष दुवैलाई समवन्ध विच्छेदको अधिकार दिँदै आएको छ । पुरुषको दाँजोमा महिलाका लागि केही हदसम्म सहज भने बनाइएको छ । महिलाले सम्बन्ध टुंग्याउन चाहेमा सजिलै सम्वन्धविच्छेद हुने गरेको छ । यही कुरा पुरुषको हकमा भने केही जटिल अवश्य छ । मुलुकी ऐन २०२० को प्रावधानको तुलनामा सहज भने भएको छ । तर कतिपय अवस्थामा २ वर्ष न्यायालय धाउँदासमेत सम्वन्ध विच्छेद हुन नसकेको एक जना पीडित पुरुष बताउँछन् । ‘व्यवहारीक रुपमा श्रीमतीसँग छुटिएको ७ वर्ष भयो । तर कानुनी रुपमा पति पत्नि नै छौं भने उनी सम्पर्कमा समेत छैनन् र उनको बारेमा मलाई केही जानकारीसमेत छैन । तर, कानुनी रुपमा सम्बन्ध विच्छेद हुन नसक्दा २ वर्षदेखि तारिख धाइरहेको छु ।’

आजका महिला सम्बन्धको नाममा सम्झौता र खुसीको नाममा आत्मसम्मानको तिलाञ्जली स्वीकार्दैनन्


यस्ता घटनाका व्यक्ति केवल प्रतिनिधिमुलक पात्रमात्र हुन् । समाजमा लुकेका, लुकाइएका, दवाइएका÷दबिएका, जटिल सम्बन्ध धेरै छन् । हामी वियोगमा भन्दा संघर्षमा विश्वास गर्छौं । समस्या लुकाउनुमा भन्दा समाधानलाई आत्मसाथ गर्दै प्रगति गर्नमा मत राख्छौं । अझै पनि समाजमा यस्ता जटिल सम्बन्धका समस्याहरु अपवादको रुपमा भेटिन्छ ।


शिक्षा र सभ्यताको विकासक्रमसँगै नेपाली समाजमा पारिवारिक रहनसहन र जीवनशैलीमा परिवर्तन देखिएको छ । जुन सकरात्मक पक्ष पनि हो । आजका महिला सम्बन्धको नाममा सम्झौता र खुसीको नाममा आत्मसम्मानको तिलाञ्जलीलाई स्वीकार्दैनन् । वास्तविकता के हो, भने महिलाको सहने बानीमा परिवर्तन हँुदै छ । सम्मानपूर्वक बाच्न र हिंसारहित पारिवारिक जीवनशैलीमा विश्वास गर्न थालेका छन् । हिजोदेखि दबिएका आवाज विस्तारै विस्फोट हँुदै छन् । यो पीडाबाट मुक्त हुन खोज्नेको जमातमा निम्न वर्ग र गृहणी रहेको देखिन्छ । तर, शिक्षित र उच्च परिवार भित्रका घटना बाहिरिन भने सकेका छैनन् ।


समाजमा पारेको प्रभाव
तथ्यांक अनुसार बढ्दो सम्बन्ध विच्छेदले महिला पुरुषबीचको दमित रुपको उजागर गरेको छ । त्यसमा सम्बन्ध विच्छेद भएकाप्रति समाज सकरात्मक भएको पाइदैन । सम्बन्धको अन्त्य महिला वा पुरुष जो कसैको पहलमा पनि हुन सक्छ । महिलाको दाँजोमा केही हदसम्म आजभोलि पुरुषमाथि पनि प्रश्न तेर्साउने गरेको पाइन्छ । यही परिवेश नै समाजमा आएको परिवर्तन हो । सम्बन्ध असफल हुनु महिलालाई मात्र होइन, पुरुषलाई पनि यसले असर गर्न थालेको पाइन्छ । सम्बन्ध टिकाउ बनाउन महिलामात्र होइन, पुरुष पनि समान रुपमा भागेदार हुन्छन् । यो तथ्य र बुझाईलाई स्वीकार्न हाम्रो समाजलाई लामो समय लागेको सत्य हो । समाजमा यस्ता घटनाले नकरात्मक र सकरात्मक दुवै किसिमको प्रभाव छाडेको पाइन्छ ।


नकारात्मक प्रभाव
विवाहलाई संस्थागत गर्न युवा जमात हिच्किचाएको पाइन्छ । जसको परिणाम विवाह पूर्व नै सम्बन्धमा बस्ने परिपाटी थालनी भएको देखिन्छ । यसको प्रत्यक्ष प्रभाव महिला पुरुष दुवैको समाजिक जीवन शैलीमा देख्न सकिन्छ । सम्बन्धलाई सहजै टुंग्याउन पछि नपर्ने अवस्थाको सिर्जना भएको छ । जसको प्रभाव परिवारलाई परेको पाइन्छ । सानो उमेरमा नै एकअर्का प्रति आकर्षित भई विवाह गर्ने र पछि पछुताएको पनि देखिने गरेको छ । जसको परिणाम अन्ततः सम्बन्ध विच्छेदमा टुंग्एिको छ । यस्तै प्रवृति रहेमा हाम्रो नयाँ पुस्ता पश्चिमा संस्कृतिमा झै विवाह नरुचाउने तर सेरोगेसी, टेस्टट्युब बेबीलगायत लिभिड्ड टुगेदरबाट सन्तानको लाभ लिनमा आक्रर्षित नहोलान् भन्न सकिँदैन ।


सकारात्मक प्रभाव
यसले हाम्रो समाजलाई संवेदनशील बनाएको छ । नयाँ पुस्तामा सम्बन्धलाई लिएर अवश्यकता भन्दा बढी कौंतुहलता पाइन्छ । विवाहअघि नै आफ्नो जीवनसाथीको बारेमा जति सक्दो बढी जानकारी लिने परिपाटीको थालनी भएको छ । पहिलाको जस्तो केही समय बोलेकै भरमा परिवारले चाहेको व्यक्तिसँग समवन्ध गासिने अवस्था अहिले छैन । महिलाले पनि विवाहमा स्वनिर्णयको अधिकार पाएका छन् । आजभोलि महिला तीक्ततापूर्ण सम्वन्धमा रहनुपर्ने बाध्यात्मक दवावबाट मुक्त छन् । सौहार्दपूर्ण तवरबाट आपसी सहमतिमा सम्बन्ध चल्छ भन्ने चेतनाको विकास भएको छ । बढ्दो सम्बन्ध विच्छेद र असफल वैवाहिक जीवनले व्यक्तिलाई विवाहप्रति जिम्मेवारी बोध गराएको पाइन्छ ।


अन्त्यमा
आफूले कल्पना गरे अनुसारको सुन्दर सम्बन्ध टुंग्याउनु हरेकको चाहना भने होइन । समय र परिस्थितिले सृजना गरेको एउटा पाटो हो । शिक्षित महिला अझै पनि मुकदर्शक बनिरहेको अवस्था छ । सधै परिवेस अनुसार समाजमा सभ्य बनिरहने नाममा महिला र पुरुष दुबैले सम्बन्धलाई कायम राखेको देखिन्छ । जसको परिणाम विवाहपछिका गैरकानुनी सम्बन्धहरु देखिने गरेको छ । हाल हाम्रो समाजमा यस्ता किसिमका सम्बन्धले पारिवारिक वातावरणमा खलल पु¥याएको पाइन्छ । तर, पनि यस्ता प्रवृतिबाट ग्रसित सम्बन्धलाई टिकाएको देख्दा आश्चर्य लाग्छ । विकृत र गैरकानुनी सम्बन्धलाई प्रश्रय दिँदै वैवाहिक सम्बन्धलाई प्रयोग गर्नेहरुको कमी भने छैन । प्रदूषणयुक्त पारिवारिक जीवन शैलीले बालबच्चा र तीनको भविष्यलाई प्रतिकूल प्रभाव पारेको यथार्थ हो । तनावपूर्ण जीवन र वैवाहिक सम्बन्धलाई सम्बन्ध विच्छेद एक विकल्प अवश्य हो । आधुनिकताको नाममा नैतिकताको पराकाष्ठा नाग्नुको सट्टा कानुनी मार्ग अपनाउन सक्ने अवस्था विद्यमान छ । पति र पत्नीको सम्बन्ध विच्छदको अधिकारको उपयोगको प्रत्यक्ष प्रभाव बालबालिकामा परेको आजको वास्तविकता हो । मेरो समाजको यथार्थ चित्रण पनि हो ।


नेपाली उच्च अदालत बार एसोसिएसनकी सहसचिव र कानुन व्यवसायी महिला समिति अध्यक्ष हुन्

विनीता नेपाली

नेपाली उच्च अदालत बार एसोसिएसनकी सहसचिव र कानुन व्यवसायी महिला समिति अध्यक्ष हुन्

तपाईको प्रतिक्रिया